
सिराहाकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको शंकास्पद मृत्युअघिको सामूहिक बलात्कार घटना दबाउन पञ्चायती बसाएर पैसाको बार्गेनिङ भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइराला नेतृत्वको पाँच सदस्यीय छानबिन समितिले सोमबारबाट घटना भएको गाउँ नवराजपुर गाउँपालिका– १ भगवतीपुर पुगेर अनुसन्धान गरिरहेको छ । छानबिन समितिका सदस्य रहेका प्रहरी निरीक्षक विक्रम शाहले पञ्चायती बसेको भिडिओ/फोटोसमेत फेला परेको र पीडित परिवारका सदस्यले पञ्चायती बसेको, रकममा बार्गेनिङ भएको विषय आफूहरूलाई सुनाएको बताए । ‘यसले घटना दबाउन पञ्चायती बसेको र रकममा बार्गेनिङ भएको विषयलाई पुष्टि गर्ने देखिन्छ,’ उनले बताए ।
रिंकु २७ माघ राति शौच गर्न गएका वेला रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलबाट सामूहिक बलात्कारमा परेकी थिइन् । घटना थामथुम पार्न २९ माघमा बोलाइएको पञ्चायतीमा रिंकुले सामूहिक बलात्कार गरेको सुनाउँदा पनि वडासदस्यसहितको पञ्चायतीले घटनामा संलनमध्ये रूपेशबाट एक लाख ५० हजार तिराउने निर्णय सुनाएको मृतकका ठुलोबाबा रामसेवक सदायले यसअघि नै नयाँ पत्रिकालाई बताएका थिए ।
प्रहरी निरीक्षक शाहले पनि २९ माघको पञ्चायतीमा बलात्कार आरोपी केटासँग विवाह गर्न भन्दै बार्गेनिङ भएको देखिएको बताए । ‘सुरुको पञ्चायतीमा सहमति नभएपछि भोलिपल्ट पञ्चायती राखिएको रहेछ,’ उनले भने । दोस्रोपटकको पञ्चायतीकै दिन साँझ रिंकु घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
तीन सन्तानमध्ये एक्ली छोरीमाथि बलात्कार, पञ्चायतको निर्णय, आफ्नै घरको कोठामा शंकास्पद अवस्थामा झुन्डिएको भेटिएपछि विक्षिप्त बनेकी आमा सीतादेवी सोमबार लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका अस्पतालमा उपचार गरी मंगलबार घर फर्किएकी छिन् । भारतमा रोजगारीमा रहेका बाबु बिजुल पनि छोरीको शंकास्पद मृत्युपछि घर फर्किएर किरियामा बसेका छन् ।
छानबिन समितिले सोमबार र मंगलबार मृतक रिंकुकी आमा सीतादेवी र ठुलाबुबा रामसेवकसँगै छिमेकीसँग सोधपुछ र छलफल गरेको थियो । ‘घटनास्थल पुगेर वस्तुस्थितिबारे जानकारी लिएका छौँ, मृतकका परिवार, आफन्त, छरछिमेकलगायतसँग कुराकानी पनि गरेका छौँ,’ एसएसपी कोइरालाले बताए । मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यका अनुसार छानबिन समितिलाई एक हप्ताको समय दिइएको छ । ‘छानबिन समितिले अनुसन्धान गर्न सहयोग पुर्याउँछ । स्थानीय अनुसन्धान टोली सबै ठाउँमा पुगेर सबै कुरा नगर्न सक्ला । अनुसन्धान टोलीले गरेको कुरा तलमाथि हुन नदिन समितिले काम गर्छ,’ उनले भने ।
उनका अनुसार समितिले अनुसन्धानलाई सही ट्र्याकमा ल्याउन निर्देश गर्नुका साथै कहीँकसैले नियतवश बदमासी गरेको भए कारबाहीको सिफारिससमेत गर्नेछ ।
बलात्कार आरोपी र पञ्चायती बस्ने फरार
बलात्कारको आरोप लागेकाहरू फरार छन् । त्यति मात्र होइन, पञ्चायती सभामा बसेका वडासदस्य नथुनी साह र स्थानीय रामकृपाल मण्डल, रामप्रित साह, रामपुकार मण्डल फरार छन् ।
तर, इलाका प्रहरी कार्यालय लहानले भने आत्महत्या दुरुत्साहन कसुरमा रूपेश मण्डलमाथि मात्र अनुसन्धान गरिरहेको छ ।
मधेश प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले स्थानीय (इलाका) प्रहरीमा दर्ता भएको आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरीमा अनुसन्धान भइरहेको बताए । ‘प्रदेश प्रहरीले अनुसन्धानमा सघाइरहेको छ, पीडित परिवार, स्थानीयले सोधपुछको क्रममा दिएको बयानको आधारमा बलात्कार भएको हो–होइन भन्ने बुझ्दै छौँ । तर, अन्तिम आधार भनेको पोस्टमार्टम रिपोर्ट हो, त्यो आइसकेको छैन,’ उनले भने । पोस्टमार्टम रिपोर्टमा बलात्कार रहेको खुलेमा सोहीअनुसार अनुसन्धान अघि बढ्ने काफ्लेले बताए । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षणपछि परीक्षण प्रतिवेदन प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।
निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा प्रदर्शन
रिंकुको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । मधेशका जिल्लाबाट काठमाडौंमा रहेका युवाले माइतीघरमा मैनबत्तीसमेत बालेर घटनामा संलग्न र पञ्चायती गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।
