
प्रहरीमा एआईको प्रयोग
नेपाल प्रहरीले अपराध अनुसन्धानमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गर्ने भएको छ । यसका लागि प्रहरीले नौ करोड ११ लाख रुपैयाँमा ‘एआई बिजनेस इन्टेलिजेन्स टुल्स’ खरिद गरेको छ ।
एक भारतीय कम्पनीसँग प्रहरीले एआई बिजनेस इन्टेलिजेन्स टुल्स खरिद गरेको हो । सोही कम्पनीले यसको प्रयोगबारे प्रहरी कर्मचारीलाई तालिमसमेत दिइरहेको छ । विभिन्न काममा एआईको उपयोगिता बढाउन १५ जना कर्मचारीलाई तालिम दिइसकिएको प्रहरी अधिकारीले बताएका छन् ।
सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख एआइजी कुवेर कडायतले अपराध अनुसन्धानमा एआईको प्रयोग एक गेम चेन्जर योजना हुन सक्ने बताए । ‘यो नेपाल प्रहरीका लागि गेम चेन्जर योजना हुने हाम्रो विश्वास छ,’ कडायतले भने,‘अपराध अनुसन्धानदेखि प्रहरीका धेरै काममा एआईको प्रयोग गरी पुलिसिङलाई स्मार्ट बनाउने योजना छ । यसले जनशक्तिको कार्यबोझ पनि कम गर्नेछ ।’ नेपालमा सम्भवतः सरकारी तवरमा एआईको यसरी बृहत् प्रयोग गर्न लागिएको नेपाल प्रहरी पहिलो संस्था भएको हुन सक्ने एआइजी कडायत बताउँछन् ।
सुरुमा अपराधसम्बन्धी तथ्यांक विश्लेषणमा यसको प्रयोग गर्ने प्रहरी तयारी छ । ‘हामीसँग लाखौँ डाटा छन्,’ कम्प्युटर सेवा निर्देशनालयका डिआइजी अरुण भण्डारी भन्छन्, ‘अहिले एआइजी बिजनेस टुल्सको सहयोगमा अपराधको ट्रेन्ड विश्लेषणको काम सुरु भएको छ, जसअनुसार कुन ठाउँमा कस्तो अपराध भइरहेको छ, भावी दिनमा कहाँ, कस्ता अपराध हुन सक्छन् भनेर पूर्वानुमान गरी त्यहीअनुसार सुरक्षा तयारी गर्न पनि सहज हुनेछ ।’
हाल अपराध अनुसन्धान विभागबाट एआईको प्रयोग थालिएको र कार्य विभाग तथा मानव स्रोत विभागमा पनि यसको प्रयोग बढाउँदै लैजाने डिआइजी भण्डारी बताउँछन् । प्रहरीका वैयक्तिक तथ्यांकको विश्लेषण तथा डिजिटलाइजेसनमा पनि यसको प्रयोग गर्ने तयारी छ । प्रहरी कर्मचारीका वैयक्तिक डाटा विश्लेषण गर्दा सरुवा तथा बढुवालाई समेत थप व्यवस्थित बनाउन सहयोग पुग्ने प्रहरी अधिकारी बताउँछन् ।
हाल प्रहरी यसको प्रयोगबारे प्रारम्भिक चरणमा रहेको र यसको बृहत् रूपमा उपयोग गर्दै जाने डिआइजी भण्डारी बताउँछन् । तर, प्रहरीका ऐन, कानुनमा भने एआईको प्रयोगबारे कुनै कार्यविधि तथा निर्देशिका बनिसकेको छैन ।
‘कल डिटेल’को तत्काल विश्लेषणदेखि बायोमेट्रिक प्रणालीबाट अपराध अनुसन्धानमा पनि यसको प्रयोग गर्न सकिने प्रहरी अधिकारी बताउँछन् । अपराध अनुसन्धानको काम एआईले सहज बनाउने एआइजी कडायतको विश्वास छ । ‘प्रहरीको मुख्यमध्ये एक काम अपराध अनुसन्धान हो,’ उनी भन्छन्, ‘यसमा आधुनिक प्रविधि अँगाल्दै अघि बढ्ने प्रयासमा छौँ ।’
