
मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका हेटौँडा– १२ का अनुमप घलानको स्मृतिमा सुरु भएको १६ वर्षमुनिको हेटौँडा नगर स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर १२, १५ र १९ सेमिफाइनमा प्रवेश गरेका छन् ।
नगर खेलकुद विकास समितिको आयोजनामा हेटौँडा– ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी प्रतियोगिताको बिहीबारको खेलमा जीित निकाल्दै वडा नम्बर १२, १५ र १९ सेमिफाइनमा प्रवेश गरेका हुन् । प्रतियोगिताअन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा हेटौँडा– ६ लाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै हेटौँडा– १५ सेमिफाइनल प्रवेश गरेको हो ।
निर्धारित समय एक–एक गोलको बराबरी भएपछि टाइब्रेकरबाट विजेताको टुंगो लगाइएको थियो । खेलको निर्धारित समयमा हेटौँडा– ६ का लागि अनुज राई र हेटौँडा–१५ का लागि असिम वाइबाले एक–एक गोल गरेका थिए । यस्तै बिहीबार नै भएको दोस्रो क्वार्टरफाइनल खेलमा हेटौँडा–९ लाई ३–१ गोलअन्तरले हराउँदै हेटौँडा– १२ ले सेमिफाइनलमा स्थान बनाएको छ ।
हेटौँडा– ९ ले पाएको सुरुवाती अग्रता जोगाउन नसक्दा पराजय व्यहोर्नुपरेको हो । उसका लागि खेलको २३औँ मिनेटमा विप्लव बोहराले गोल गर्दै अग्रता दिलाएका थिए । तर, हेटौँडा– १२ का लागि २५औँ मिनेटमा आदित्य मोक्तानले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । खेलको दोस्रो हाफको ५३औँ मिनेटमा उर्गेन रुम्बा र खेलको अन्तिम समयमा आदित्य मोक्तानले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दा वडा नम्बर १२ सेमिफाइनल पुग्न सफल भयो ।
बिहीबार नै भएको क्वार्टरफाइनलको तेस्रो खेलमा हेटौँडा– १९ ले हेटौँडा– ८ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराएको छ । खेलको निर्धारित समयमा एक–एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । हेटौँडा– १९ का लागि पेम्वा बल र हेटौँडा– ८ का लागि सन्देश देउलाले एक–एक गोल गरे । प्रतियोगिताअन्तर्गत शुक्रबार क्वार्टरफाइनल चरणको अन्तिम खेलमा हेटौँडा– ११ र हेटौँडा– १८ बिच प्रतिस्पर्धा हुनेछ । यस्तै शुक्रबार दिउँसोबाट सेमिफाइनलका खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा हेटौँडाका– १९ मध्ये १० वटा वडाको सहभागिता छ । १० गते फाइनल खेल हुने प्रतियोगिताको उपाधि विजेता टोलीले एक लाख र उपविजेता टोलीले ७० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।