![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/sign2025-02-08-06-48-22.jpeg)
बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले १७औँ वार्षिकोत्सवको अवसरमा साइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिता गर्ने भएको छ । रन टू साइन भन्ने नाराका साथ साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले ११ फागुनमा प्रतियोगिता आयोजना गर्न लागेको हो।
बैंकले शनिबार बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी बैंकको १७औँ वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रूपमा रहेको १० किलोमिटरको राष्ट्रियस्तरको दौड प्रतियोगिताको सुरुवात गर्न लागेको जानकारी गराएको छ । राष्ट्रियस्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशी पाँच लाख रुपैयाँ राखिएको छ। प्रतियोगितामा खुला, स्थानीय ५० वर्षसम्म र स्थानीय ५० वर्षभन्दा माथिको गरी तिन विधा रहेका छन्।
प्रतियोगिताको पुरुष तथा महिला विधाका विजेता धावकले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चाैथो हुनेले १५ हजार र पाँचौँ हुनेले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यस्तै, स्थानीय धावकको सहभागिता बढाउन पाँच किलोमिटरको दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिको गरी दुई विधा राखिएको छ। विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चाैथोले दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले वित्तिय क्षेत्रमा १६ वर्षदेखि सेवा उपलब्ध गराउँदै आएको र सामाजिक रूपमा विभिन्न सामाजिक क्रियाकलापमा समेत अग्रणी रहेको बताए। यही क्रममा खेलकुदमार्फत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यसहित राष्ट्रियस्तरको दौड प्रतियोगिता घोषणा गरेको बताए।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा धावकले साइन रेसुंगा डेभलपमेन्ट बैंकको आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लुडटएसआरडिबिडटकमडटएनपीमा गई नाम दर्ता गर्न सक्ने छन्।
दौड बैंकको केन्द्रीय कार्यालय कालिकानगरबाट सुरु भएर मणिग्राम चोक हुँदै पुनः केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ। राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगितामा स्थानीय पालिकाहरूको समेत समन्वय र सहकार्य हुनेछ।