नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेरास्ववियु (क्रान्तिकारी)को चुनावले विद्यार्थी नहुने, तर नेता हुने स्थितिको अन्त्य गरेको बताएका छन्।
अनेरास्ववियु क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको शपथ तथा पदभार ग्रहण कार्यक्रममा उनले यसबाट माओवादीले नीति र नेतृत्व दुवै लोकतान्त्रिक विधिबाट टुंग्यायो भन्ने शक्तिशाली सन्देश प्रवाहित भएको बताए।
'उमेर हद र नेतृत्व दुवैमा निर्वाचनबाट नै टुंगो लगाउनुपर्छ भनेर दृढतापूर्वक लागेर पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुंगो लगाउनु महत्त्वपूर्ण अभ्यास हो,' अध्यक्ष दाहालले भने, 'अहिले आएको परिणामले मिलेर अघि बढ्ने र संगठनलाई एकताबद्ध बनाउने वातावरण बनेको छ।'
आगामी स्ववियु निर्वाचनमा श्रेष्ठता हासिल गर्न आग्रह गर्दै उनले स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन र एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न आग्रह गरे। अध्यक्ष दाहालले अखिल क्रान्तिकारीको नयाँ केन्द्रीय समितिका अगाडि स्ववियु निर्वाचन महत्त्वपूर्ण चुनौतीको रूपमा आएकोसमेत बताए।
त्यस अवसरमा निवर्तमान अध्यक्ष पञ्चा सिंहले नवनिर्वाचित अध्यक्ष विजयप्रकाश शर्मा सापकोटालाई कार्यभार हस्तान्तरण गरे। यही माघ १२ गते सम्पन्न निर्वाचनबाट केन्द्रीय पदाधिकारी, केन्द्रीय सचिवालय, केन्द्रीय सदस्य एवं केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य निर्वाचित भएका थिए।