![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/manish-jha2025-02-12-08-15-46.jpeg)
सशस्त्र प्रहरीको माथिल्लो तहमा महिनौँदेखि बढुवा रोकिएको विषयमा रास्वपा सांसद मनीष झाले गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका छन् । सर्वाेच्च अदालतले प्रहरीका कुनै पनि पद रिक्त भएको तीन महिनाभित्र बढुवा सिफारिस गरिसक्न गृह मन्त्रालयलाई परमादेश दिँदा पनि कार्यान्वयन नभएको भन्दै उनले कारणसहित जवाफ मागेका हुन् ।
‘कुन ज्वाइँनारायणलाई प्रहरी प्रमुख बनाउन यसो गरिँदै छ भनेर छ्यापछ्याप्ती छ, सञ्चारमाध्यममा,’ उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए । कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजीज्वाइँ एसएसपी दीपेन्द्र कुँवरलाई ब्याच मिचेर बढुवा गर्न परेको दबाबका कारण सशस्त्र प्रहरीमा महिनौँसम्म बढुवा अवरुद्ध भएको समाचार मंगलबार नयाँ पत्रिकामा प्रकाशित भएको थियो ।
भावी आइजिपीमा सुनिश्चित गर्न ब्याचबाट एकल मात्र होइन, अघिल्लो ब्याचलाई नै उछिनेर सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा गर्न दबाब दिइएको छ । त्यसो गर्दा संगठनमा भाँडभैलो हुन सक्ने भन्दै सशस्त्र प्रहरी मुख्यालयले बढुवा प्रक्रिया अघि बढाउन सकेको छैन ।
सशस्त्र प्रहरीमा १६ भदौदेखि दुई डिआइजीको पद रिक्त भएकोमा गत साता थप एक पद रिक्त भएको थियो । तर, अझै सशस्त्र प्रहरी प्रधान कार्यालयले बढुवाको सुरसार गरेको छैन ।
राजनीतिक हस्तक्षेपकै कारण डिआइजीमा बढुवा हुन नसक्दा तल्लो तहसम्मकै पदोन्नतिको प्रक्रिया रोकिएको छ । यसबाट सयौँ प्रहरी अधिकारी मारमा परेका छन् । एक व्यक्तिका कारण सिंगो संगठन नै बन्धक बनाउने काम भएको भन्दै सशस्त्र प्रहरीमा असन्तुष्टि चुलिएको छ ।