![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Mid2025-02-12-07-40-41.jpeg)
मागअनुसारको रगत संकलन हुन नसकेपछि नवलपुरमा रगत अभाव भएको छ । कावासोती र आसपासका अस्पतालहरूले शल्यक्रिया सेवा पनि थप गरेपछि रक्त सञ्चार केन्द्र कावासोतीमा संकलन भएको रगत नवलपुरमै पुर्याउन गाह्रो भएको नेपाल रेडक्रस कावासोतीका अध्यक्ष बाबुराम कँडेलले बताए।
कँडेलले भने, ‘अस्पतालमा बिरामीको चापका कारण रगत माग बढेको छ, तर यही वेला दाताको संख्या घटेकाले माग धान्नै हम्मेहम्मे परेको छ ।’ रगत नपाएकै कारण कतिपय अवस्थामा बिरामीका आफन्त रगतको खोजीका लागि भौँतारिरहेको भेटिने गरेको उनले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोती नवलपुर रक्त सञ्चार सेवाले नवलपुर जिल्लामा सामान्यतया एक महिनामा एक सय ५० युनिट रगत खपत हुने गरेकोमा अहिले एक महिनामा तीन सयभन्दा बढी युनिट रगत खपत हुने गरेको हो ।
जाडोको मौसममा रुघाखोकीलगायतका कारणले नियमित रक्तदातासमेत कमी हुने गरेका छन् । रेडक्रस सोसाइटी कावासोतीले संस्थागत र व्यक्तिगत रूपमा पनि रक्तदान गर्न अनुरोध गरेको छ।
मध्यविन्दु प्रादेशिक अस्पताल डन्डाका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले रगत अभावकै कारण अस्पतालमा शल्यक्रिया नै प्रभावित नभए पनि अभाव भने देखिएको बताए। उनले भने, 'अस्पतालको आफ्नै ब्लड बैंक छैन। रगत अभाव भइहालेको थाहा हुन्न तथापि बिरामीले रगत नपाएपछि अस्पतालकै कर्मचारीहरूबाट रगत दिएर काम चलाउने गरेका छौँ।’
अस्पतालभित्रकै नियमित रक्तदाता कर्मचारीहरूको सामाजिक सञ्जाल ग्रुप बनाएर शल्यक्रिया गर्ने वेला बिरामीको आफन्तले रगत नपाएर उक्त ग्रुपमा भनेर रगत अभाव हाललाई हल गर्ने गरेको डा. आचार्यले बताए।