
घरपरिवारको खुसी र थोरै–धेरै आर्थिक जोहोको सपना बोकेर रुसी सेनामा भर्ती भएका ओमबहादुर मगर युद्ध लड्दालड्दै मैदानमै अस्ताए । युक्रेनसँगको युद्धमा ओमबहादुरको भौतिक शरीरसँगै सपना पनि बिलाए । अहिले ओमबहादुरको परिवारसँग न बस्ने वास छ, न त खाने गाँस नै । छोराछोरी पढाउने विन्दुकुमारीको आस पनि मर्दै छ ।
मदन भण्डारी लोकमार्गको उदयपुरको कटारी नगरपालिका– ५, भुल्के खण्डको छेउमै जस्तापाताले छाएको, माटोले लिपपोत गरेको सानो टहरो छ । त्यही टहरोमा सानो किराना पसल पनि छ । त्यही किराना पसल चलाएर बस्छिन्, ३६ वर्षीया विन्दुकुमारी मगर । तीन छोरी र एक छोराकी आमा विन्दुकुमारीसँग शनिबार एक छोरी र एक छोरा मात्रै साथमा थिए । ‘श्रीमान् रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध लड्न जाँदा बित्नुभयो । घरको आर्थिक अवस्था दयनीय भएपछि ठुली छोरी कक्षा आठको पढाइ छाडेर घरको काम गर्न आफन्तसँग साथ लागेर भारत गएकी छिन्,’ उनले भनिन् ।
विन्दुकुमारीसँग साथमा अहिले १४ वर्षीया अमृता मगर (माइली छोरी), ११ वर्षीया कान्छी छोरी हिना मगर र फागुनदेखि दुई वर्ष पुग्न लागेका नाबालक छोरा हेमन्त छन् । ‘माइली छोरी अमृता कक्षा सातमा खेलकुदसम्बन्धी तालिम गर्दै बेल्टारमा निःशुल्क पढ्दै छिन् । कान्छी छोरी हिना कटारीकै एक बोर्डिङ स्कुलमा कक्षा पाँचमा पढ्दै छिन् । कान्छी छोरीको बोर्डिङको पैसा तिर्न नसकेर स्कुलबाट झिक्न पाएको छैन, छोरो कसरी पढाउने चिन्ता छ,’ दुखेसो पोख्दै उनले भनिन् । बोर्डिङबाट झिकेर कान्छी छोरीलाई सरकारी स्कुलमा पढाउन मन लागे पनि बोर्डिङले पैसा नतिरीकन झिक्न दिएको छैन ।
गत २६ वैशाख ०८१ मा विन्दुकुमारीलाई रुसी सेनामा भर्ती भएका श्रीमान् ओमबहादुरको युक्रेन युद्धमा मृत्यु भएको खबर आएको थियो । उनलाई सो खबर ओमबहादुरका साथी शंकर खड्काले फोन गरेर दिएका थिए ।
३९ वर्षीय श्रीमान् ओमबहादुरसँग मृत्यु हुनु ११ दिनअघि विन्दुकुमारीको सम्पर्क भएको थियो । ‘मलाई फोन गरेर सात दिनका लागि लडाइँमा जाँदै छु भन्नुभएको थियो । त्यसपछि उहाँको फोन आउनै छाड्यो,’ उनले आँखाभरि आँसु पार्दै भनिन् ।
ओमबहादुरको शव ल्याउन नपाएपछि कुशको शव बनाएर काजकिरिया गरेको उनले बताइन् । आफूसँगको कुराकानीमा ओमबहादुरले ऋण खोजेर भए पनि आफूलाई निकाल्न भनेको विन्दुकुमारीले बताइन् । ‘मसँगै रुसी सेनामा भर्ती भएका अन्य नेपालीहरू पनि मरिसके । मलाई पनि बाँच्न गाह्रो छ । अब म यहाँ बस्न सक्दिनँ । नेपाल फर्कन्छु । ऋण खोजेर भए पनि मलाई निकाल,’ ओमबहादुरको भनाइ उद्धृत गर्दै उनले भनिन् ।
ओमबहादुरले रुसी सेनामा जान एजेन्टलाई नौ लाख रुपैयाँ बुझाएका थिए । त्यसमा टिकटलगायत खर्च दुई लाख लागेको थियो । ११ लाख ऋण पुगेपछि विन्दुकुमारीले श्रीमान्लाई नेपाल ल्याउन अरू ऋण खोज्न लागेकी थिइन् । तर, उनी युक्रेनकै भूमिमा सदाका लागि अस्ताए ।
१४ वर्ष नेपाली सेनामा जागिर गरेर बिचमै छाडेका ओमबहादुरले रुसी सेनामा भर्ती हुनुअघि वैदेशिक रोजगारीकै नाममा ६ लाख डुबाएका थिए । त्यसपछि विदेशकै चक्करमा उनले दलाललाई पैसा बुझाएर ४ कात्तिक ०८० मा रुसी सेनामा भर्ती हुन उडेका थिए ।
