![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/KTM2025-02-10-05-45-37.jpeg)
दरबारमार्गको पैदल मार्गमा काठमाडौं महानगरले ग्रेनाइड बिछ्याउन थालेको छ। आज महानगरपालिकाको अनुगमन समितिले उक्त कार्यको निरीक्षण गरेको छ।
निरीक्षणका क्रममा समितिका संयोजक एवं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले ग्रेनाइड सेटिंको निरीक्षण गर्दै पैदलमार्ग यात्रीमैत्री हुनुपर्ने बताइन्। उनले सडकमा भएका रुखहरूको संरक्षणका विषयमा अधिकारीहरूसँग जिज्ञासा राखेकी थिइन्।
त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, निर्माण प्रक्रियाको निरीक्षण गर्दै ग्रेनाइडको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम नहुने बताए।
नारायणहिटी संग्रहालयअगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइड लगाइँदै छ। सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा तीन मिटरदेखि बढीमा ६ मिटरसम्म छ।
सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ। त्यसभन्दा माथि ब्रिक सोलिङ गरिएको छ। त्यसभन्दा माथि पिसिसी ढलान गरिएको छ। त्यसभन्दा माथि ग्रेनाइट बिछ्याइन्छ। यो १६ एमएमसम्मको हुनेछ।
सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिले काम गरिरहेको हो। ६ चैत ०८० निर्माण पक्षसँग सम्झौता भएको हो। योजनाको अवधि यही माघ मसान्तसम्म हो।