
माघ मसान्तसम्म वाणिज्य, विकास बैंक र वित्त कम्पनीमा सवा ६७ खर्ब निक्षेप, वाणिज्य बैंकमा मात्रै ६० खर्ब निक्षेप, ६ खर्ब ३८ अर्ब लगानीयोग्य पुँजी थुप्रियो
चालु आर्थिक वर्ष २०८१/०८२ को सात महिनामा वाणिज्य बैंकहरूमा करिब ६० खर्ब निक्षेप पुगेको छ । अहिले समग्र बैंकिङ क्षेत्र वाणिज्य, विकास बैंक र वित्त कम्पनीमा माघ मसान्तसम्म सवा ६७ खर्ब निक्षेप रहेको छ । नेपाल बैंकर्स संघका अनुसार उक्त अवधिमा २० वाणिज्य बैंकहरूको मात्र निक्षेप ५९ खर्ब ९७ अर्ब पाँच करोड रुपैयाँ पुगेको हो । पछिल्लो एक वर्षमा मात्र वाणिज्य बैंकमा राखिएको निक्षेप पाँच खर्ब ५६ अर्ब रुपैयाँले बढेको छ । माघ ०८० सम्म वाणिज्य बैंकहरूमा ५४ खर्ब ४१ अर्ब निक्षेप थियो ।
चालू आवको सात महिनामा मात्रै निक्षेप दुई खर्ब ४२ अर्ब २८ करोड रुपैयाँले बढेको छ । गत असारसम्म वाणिज्य बैंकमा ५७ खर्ब ५४ अर्ब ७७ करोड निक्षेप थियो । चालू आवको पहिलो महिना साउनमा भने ३९ अर्ब निक्षेप घटेको थियो । त्यसपछि भदौमा ७३ अर्ब र असोजमा एक खर्ब ३३ अर्ब रुपैयाँले बढेको निक्षेप कात्तिकमा १९ अर्ब रुपैयाँले घटेको थियो । त्यसपछिका महिनामा भने निक्षेप बढ्दै आएको छ । संघका अनुसार मंसिरमा ३३ अर्ब, पुसमा ५१ अर्ब र माघमा नौ अर्ब निक्षेप बढेको छ ।
सुदेश खालिङ, प्रमुख कार्यकारी अधिकृत (सिइओ), एभरेष्ट बैंक
बैंकले निक्षेप लिएर कर्जा प्रवाह गर्ने हो । कर्जाबाट आउने ब्याजबाट नै निक्षेपकर्तालाई ब्याज दिने हो । बाँकी बैंकको आम्दानी हो । पछिल्लो समय कर्जा प्रवाह बढ्न सकेको छैन । तर, निक्षेप बढ्दो क्रममै छ । त्यसले गर्दा निक्षेपकर्तालाई ब्याजबापत दिने दायित्व बढ्दो छ । तर, आम्दानी गर्न कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न सकेको छैन । एक हिसाबमा अहिले बैंकहरूलाई निक्षेप भारी भइरहेको छ ।
बैंकमा निक्षेप बढाउने रेमिट्यान्स र सरकारी खर्च प्रमुख स्रोत हुन् । यद्यपि, पछिल्लो समय निक्षेप बढ्ने प्रवृत्तिमा अस्थिरता देखिएको चालू आवको मासिक तथ्यांकले पुष्टि गरेको छ । आर्थिक शिथिलता कायमै हुँदा बैंकहरूमा कर्जाको माग बढ्न सकेको छैन । फलस्वरूप अहिले बैंकहरूमा लगानीयोग्य पुँजी पनि थुप्रिएको छ । अहिले वाणिज्य बैंकहरूसँग मात्रै ६ खर्ब ३८ अर्ब ६८ करोड रुपैयाँ ऋण लगानीयोग्य पुँजी छ ।
माघ मसान्तसम्म वाणिज्य बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७९.३५ प्रतिशत छ । वाणिज्य बैंकहरूले सिडी रेसियो ९० प्रतिशतसम्म पुग्ने गरी कर्जा प्रवाह गर्न पाउँछन् । त्यो अवस्थामा अझै १०.६५ प्रतिशतको अनुपातमा कर्जा लगानी गर्न सक्छन् । बैंकहरूमा लगानीयोग्य पुँजी बढ्न थालेपछि हरेक महिना ब्याजदर घटाउँदै आएका छन् । तैपनि, कर्जाको माग सन्तोषजनक हुन नसकेको तथ्यांकले देखाउँछ ।
