
स्याङ्जाको चापाकोटका विभिन्न स्थानमा सामूहिक आलु खेती गरिएको छ। चापाकोट नगरपालिकाको वडा नं ८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकहरूले झन्डै चार सय रोपनीमा सामूहिक आलु खेती गरेका हुन् ।
चापाकोटस्थित रत्नपुर साना किसान कृषि सहकारी संस्था, रत्नपुर बहुउद्देश्यीय सहकारी संस्था र नवदृष्टि कृषि सहकारी संस्थामा आबद्ध कृषकले छिपछाप, क्वामी, दिम्पा, सगुई, निर्दिम, माडी, बेल्टारीलगायत स्थानमा सामूहिक आलु खेती गरेका रत्नपुर साना किसान कृषि सहकारीका पूर्वअध्यक्ष जीवन डोटेलले बताए ।
उनका अनुसार रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थामार्फत तीन सय २० रोपनी, रत्नपुर साना किसान सहकारी संस्थामार्फत ५० रोपनी र नवदृष्टि सहकारीमार्फत २० रोपनी गरी कुल तीन सय ९० रोपनी क्षेत्रफलमा आलु खेती गरिएको हो ।
'तीन सय ९० रोपनी क्षेत्रफलमध्ये २० रोपनीमा बिउका लागि आलु लगाइएको छ,' उनले भने, 'बाँकी तीन सय ७० रोपनी क्षेत्रफलमा खायन आलु लगाइएको छ।'