
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले युवालाई विदेश पलायन हुनबाट रोक्न आर्थिक उपार्जनमा जोड्न आवश्यक रहेको बताएका छन्। उनले प्रदेश सरकारले उत्पादनमुखी क्षेत्रमा लगानी गरी रोजगारीको अवसरहरू सिर्जना गर्नुपर्ने बताए।
बागमती प्रदेश युवा परिषद्को ‘युवा सिप वर्ष २०८१’ को उद्घाटन गर्दै मन्त्री महर्जनले सिपसहितको युवा उत्पादनमा सरकारले काम गर्नुपर्ने बताए। ‘गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनमा सरकारले लगानी बढाएर आयआर्जनमा जोड्ने प्रकृतिका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘रोजगारीको लागि युवाहरू धमाधम विदेश पलाएन भइरहेकोले उनीहरूलाई स्वदेशमै रोजगारी दिने उद्देश्यले बागमती प्रदेशले सिपमूलक कार्यक्रम सञ्चालनमा ल्याएको हो।’
मन्त्री महर्जनले विद्यालयस्तरको शिक्षालाई आर्थिक उपार्जन र सिपसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए। युवा तथा खेलकुद मन्त्रालयको बजेट न्यून रहँदा पनि युवा र खेलाडीहरूको चाहना अनुसार कार्यक्रमहरू अघि बढाएको उनको दाबी छ।
‘युवा र खेलकुद क्षेत्रमा केही गर्ने अठेटका साथ कम बजेट हुँदासमेत अनुभवका आधारमा मैले मन्त्रालय सम्हालेको हुँ। म मन्त्री हुनुभन्दा पहिले नै बजेट विनियोजन भइसकेकाले सोचेअनुरूप काम गर्न सकिएको छैन, उनले भने, तर पनि युवा र खेलाडीहरूको भावना बुझेर काम गर्ने प्रयास गरिरहेको छु।’ मन्त्री महर्जनले यसअघिका मन्त्रीहरूले युवा परिषद् र खेलकुद परिषदमा निकै न्यून बजेट विनियोजन गरेको भन्दै आक्रोश व्यक्त गरे।
प्रदेश युवा परिषद्को आर्थिक सहयोगमा सञ्चालित निःशुल्क सिपमूलक तालिम १६०-३९० घन्टे (बिल्डिङ इलेक्ट्रिसियन, कुक, मन्टेसरी, बारिस्टा, ब्युटिसियन र वेटर) तामिम सञ्चालन हुने बागमती प्रदेश युवा परिषद् कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए। ३ महिनासम्म हेटौँडामा सञ्चालन हुने उक्त सिपमूलक तालिममा एक हजार ३०० जनाले सहभागिता जनाउने उपाध्यक्ष चौलागाईंले बताए।