त्यसअघि प्रदर्शनका क्रममा उनीहरूले ‘बलात्कारपीडितलाई न्याय दे, अपराधीलाई कारबाही गर, बलात्कारको मूल्य तोक्ने पञ्चहरूमाथि कारबाही गर, जस्टिस फर रिंकु सदायलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
‘रिंकुकुमारी सदायको घटना एउटा उदाहरण मात्र हो, यस्ता दर्जनौँ घटना मधेशमा लुकाइएका छन्,’ प्रदर्शन गर्न पुगेका शिव यादवले भने, ‘देशमा कानुन छ, तर राज्य र राज्यका संयन्त्र त्यसको कार्यान्वयनमा कहिल्यै गम्भीर भएनन् ।’
राष्ट्रिय सभाका सांसदहरूले मागे गृहमन्त्रीको जवाफ
सिराहा नवराजपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कारपछि शंकास्पद मृत्यु भएको घटनामा संलग्नलाई पक्राउ गरेर कारबाही गर्न नसकेको भन्दै राष्ट्रिय सभाका सदस्यहरूले गृह प्रशासनको आलोचना गरेका छन् । मंगलबार बैठकको आकस्मिक र शून्य समयमा बोल्दै उनीहरूले बलात्कारमा संलग्नदेखि घटना दबाउन पञ्चायत बसेर आर्थिक लेनदेन गराउन खोज्नेसम्मलाई कारबाही गर्न माग गरेका हुन् ।
‘स्थानीय पञ्चहरूले डेढ लाख बार्गेनिङ गरेर घटना मिलाउन खोजेका थिए । त्यसकारण स्थानीय जनप्रतिनिधि र अपराधीलाई तुरुन्त कारबाही होस् भनी गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ माओवादीका राधेश्याम पासवानले भने । उनले सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियारको अन्तरजातीय विवाह छुटाउन खोज्नेमाथि छानबिन गर्न समिति बनाउनुपर्ने र गृहमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिनुपर्ने माग पनि गरे ।
जसपा नेपालका मोहम्मद खालिदले दलित महिलामाथि हिंसा र अत्याचारको शृंखला बढ्दै गइरहेको र सिराहाकी किशोरी रिंकुमाथि भएको घटना सह्य नभएको बताए । ‘यस्ता घटना बारम्बार हुनु सह्य छैन । त्यसैले, यस सदनमा दलित हक अधिकार संकल्प प्रस्ताव पनि पारित गरेका छौँ । अब यस्ता घटना नदोहोरियोस् भनेर सरकारसँग माग गर्दछु,’ उनले भने ।
राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले सत्येन्द्र र नेहाको अन्तरजातीय सम्बन्ध तोड्न राज्यबाटै भएको अत्याचारको घटना सेलाउन नपाउँदै रिंकुको सामूहिक बलात्कारपछि हत्या गरिएको बताए । ‘गाउँलेले त्यसखालको जघन्य अपराधलाई प्रहरी प्रशासनको जिम्मा लाउनुको बदला स्थानीय पञ्चायत बसेर मिलाउने प्रयास गरियो । आखिर न्याय नपाएपछि उनको मृत्यु भयो । यसरी दलितहरूमाथि बारम्बार उत्पीडन, बलात्कार, हत्या भइरहेको छ । यसप्रति सरकारको गम्भीर ध्यानाकृष्ट होस्,’ उनले भने ।
माओवादीका विष्णुबहादुर विश्वकर्माले रिंकुको सामूहिक बलात्कारपछि रहस्यमय मृत्युको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गरे ।
सत्येन्द्रका आमा र मामालाई साधारण तारेखमा छाड्न आदेश
सर्लाही/ बालविवाहको झुटो मुद्दा खेपिरहेका सर्लाहीको बरहथवा नगरपालिका– १० का सत्येन्द्रकुमार रामका आमा गीतादेवी राम र मामा राजु रञ्जनलाई साधारण तारेखमा छाड्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश जीवनकुमार भण्डारीको सोमबारको इजलासले साधारण तारेखमा छाड्न आदेश दिएको अदालतका स्रेस्तेदार ज्ञानेन्द्र दाहालले बताए । अन्तरजातीय जोडी सत्येन्द्र राम र नेहा रौनियारले कपिलवस्तु जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरिसकेपछि सर्लाही जिल्ला अदालतमा बालविवाहको मुद्दा दायर भएको थियो । सत्येन्द्रविरुद्ध मात्र होइन, उनका आमा र मामाविरुद्ध पनि मुद्दा चलाइएको छ । उक्त मुद्दापछि सत्येन्द्रको परिवार नै विस्थापित भएको थियो ।
सत्येन्द्र र नेहालाई छुटाउन गृहमन्त्री रमेश लेखकको आदेश र आइजिपी वसन्त कुँवरको निर्देशनमा मुम्बईसम्म प्रहरी पुगेर कुटपिट गर्दै पक्राउ गरिएको थियो भने बालविवाहको झुटा मुद्दा चलाइएको थियो । प्रहरीले गीतादेवी र राजुविरुद्ध अदालतबाट पक्राउ पुर्जीसमेत ल्याएकामा झुटा मुद्दा चलाइएकोबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि पक्राउबाट पछि हटेको थियो । समाचार आएसँगै सडकदेखि सदनसम्म विरोध चर्किएपछि सरकार दबाबमा परेको थियो ।
चौतर्फी दबाब परेपछि सरकारले सुरक्षा ग्यारेन्टी लिएर सत्येन्द्रको परिवारलाई २८ माघमा गाउँ पठाइएको थियो । यो घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले पनि छानबिन गरिरहेको छ ।