![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Gagan2025-02-12-07-06-54.jpeg)
कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रमा ठुलो समस्या रहेको बताएका छन्। उनले देशको आर्थिक अवस्था सुधार्ने कुरामा सरकार प्रस्ट हुनुपर्नेमा जोडसमेत दिएका छन्।
नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेश अधिवेशनको बुधबार बुटवलमा उद्घाटन गर्दै उनले सानोतिनो समस्यामा अर्थतन्त्र नरहेको भन्दै आर्थिक अवस्था सुधारमा ध्यान जानुपर्ने बताए। ‘अर्थतन्त्र संकटमा छ भनेर तर्साउन चाहन्न, तर समस्यामा छ,' उनले भने।
मुलुकमा आम्दानीभन्दा खर्च बढ्दो रहेको तथा ऋण अनुदान घट्दै गएको चर्चा गर्दै अब समय खेर नफाली सुधारमा लाग्नुपर्नेमा उनले जोड दिए। अबको तीन वर्षको सदुपयोग गर्दै सुधारका कामहरू गर्नुपर्ने उनले बताए।
अहिलेका सत्तासमीकरण फेरबदलको पक्षमा कांग्रेस नरहेको भन्दै उनले आधारभूत मुल्य मान्यतामा अडिग रहेर एमालेसँग अगाडि बढ्ने उनको भनाइ छ। विधिको शासन, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताजस्ता आधारभूत मूल्य र मान्यतासँग सम्झौता नगर्ने किसिमले सत्तागठबन्धन अगाडि बढ्ने उनको भनाइ छ।
मुलुकको विकास र अर्थतन्त्र सुधारका लागि कांग्रेसले जोखिम उठाउनुपर्ने अवस्था रहेको थापाको भनाइ छ। सत्ता फेरबदलमा नभई अर्थतन्त्र सुधारमा सरकारको ध्यान केन्द्रित गर्ने गरी सत्तागठबन्धन अगाडि बढ्ने धारणा उनको छ। कांग्रेस एमाले मिलेर अर्थतन्त्र सुधारमा अगाडि बढ्ने उनको भनाइ छ।
कार्यक्रममा कांग्रेस नेता बालकृष्ण खाण, अमरसिंह पुन, देवेन्द्रराज कँडेल, अब्दुल रज्जाकलगायतले धारणा राखेका थिए।