‘रुसी सेनामा भर्ती भएर पनि लगभग ६ लाखजति पठाउनुभएको थियो । त्यो केही राहत भएको थियो । परिवारमा ऋण नै ऋण भएपछि रुसी सेनामा भर्ती हुन जानुभएको थियो,’ विन्दुकुमारीले भनिन् ।
आफन्तको ऐलानी जग्गामा टहरो बनाएर बसेकी विन्दुकुमारीको अहिले परिवार पाल्ने स्रोत भनेको भारतबाट जेठी छोरी कृष्णकुमारीले मासिक रूपमा पठाउने १५–२० हजार रुपैयाँ र किराना पसलको आम्दानी हो । ‘हाम्रो खेतबारी पनि छैन, उहाँ (श्रीमान् ओमबहादुर)ले नेपाली सेनामा हुँदा कमाउनुभएको जागिरको पैसा पनि केटाकेटी पाल्न र घर चलाउनमै सकियो,’ उनले भने ।
श्रीमान्को कमाइ पर्खेर बसेकी विन्दुकुमारी अहिले श्रीमान्को मृत्युको खबरले विक्षिप्त बनेकी छिन् । श्रीमान्लाई रुस पठाउँदा लागेको ऋण र रुस जानुभन्दा अघि लागेको ऋणको चपेटामा छिन् । ‘रुसी सेनामा भर्ती भएर युद्धमा मर्नेहरूले क्षतिपूर्ति रुसी सरकारले दिन्छ भन्ने सुनेको छु । त्यो आयो भने ऋण तिर्न सक्छु कि । नत्र अबका दिनमा न बस्ने स्थायी वास छ, न खाने गाँस, छोराछोरी पढाउने आस पनि मर्यो मेरो,’ उनले भनिन् ।
श्रीमान्को काजकिरिया गर्ने पैसा आफन्त र ओमबहादुरका साथीहरूले पठाइदिएको उनले बताइन् । ‘नेपालमा शव ल्याउन धेरै खर्च लाग्ने रहेछ, कहाँबाट पैसा ल्याउनु, छरछिमेकले पनि अब शव ल्याएर के गर्नु भने । उतै दाहसंस्कार गर्ने अनुमति दिनु भने, दिएँ,’ विन्दुकुमारीले भनिन् । उनले रुसी सेनामा भर्ती भएर युद्धमा मृत्यु हुनेका नेपाली परिवारले क्षतिपूर्ति पाउने कुरा सुनेकी छिन् । तर, उनलाई अझै विश्वास लागेको छैन ।
कमाउन गएका ओमबहादुरको मृत्युपछि यता विन्दुकुमारीलाई चुलो बाल्नै धौधौ छ । ओमबहादुरले पैसा पठाइन्जेल तीनै छोरी स्कुल गइरहेका थिए । अहिले परिवार तितरवितर भएको छ । ओमबहादुरको मृत्युको खबरपछि ऋण र ब्याज माग्दै साहुहरू दिनदिनै घरमै आउन थालेको विन्दुकुमारीले बताइन् । ‘साहुहरू ऋण र ब्याज माग्दै घरमै आउन थाल्नुभएको छ । के गरी तिर्नु,’ उनले भनिन् ।
ओमबहादुरको मृत्युपछि क्षतिपूर्तिका लागि काठमाडौंमा रुसी सेनाको परिवारलाई सहजीकरण गर्दै आएकी कृतु भण्डारीलाई भेट्न गएको र त्यसपछि आफूसँग भएको कागजात राखेर क्षतिपूर्तिका लागि कन्सुलर विभागमा पठाएको विन्दुकुमारीको भनाइ छ । ‘मृत्यु भएको भनेको छ, शव देखेको छैन, कतै जिउँदो नै आउनुहुन्छ कि जस्तो पनि लाग्छ । घरीघरी मोबाइल फोन पनि हेरिरहन्छु । फोन आउँछ कि जस्तो लाग्छ । शव नदेखेसम्म मान्छे जिउँदो नै छ कि भन्ने आस हुँदोरहेछ,’ उनले भनिन् ।
आफन्तको ऐलानी जग्गामा बसिरहेकी उनले स्थायी बसोवास र छोराछोरी पढाउने बाटो खोजिरहेकी छिन् । ‘पुख्र्यौली सम्पत्ति पनि छैन, छोराछोरी पढाउन कुनै संघसंस्थाले सहयोग गरे पनि हुन्थ्यो,’ उनले भनिन् ।
गत वैशाखमै मृत्यु भएका भनिएका श्रीमान्को मृत्युको आधिकारिक जानकारी उनले पुसमा मात्र पाएकी थिइन् । ‘मान्छे मरेको आधिकारिक खबर पाउन १० महिना लाग्यो । क्षतिपूर्ति कहिले पाउने हो ! अबको सहारा नै क्षतिपूर्ति हो । यसमा नेपाल सरकारले छिटो गरी क्षतिपूर्ति पाउने गरी व्यवस्था मिलाइदिए पनि हुन्थ्यो,’ उनले बताइन् ।