![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/c2025-02-07-08-46-26.jpeg)
परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले कांग्रेसका कार्यकर्तालाई नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र गणेशमान सिंहको संघर्ष सम्झेर काम गर्न आग्रह गरेकी छिन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीको दोस्रो जिल्ला सम्मेलनको आज धनगढीमा उद्घाटन गर्दै उनले भनिन्, ‘नेपाली कांग्रेस पार्टी आफैँ नेपाली जनताको ठुलो र साझा पार्टी बनेको होइन, यसका पछाडि नेताहरूको ठुलो संघर्ष, त्याग र बलिदान रहेको छ, त्यसलाई हामीले सदा स्मरण गर्नुपर्छ ।’
राणाले नेपाली कांग्रेसलाई यहाँसम्म ल्याउन यस पार्टीका नेता तथा अग्रजहरूको ठुलो योगदान र बलिदान रहेको स्मरण गरिन् ।
उनले बिपी कोइरालाले पञ्चायतले दिएको त्यो दुःखका बाबजुद पनि पार्टीका लागि आफ्नो जीवन नै बलिदान दिन पछि नपरेको तथा गणेशमानजस्ता योद्धाले काठमाडौंको सम्पन्न परिवारमा जन्मिएर पनि सुखसयल छोडेर आफ्नो जीवन नै पार्टीमा अर्पण गरेको प्रसंग उल्लेख गर्दै पार्टी निर्माणमा उहाँहरूका यी संघर्षलाई प्रेरणाको रूपमा लिनुपर्ने धारणा राखिन् ।
अहिलेको पुस्ताले सकारात्मक ऊर्जा, सिर्जनशीलता र मैले समाज र मुलुकका लागि केही गर्छु भन्ने अठोटका साथ लाग्ने र आफूले आँटेको काम सम्पन्न नहुँदासम्म निरन्तर प्रयासरत रहनुपर्ने पनि उनको भनाइ थियो ।
आफू एनजिओमा काम गरेर पनि नेपाली आमाहरूको स्वास्थ्य, उनीहरूमा सामाजिक न्याय र अधिकारका क्षेत्रमा लागेर काम गर्न वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको प्रेरणा रहेको प्रसंग पनि उनले उल्लेख गरिन् ।
राणाले नेपाली कांग्रेसको जीवनमा वर्तमान सभापति शेरबहादुर देउवाको संघर्ष पनि कम नरहेको स्मरण गर्दै सधैँ जनता र पार्टीका लागि काम गर्ने भएकाले नै सभापति देउवा अहिले पनि राजनीतिमा सक्रिय रहेको भन्दै प्रशंसा गरिन् ।
पार्टीमा अरूले धेरै पाए, मैले केही पाइनँ भन्ने भावना कहिल्यै राख्न नहुने बताउँदै राणाले राजनीति समाजसेवा भएकाले फलको आशा नगरीकनै कर्म गर्न प्रत्येक नागरिक आफैँ जागरुक हुनुपर्ने बताइन् । अहिलेका सामाजिक सञ्जालहरूमा जताततै नकारात्मकता मात्र फैलिने गरेको आफूले देखेको र नेपालमा केही हुँदैन, यहाँ केही छैन भन्नेजस्ता भाष्य निर्माण गरिएको उल्लेख गर्दै, तर यहाँ सबथोक छ र हामीले यहीँ धेरै गर्न सक्छौँ भन्ने सकारात्मक भावना बोकेर अहिलेको युवा पुस्ताले राजनीति गर्नुपर्ने उनको सुझाव थियो ।
पार्टीमा होस् या सरकारमा, सानो होस् या ठुलो आफूले पाएको भूमिकालाई सकारात्मक रूपले लिएर सफलतापूर्वक सम्पन्न गर्नेतर्फ लाग्नु नै पार्टीका हरेक कार्यकर्ताको कर्तव्य हो भन्दै राणाले आफूले पनि सदैव पार्टीले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने गरेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।