
ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ पक्ष र प्रहरीबिच बिहीबार झडप हुँदा १३ जना घाइते भएका छन् । प्रहरीतर्फ ११, आन्दोलनकारीतर्फ एक र एकजना सवारीचालक घाइते भएका हुन् । पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले ठुलो फेदीबाट पदयात्रा निकाल्दै केबलकार निर्माणस्थलतर्फ जाँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रुग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । आन्दोलनकारीको ढुंगा लागेर प्रहरीतर्फ ६ र सशस्त्र प्रहरीका पाँचजना घाइते भएको उनले बताए ।
‘नो केबलकार’ पक्षका आन्दोलनकारी पाथीभराको तल्लो फेदी अर्थात् काफ्लेपाटीबाट बृहत् सद्भाव र्याली निकाल्दै माथिल्लो फेदी पुगेका थिए । शान्तिपूर्ण आन्दोलन भन्दै माथिल्लो फेदी पुगेर पुनः काफ्लेपाटीमा आएर बृहत् कोणसभा गर्ने भनिए पनि आन्दोलनकारीले त्यसो गरेनन् । पदयात्रा काफ्लेपाटी र माथिल्लो फेदीको बिचभागमा पर्ने बुलुडाँडादेखि भिरैभिर केबलकार बनेको बेस स्टेसनदेखि करिब नौ सय मिटरमाथि पूजा गरिरहेको ठाउँमा पुगेको थियो । दिउँसो करिब २ बजेदेखि क्षमापूजा थालेका आन्दोलनरत पक्षले आधा घण्टा पूजा गरेका थिए ।
पूजा सकेपछि छरिएर केबलकारको बेस स्टेसनतर्फ अघि बढेका आन्दोलनकारी सुरक्षाकर्मीको घेरा तोडेर जबर्जस्ती अघि बढ्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । केहीबेर बेस स्टेसनमा नाराबाजी गरेपछि आन्दोलनकारीले प्रहरीतर्फ ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त भएको थियो । प्रदर्शनकारीले आक्रोशित बनेर प्रहरीमाथि नै प्रहार गर्न थालेपछि सामान्य बल प्रयोग गरेको प्रजिअ शर्माले बताए ।
आन्दोलनकारीले ताप्लेजुङ रेडक्रस सभापति इन्द्रबहादुर गुरुङ, उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू तथा इन्सेक प्रतिनिधि एलिना दियाली चढेको गाडी तोडफोड गरी चालक राजकुमार पौडेललाई कुटपिट गरी घाइते बनाएका छन् । बिहीबारको पदयात्रामा राष्ट्रिय मुक्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतो, पूर्वमन्त्री रकम चेम्जोङलगायत नेता सहभागी थिए । पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
गाडीचालक राजकुमार पौडेलमाथि कुटपिट गरिएको विरोधमा ताप्लेजुङको फुङलिङदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्मको यातायात बन्द गरिएको छ । यातायात व्यावसायी संघ काफ्लेपाटीले यातायात बन्दको घोषणा गरेको हो । गाडी तोडफोडसँगै चालकलाई कुटपिट गरी घाइते बनाएको र त्यसको जिम्मा आन्दोलनरत पक्षले नलिएसम्म यातायात ठप्प पारिने यातायात व्यवसायी संघ काफ्लेपाटीका अध्यक्ष कुमार लिम्बूले बताए । घाइते चालक र झडपमा घाइते भएका सुरक्षाकर्मीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
कात्तिक र माघमा पनि भएको थियो झडप
‘नो केबलकार’ पक्ष र प्रहरीबिच कात्तिक र माघमा पनि झडप भएको थियो । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको शिलान्यासका क्रममा २३ कात्तिकमा फुङलिङ नगरपालिका– ४ मा झडप हुँदा ६ जना घाइते भएका छन् । झडपमा सशस्त्र प्रहरीका इन्स्पेक्टर डिगेन्द्र ओली र असइ अविनाश माझी घाइते भएका थिए । आन्दोलनकारीतर्फ दामोदर अधिकारी, कुमार शेर्पा, चन्द्र मादेन र अर्जुन लिम्बू घाइते भएका थिए । गत १२ माघमा पाथीभरामा केबलकार निर्माण सुरु भएको तीन दिनपछि प्रहरी र केबलकार खारेजी समूहबिच झडप हुँदा जनपद र सशस्त्र प्रहरीका तीनजना घाइते भएका थिए । घाइते हुनेमा प्रहरी जवान अनुज विक, प्रहरी सहायक निरीक्षक रामदेव यादव र सशस्त्र प्रहरी जवान सञ्जीव बस्नेत थिए ।