![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Bhim2025-02-10-09-32-11.jpeg)
उपचार सेवामा उल्लेख्य सुधार गरेको रुपन्देहीस्थित पुरानो भीम अस्पतालले न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गतको मूल्यांकनमा ९४ प्रतिशत अंक प्राप्त गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले हरेक वर्ष गर्ने न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत अस्पतालले बिरामीलाई प्रदान गर्ने उपचार सेवा र अस्पताल सञ्चालनको व्यवस्थापनका आधारमा ९४ प्रतिशत अंक प्राप्त गरेको हो ।
अनुगमन समितिका संयोजक डा.जगन्नाथ तिवारीका अनुसार सिमित जनशक्ति र बिरामीको चापका बिच पनि अस्पतालको सेवा तथा व्यवस्थापन उत्कृष्ट पाइएको छ ।
आर्थिक वर्ष ०७७/०७८ मा ५३ प्रतिशत अंक पाएको अस्पतालले आर्थिक बर्ष ०७८/०७९ मा ५६ प्रतिशत अंक पाएको थियो । त्यसैगरी आर्थिक बर्ष ०७९/०८० मा ८८ प्रतिशत अंक पाएको अस्पतालले आर्थिक बर्ष २०८०/८१ मा ९० प्रतिशत अंक प्राप्त गरेको थियो ।
मूल्यांकन टोलीले नौ सय ३९ वटा सुचकलाई आधार मानेर भीम अस्पतालको स्थलगत मूल्यांकन गर्दा सन् २०२४ मा ९४ प्रतिशत अंक प्राप्त गरेरको सोमबार अस्पतालमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
केही वर्षदेखि अस्पतालले आफ्ना सेवालाई प्रभावकारी र सुधार गर्दै प्रदेश निर्देशनालयको मूल्यांकनमा अंक बढाएको छ । ‘२५ बेड स्वीकृत दरबन्दी जनशक्तिबाट एक सय बेडमा अस्पताल सञ्चालित छ । यस्तै धेरै विषयमा विशेषज्ञ सेवा प्रदान गर्नु प्रशंसनीय कुरा हो ।’ अनुगमन समितिका संयोजक डा. तिवारीले भने ।
समितिको मूल्यांकनमा भीम अस्पतालमा सिटी स्क्यान, एनआईसियू, नेत्र सेवा, छालारोग र नाक, कान, घाँटी सेवा न्युनतम सेवा मापदण्डले गरेको परिकल्पनाभन्दा माथि रहेर विशेषज्ञ सेवा उपलब्ध गराएको छ ।
लैंगिक हिंसामा परेका पीडितका लागि अस्पतालमा प्रदान गरिने एकद्वार संकट व्यवस्थापन केन्द्र, बिरामीका लागि कुरुवा घर, अप्रेसन थिएटर, ल्याब, ब्लड बैंक, पिउने पानीको परीक्षण, फोहोर व्यवस्थापन, स्वास्थ्य जाँचका लागि कुन बिरामीलाई कुन चिकित्सकसँग पठाउने ? भन्ने बारे स्क्रिनिङ कक्ष, फिजियोथेरापी, प्रकोप व्यवस्थापन सबै व्यवस्थित रहेको अनुगमन तथा मूल्यांकन समितिले जनाएको छ ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले अस्पताल आउने बिरामी सबैलाई सकेसम्म विशेषज्ञ सेवा उपलब्ध गराउन प्रयास गर्ने बताइन् ।
कोरोना महामारी अगाडी अस्पतालप्रति सर्वसाधारणले खासै चासो नदेखाए पनि यसपछि अस्पतालले उपलब्ध गराएको उपचार सेवामा बिरामीले विश्वास गर्ने गरेका छन् । १९९० सालमा अस्पतालको स्थापना भए पनि अस्पतालमा अधिकांश समय विशेषज्ञ चिकित्सक अभावमा गुणस्तरीय सेवा उपलब्ध हुन नसक्दा बिरामी अन्य अस्पतालमा जान बाध्य थिए ।
१९९० मा तीन बेडबाट सुरु भएको अस्पताललाई ०३५ सालमा स्तरोन्ती गरी १५ बेडको बनाइएको थियो । निम्न आय भएका नागरिकको स्वास्थ्यमा पहुच पुर्याउने उद्देश्यले स्थापित अस्पताललाई ०४१ सालमा २५ बेडको बनाइएको थियो । ०७८÷०७९ मा २५ बेडबाट बढाएर ५० बेडको अस्पतालका लागि स्वीकृत गरिएको थियो ।
अस्पतालमा बिरामीको संख्या बढ्नु राम्रो होईन तर भीम अस्पतालप्रति सर्वसाधारणको बिश्वास बढेको कारण अन्यत्र उपचारका लागि जाने बिरामी आउने क्रम बढेको मेडिकल सुपरिटेण्डेन्ट शकुन्तला गुप्ताले बताइन ।