अपराध अनुसन्धान तथा नियन्त्रणमा धेरै देशले एआईको प्रयोग गर्न थालिसकेका छन् । युरोपियन युनियनको गत सेप्टेम्बरमा प्रकाशित एक प्रतिवेदनअनुसार कानुन कार्यान्वयनमा एआईले ‘क्रान्ति’ ल्याउने उल्लेख छ । जसअनुसार युरोपियन देशहरूको प्रहरी संगठन युरोपोलले यसको प्रयोग बढाउँदै लैजाने निर्णय गरेको थियो । इयूको सो प्रतिवेदनअनुसार डाटा विश्लेषणदेखि प्रहरी अप्रेसनसम्म यसले सघाउने उल्लेख छ । आपत्कालीन अवस्थामा एआई टुल्सको प्रयोग महŒवपूर्ण हुने प्रतिवेदनमा भनिएको छ ।
छिमेकी देश भारतका रेलवे स्टेसनमा पनि एआईमा आधारित सर्भेलेन्स प्रणाली बनाइएको छ । दिल्ली प्रहरीले पुलिस पट्रोलिङमा पनि एआईको प्रयोग गरी प्रभावकारी बनाउने तयारी गरिरहेको छ । अमेरिका प्रहरी कार्यालयहरूले पनि पुलिस रिपोर्ट लेख्नका लागि एआईका प्रयोग गर्दा धेरै समय बचत भएको बताएका छन् । यद्यपि, कानुन व्यवसायीले यस्तो रिपोर्टको शुद्धता र निष्पक्षतामाथि प्रश्न उठाइरहेका छन् । कतिपय देशले सुरक्षा व्यवस्थामा एआईमा आधारित ड्रोनसमेत प्रयोग गर्न थालेका छन् ।
प्रहरीको प्रशासन विभागका एआइजी टेकप्रसाद राई प्रहरीका अन्य क्षेत्रमा पनि एआईको प्रयोगबारे सरोकारवालाहरूसँग छलफल भइरहेको बताउँछन् । ‘नाकामा सवारीसाधनको अटोमेटिक रेकर्ड राख्ने प्रणालीका लागि पनि एआईको प्रयोगबारे छलफल भइरहेको छ,’ उनी भन्छन्, ‘सकेसम्म धेरै क्षेत्रमा यसको प्रयोग गरेर काम गर्ने योजना छ ।’
एआई प्रयोग गरी पुलिसिङलाई स्मार्ट बनाउने योजना छ : एआइजी कुवेर कडायत, प्रमुख, अपराध अनुसन्धान विभाग
नेपालमा एआईको बृहत् प्रयोग गर्ने सम्भवतः नेपाल प्रहरी पहिलो संस्था हो । अपराध अनुसन्धानदेखि प्रहरीका प्रशासनिक काममा एआईको प्रयोग गरी पुलिसिङलाई स्मार्ट बनाउने योजना छ । यसले जनशक्तिको कार्यबोझ पनि कम गर्ने हाम्रो विश्वास छ ।
अपराधको ट्रेन्ड विश्लेषणको काम सुरु
सुरुमा अपराधसम्बन्धी तथ्यांक विश्लेषणमा यसको प्रयोग गर्ने प्रहरी तयारी छ । ‘हामीसँग लाखौँ डाटा छन्,’ कम्प्युटर सेवा निर्देशनालयका डिआइजी अरुण भण्डारी भन्छन्, ‘अहिले एआई बिजनेस टुल्सको सहयोगमा अपराधको ट्रेन्ड विश्लेषणको काम सुरु भएको छ, जसअनुसार कुन ठाउँमा कस्तो अपराध भइरहेको छ, भावी दिनमा कहाँ, कस्ता अपराध हुन सक्छन् भनेर पूर्वानुमान गरी त्यहीअनुसार सुरक्षा तयारी गर्न पनि सहज हुनेछ ।’
हाल अपराध अनुसन्धान विभागबाट एआईको प्रयोग थालिएको र कार्य विभाग तथा मानव स्रोत विभागमा पनि यसको प्रयोग बढाउँदै लैजाने डिआइजी भण्डारी बताउँछन् । प्रहरीका वैयक्तिक तथ्यांकको विश्लेषण तथा डिजिटलाइजेसनमा पनि यसको प्रयोग गर्ने तयारी छ । प्रहरी कर्मचारीका वैयक्तिक डाटा विश्लेषण गर्दा सरुवा तथा बढुवालाई समेत थप व्यवस्थित बनाउन सहयोग पुग्ने प्रहरी अधिकारी बताउँछन् ।