
ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि पाथीभराको काफ्लेपाटीसम्म चल्ने यातायातका साधन आजदेखि बन्द भएका छन्। आज भएको आन्दोलनमा सवारीसाधन तोडफोड र चालकमाथि हातपात भएको भन्दै यातायात व्यावसायी संघ काफ्लेपाटीले यातायात सञ्चालनमा रोक लगाएको हो।
प्रहरी र आन्दोलनरत पक्षबिच झडप भई घाइते बनेकाहरूको उद्धारका लागि पुगेका ताप्लेजुङ रेडक्रस सभापति र उद्योग वाणिज्य संघ ताप्लेजुङका महासचिव तथा इन्सेक प्रतिनिधि चढेको गाडीसमेत आन्दोलकारीले तोडफोड गरेका थिए। रेडक्रसका सभापति इन्द्रबहादुर गुरुङ, वाणिज्य संघका महासचिव कमल लिम्बू तथा इन्सेक प्रतिनिधि एलिना दियाली चढेको गाडी तोडफोड गरी चालकलाई समेत घाइते बनाएको आरोप छ।
तोडफोडसँगै चालकलाई कुटपिट गरी घाइते बताएको र उक्त घटनाको जिम्मा आन्दोलनमा संलग्नहरूले नलिएसम्म यातायात ठप्प रहने यातायात व्यावसायी संघ काफ्लेपाटीका अध्यक्ष कुमार लिम्बूले जानकारी दिए। घाइते चालक र सुरक्षाकर्मीहरूलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको छ। ताप्लेजुङको काफ्लेपाटीमा ‘नो केबलकार समूह’ले एउटा जिपमा तोडफोड र चालकलाई कुटपिटसमेत गरेका थिए।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले झडपमा परी १३ जना घाइते भएका छन्। सशस्त्र प्रहरीतर्फका ११ जना, आन्दोलनरत पक्षका एकजना र कुटपिटबाट एक चालक घाइते भएको प्रनाउ शर्माले बताए।
शान्तिपूर्ण पदयात्रा गर्ने भनिए पनि झडपको स्थिति सिर्जना भएको थियो। झडपलाई नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। आन्दोलनकारीहरू केबलकार निर्माणस्थलमा प्रवेश गर्न खोजेपछि झडप सुरु भएको थियो।