मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o८१ माघ २६ शनिबार २o:४४:oo
Read Time : > 1 मिनेट
सप्तरंग

जनकपुर साहित्य महोत्सव सम्पन्न 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार २o:४४:oo

जनकपुर साहित्य महोत्सवको छैटौँ संस्करण सम्पन्न भएको छ । महोत्सवको तेस्रो अर्थात् अन्तिम दिन शनिबारको प्रमुख आकर्षण ‘मधेशको मत’ सत्रमा मधेशको राजनीति, जनचेतना र बदलिँदो सामाजिक संरचनामाथि गहन विमर्श भएको थियो । यस सत्रमा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टाराई, डा. अमरेश सिंह र जसपा नेपालका प्रवक्ता तथा प्रदेश सांसद मनीष सुमनले मधेशको वर्तमान राजनीतिक अवस्थादेखि सामाजिक संरचनाका विभिन्न पक्ष उजागर गरेका थिए ।

नेता भट्टराईले मधेशको बदलिँदो सामाजिक संरचनालाई विश्लेषण गर्दै समावेशिता, लैंगिक समानता र समुदायबिचको समन्वयमा केन्द्रित रहेर विचार राखेका थिए । उनले भने, ‘मधेशमा सामाजिक रूपान्तरणका लागि भएको आन्दोलनले ठुला उपलब्धिहरू हासिल गरे पनि सामाजिकस्तरमा समानता र समावेशिताको पूर्णतः कार्यान्वयन हुन सकेको छैन । विशेष गरी लैंगिक समानता र सामाजिक न्यायको क्षेत्रमा अझै धेरै चुनौतीहरू छन् ।’

मधेशको सामाजिक संरचना बदलिँदै गए पनि सामाजिक आर्थिक असमानता, जातीय विभाजन र लैंगिक असमानताको समस्या अझै गहिरो रहेको उनको भनाइ थियो ।  
प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले मधेशको विकासमा शिक्षा र स्वास्थ्यको भूमिका उजागर गर्दै यस क्षेत्रमा आवश्यक सुधार र नीतिगत परिवर्तनबारे विचार राखेका थिए । उनले मधेशमा शिक्षाको पहुँच, गुणस्तर र स्वास्थ्य सेवाको उपलब्धता र गुणवत्ता सुधारका लागि सरकारी प्रयासहरू अपर्याप्त भएको बताउँदै सामाजिक न्याय र समान अवसर प्रदान गर्न यी दुवै क्षेत्रको सुधार अपरिहार्य रहेको बताए । ‘मधेशी जनताले यस्ता आधारभूत सुविधाहरूमा सहज पहुँच नपाउँदा समृद्धिका योजना केवल दस्तावेजमा सीमित भइरहेका छन्,’ उनले भने ।

त्यसैगरी, प्रवक्ता सुमनले मधेशको राजनीति अहिले गहन परिवर्तनको मोडमा रहेको बताउँदै मधेशी समुदायको राजनीतिक सहभागिता, संघीयताको कार्यान्वयन र समावेशी नीतिहरूको प्रभावकारितामाथि धारणा व्यक्त गरे । उनले मधेशी जनतामा विद्यमान असन्तोष, राजनीतिक व्यवस्थाप्रतिको भरोसाको कमी र विकेन्द्रीकरणको क्रममा देखिएका अवरोधहरूबारे विस्तृत विश्लेषण प्रस्तुत गरेका थिए । 

आजै सम्पन्न ‘संविधान, संघीयता र कानूनी राज्यको अभ्यास’ सम्बन्धी सत्रमा प्रमुख वक्ता पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठले नेपालको संघीय संरचना, कानूनी राज्यको अवस्था र संविधानको कार्यान्वयनमा भएका चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरेका थिए ।

श्रेष्ठले नेपालले संघीय संरचना अपनाएको दशक लामो यात्रा अवधिमा संविधान कार्यान्वयनमा देखिएका चुनौतिहरूको गहन चित्रण गरेका थिए । संविधानको सफल कार्यान्वयनको लागि सरकारको दृढता र जनप्रतिनिधिहरूको इमान्दारी आवश्यक रहेको उनको भनाइ थियो । 

त्यसैगरी, ‘समाज, साहित्य र सिनेमा–३ ‘स’ को अन्तरसम्बन्ध र ‘सीता : बियाहक संस्कार आ परम्पराके समृद्ध साझा धरोहरक प्रतिरूप’ विषयमा महत्त्वपूर्ण सत्र भएको थियो ।