
ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ)क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाक्लो हिमपात भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्थानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलोपटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो । त्यस्तै, फागुन महिनामा दोस्रोपटक सामान्य हिमपात भएको थियो। गएराति भने निकै बाक्लो हिमपात भएको छ । महतले भने, 'यसभन्दा अगाडि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो । तर, अहिले हिमपात काफ्ले पाटीसम्म पुगेको छ । यस वर्षकै बाक्लो हिमपात भएको छ ।'
पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भए पनि पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीलाई भने प्रभाव नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उनका अनुसार पाथीभराधामबाट करिब दुई किलो मिटर पदमार्गमा फाइबरको छानो लगाएकाले हिमपात भए पनि तीर्थयात्रीहरू सहजै पाथीभारधामसम्म जान सक्नेछन् ।
विगतमा भने हिमपात हुँदा बाटो चिप्लने, पदमार्ग नै हिउँले पुरेर नदेखिने हैरानी खेप्नुपरेको थियो । तर, बिस्तारै विकास समितिले पदमार्गमा फाइबरको छानो लगाउन थालेसँगै हिमपात तथा पानी पर्दासमेत तीर्थयात्रीलाई सहज भएको स्थानीयको भनाइ छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज ३०० जना तीर्थयात्रीहरू पाथीभरा धाममा पूजापाठ गरेको समितिले जनाएको छ ।