
पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह बिहीबार पोखरामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका–३० खुदीस्थित ढुंगेपाटनमा रहेको विश्वविद्यालय प्रांगणमा सम्पन्न दिक्षान्त समारोहमा सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् ।
समारोहमा विद्यावारिधितर्फ व्यवस्थापन संकायका दिलीपराज पौडेल र मानविकी तथा सामाजिक शास्त्र संकायका धनबहादुर तमाङले कुलपति पदक, स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रममा सबैभन्दा धेरै अंक प्राप्त गरेका २७ जनाले कुलपति पदक, स्नातक तहका सम्पूर्ण कार्यक्रममा सबैभन्दा धेरै अंक प्राप्त गरेका स्वास्थ्य विज्ञान संकायतर्फ नर्सिङ विज्ञानका अनिशा पोखरेलले उपकुलपति पदक प्राप्त गरिन् ।
यसैगरी, विज्ञान तथा प्रविधि संकायअन्तर्गत स्नातक तह कम्युटर एप्लिकेसन कार्यक्रममा सबैभन्दा बढी अंक प्राप्त गर्ने मटिना श्रेष्ठले ओसिम स्वर्ण पदक पाइन् । व्यवस्थापन संकायअन्तर्गत आंगिक महाविद्यालयबाट व्यवसाय प्रशासनतर्फ स्नातकोत्तर तहमा सबैभन्दा धेरै अंक ल्याउने सुष्मिता गिरीले लक्ष्मी विद्या पदक हात पारिन् । उनीहरूलाई प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले पदक प्रदान गरेका थिए ।
७४५ जनालाई डिन लिस्टको उपाधि
विश्वविद्यालयले स्नातक तहका कार्यक्रमहरूमा सिजिपिए ३.७ वा सोभन्दा बढी र स्नातकोत्तर तहका कार्यक्रमहरूमा सिजिपिए ३.८ वा सोभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई डिन लिस्टको उपाधि प्रदान गर्ने व्यवस्था गरेको छ । सोहीअनुसार दीक्षान्त समारोहमा विभिन्न संकायका ७४५ जनाले उक्त उपाधि पाएका थिए । उपाधि पाउने विद्यार्थीमा व्यवस्थापन संकायतर्फ सबैभन्दा धेरै ४२६, विज्ञान तथा प्रविधितर्फ १८२, स्वास्थ्य विज्ञानतर्फ १२९ र मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ आठजना थिए ।
६५ महाविद्यालय, ६८ कार्यक्रम
विश्वविद्यालयअन्तर्गत चार आंगिक, तीन संयुक्त आंगिक र ५८ सम्बन्धन प्राप्त गरी ६५ वटा महाविद्यालय सञ्चालनमा छन् भने ३९ हजार ७१० विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयको सबैभन्दा धेरै बागमती प्रदेशमा ३७, लुम्बिनीमा १३, गण्डकीमा १०, सुदूरपश्चिममा चार र कोशी प्रदेशमा एक महाविद्यालय छन् ।
ती महाविद्यालयमा स्नातक तहमा ३२, स्नातकोत्तर तहमा ३१, एमफिल तहमा एक र विद्यावारिधि तहमा चार गरी कुल ६८ वटा कार्यक्रम सञ्चालनमा छन् ।
आफ्नै शिक्षण अस्पताल
विश्वविद्यालयले तीन वर्ष अघिदेखि आफ्नै शिक्षण अस्पतालसमेत सञ्चालन गर्दै आएको छ । विश्वविद्यालयपरिसर पोखरा–३० खुदीमा शैक्षिक वर्ष ०७८/७९ देखि एक सय शय्याको शिक्षण अस्पतालसमेत सञ्चालन गरेको थियो । विश्वविद्यालयले अस्पतालमार्फत स्वास्थ्य विज्ञान संकायका विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान साथै स्थानीयलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले आकस्मिक, बहिरंग, अन्तरंग, प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी तथा ट्रमा, बालरोग, दन्त चिकित्सा, रेडियोलोजी, प्रयोगशाला, फार्मेसी, एम्बुलेन्सलगायतका सेवा सञ्चालन गर्दै आएको छ ।
२० देशका ४७ विश्वविद्यालय तथा शैक्षिक संस्थासँग सहकार्य एवं सम्बन्ध
पोखरा विश्वविद्यालय ऐन, ०५३ अन्तर्गत ०५४ सालमा स्थापना भएको विश्वविद्यालयले हालसम्म २० देशका ४७ विश्वविद्यालय तथा शैक्षिक संस्थासँग सहकार्य गर्दै आएको छ । शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउँदै उच्चस्तरीय जनशक्ति उत्पादनका लागि अध्ययन, अध्यापन, अनुसन्धान र अन्वेषण आदानप्रदान गर्ने नीतिअनुरूप स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूसँग सम्बन्ध विस्तार गरेको हो । नेपालका केही शैक्षिक संस्थासहित अस्ट्रेलिया, बंगलादेश, चीन, भारत, इटाली, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, नर्वे, पाकिस्तान, पोल्यान्ड, फिलिपिन्स, थाइल्यान्ड, बेलायत, अमेरिकालगायतका देशका विश्वविद्यालय तथा शैक्षिक संस्थासँग सहकार्य गर्दै आएको छ ।
देश र समाजका लागि केही गर्न दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
कार्यक्रममा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले देश र समाजका लागि काम गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका थिए । उनले इमानदारीले मात्रै सफलता पाउन सकिने बताउँदै समाज र देशका लागि उपयोगी हुने गरी अघि बढ्न विद्यार्थीलाई सुझाव दिएका थिए।