
पूर्व–पश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पस गेटबाट खत्रीठाँटीसम्मको दुई किलोमिटर सडक निर्माण रोकिएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङमा कुल ४५ किमि सडकमध्ये क्याम्पस गेटबाट खत्रीठाँटीसम्म दुई किमि र भोर्लेटार रानीपानी चोकबाट मिदिम खोला पुलसम्म एक हजार सात सय मिटर सडक स्थानीयको अवरोधका कारण रोकिएको हो।
मध्यपहाडी लोकमार्ग योजना कार्यालय, पालुङटार गोरखाका अनुसार लामो समयदेखि सडकलाई स्तरवृद्धि गर्दै स्तरोन्नति गर्ने योजनासहित निर्माण अघि बढाइएको थियो। केही स्थानीयले मुआब्जा, सडकको चौडाइ र सम्भावित असरको विषय उठाउँदै सडक निर्माणमा अवरोध पुर्याएका छन्।
स्थानीयका अनुसार सडक विस्तार गर्दा आफ्नो घरजग्गामा असर पर्ने भएकाले उचित क्षतिपूर्ति दिनुपर्ने माग राखिएको हो। केही स्थानीयले सडकको डिजाइन परिवर्तन गर्नुपर्ने मागसमेत अघि सारेका छन्। 'हामी विकासको विरोधी होइनौँ, तर उचित प्रक्रिया अपनाइनुपर्छ,' सुन्दरबजारका रामप्रसाद पण्डितले भने।
सुन्दरबजार बजार क्षेत्रका स्थानीयले श्रीचन्द्र लामिछानेको संयोजकत्वमा संघर्ष समिति गठन गरेर सडक निर्माणको विरुद्ध सर्वोच्च आदालतसम्म मुद्दा दायर गरिएको उनले बताए।
यता स्थानीयले भने सर्वोच्चको आदेशपछि सडक निर्माण गर्न दिने बताउँदै आएका छन्। ठेकेदार कम्पनीको सडक निर्माणको म्याद दुई महिना मात्रै बाँकी छ। स्थानीयको अवरोध भइरहँदा सडक निर्माण अलपत्र परेपछि धुलो र धुँवाले आफूहरूले सास्ती भोग्नुपरेको स्थानीय राजु न्यौपानेले बताए।