![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/dr.-dewuwa2025-02-08-07-58-25.jpeg)
परराष्ट्रमन्त्री एवं कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले जातीय मुक्ति र जनजातिको अधिकार स्थापनामा कांग्रेसले धेरै काम गरेको तर प्रचार नगरेको बताएकी छन् । कांग्रेस थारु विभाग र नेपाल थारु संघको संयुक्त आयोजनामा आज कैलालीमा आयोजित प्रथम कैलाली जिल्ला भेलालाई सम्बोधन गर्दै राणाले यस्तो बताएकी हुन् ।
राणाले भनिन्, ‘नेपाली कांग्रेसले नेपालमा जातीय मुक्ति एवं जनजातिको अधिकार स्थापित गर्ने क्षेत्रमा धेरै काम गरेको छ तर आफूले गरेका कामको प्रचार कहिल्यै गर्दैन ।’ कांग्रेस नेपालका सबै जाति, जनजाति, दलित, मधेशी एवं थारुलगायत सबैको साझा पार्टी भएको र यी समुदायको अधिकार स्थापित गर्न विगतदेखि नै काम गरेको उनले बताइन् ।
उनले भनिन्, ‘विपी कोइरालाले उहिल्यै परशुनारायण चौधरीलाई पार्टीको महामन्त्री बनाउनुभएको थियो भने अहिले पनि पार्टीले थारु विभाग नै गठन गरेको छ । राज्यका महत्वपूर्ण स्थानमा थारु समुदायका व्यक्तिलाई पुर्याउन कांग्रेसले विगतदेखि नै काम गरेको छ ।’
कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला ०५८ मा कमैया मुक्तिका साथै महिला आयोग र दलित आयोग गठन गरेको प्रसंग उल्लेख गर्दै राणाले भनिन्, ‘नेपालमा सामाजिक आन्दोलनका क्षेत्रमा कांग्रेसले धेरै काम गरेको छ तर यसको प्रचार गर्ने काम भने कहिल्यै पनि गर्दैन ।’
आफू पनि बर्दियाको थारु बस्तीमै हुर्किएको स्मरण गर्दै परराष्टन्मन्त्री राणाले नेपालका थारु समुदायलाई इमान्दार, संस्कृति र परम्पराका धनी तथा आफ्ना काममा प्रतिबद्ध जातिका रुपमा चिनेको पनि उल्लेख गरिन् ।