कर्जाको माग नहुँदा अहिले बैंकहरूलाई निक्षेप बोझ तथा भारी हुन थालेको छ । पटक–पटक तरलता अभावको समस्या झेलेका बैंकहरुलाई अहिले निक्षेप नै भारी भएको छ । बचत तथा निक्षेप राखेबापत बैंकहरूले निक्षेपकर्तालाई सम्झौताअनुसारको ब्याज दिनैपर्छ, जुन ब्याज खर्च बैंकहरूले प्रवाहित कर्जाको ब्याजबाट कमाउने हो । तर, पछिल्लो समय कर्जाको माग बैंकहरूले कर्जा प्रवाह गरेर आम्दानी गर्न सकेका छैनन् । चालू आवको दोस्रो त्रैमाससम्म पनि वाणिज्य बैंकहरूको ब्याज आम्दानी १६.८६ प्रतिशतले घटेको छ । गत आवको पहिलो ६ महिनामा वाणिज्य बैंकहरूको ब्याज आम्दानी तीन खर्ब पाँच अर्ब पाँच करोड ८६ लाख थियो । चालू आवको ६ महिनामा त्यो दुई खर्ब ५३ अर्ब ६३ करोड ६४ लाखमा सीमित भएको छ । कर्जा प्रवाह बढ्न नसक्दा र घट्दो ब्याजदरका कारण ब्याज आम्दानी पनि घटेको छ ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङले पनि बैंकहरूलाई निक्षेप भारी हुन लागेको बताए । ‘हामीले निक्षेप लिएर कर्जा प्रवाह गर्ने हो । कर्जाबाट आउने ब्याजबाट नै निक्षेपकर्तालााई ब्याज दिने हो । बाँकी बैंकको आम्दानी हो । पछिल्लो समय कर्जा प्रवाह बढ्न सकेको छैन ।
तर, निक्षेप बढ्दो क्रममै छ । त्यसले गर्दा निक्षेपकर्तालाई ब्याजबापत दिने दायित्व बढ्दो छ । तर, आम्दानी गर्न कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न सकेको छैन,’ उनले भने, ‘एक हिसाबमा अहिले बैंकहरूलाई निक्षेप भारी भइरहेको छ । कम्तीमा पनि ३ प्रतिशत ब्याजदर दिनैपर्छ । व्यक्तिगत निक्षेपमा ४ प्रतिशत ब्याज दिनुपर्छ । तर, लगानी गर्ने ठाउँ पनि छैन । निक्षेप बोलकबोल र स्थायी निक्षेप सुविधामार्फत राष्ट्र बैंकमा लगानी गरिरहेका छौँ । तर, त्यसबाट हुने आम्दानीले निक्षेपकर्तालाई दिने ब्याज पनि पुग्दैन ।’
सात महिनामा दुई खर्ब ५६ अर्ब कर्जा प्रवाह
वाणिज्य बैँकहरूले चालू आवको सात महिनामा दुई खर्ब ५६ अर्ब ९४ करोड कर्जा प्रवाह बढाएका छन् । कर्जा बक्यौताका आधारमा सोबराबरको नयाँ कर्जा प्रवाह भएको देखिएको हो ।
गत असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड थियो । माघ मसान्तसम्म त्यो ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।
चालू आवको साउनमा दुई अर्ब मात्रै कर्जा प्रवाह बढेको थियो । त्यसपछि भदौमा ५३ अर्ब र असोजमा ५६ अर्ब कर्जा प्रवाह बढेको देखिन्छ । त्यसपछि कात्तिकमा दुई अर्ब घटेको कर्जा प्रवाह मंसिरमा ४२ अर्ब, पुसमा ९४ अर्ब र माघमा १२ अर्ब बढेको तथ्यांक छ ।
पछिल्लो समय आयात र सेयर खरिदका लागि कर्जाको माग बढेको बताइन्छ । तर, जति कर्जा प्रवाह भएको छ, त्यो सन्तोषजनक नभएको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् । यद्यपि, यो गत आवको सोही अवधिको तुलनामा बढी हो । गत आवको पहिलो सात महिनामा एक खर्ब ८३ अर्ब नयाँ कर्जा प्रवाह भएको थियो । माघमा मात्रै तीन अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
‘गत आवको तुलनामा कर्जा प्रवाह बढेको देखिन्छ । तर, यो सन्तोषजनक छैन, माघमा त कर्जा प्रवाह न्यून छ । विगतमा आयात र सेयरमा लगानी गर्ने गरी कर्जाको माग बढेको थियो । अहिले सेयर बजार पनि बढ्न सकेको छैन । त्यसले गर्दा सेयर खरिदका लागि पनि कर्जा माग हुन सकेको छैन,’ उनले भने, ‘आयातका लागि कर्जाको माग अलि–अलि भइरहेको छ । अन्य क्षेत्रबाट कर्जाको माग नगण्य छ ।’