मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका संखुवासभा
२o८१ माघ २४ बिहीबार १७:४५:oo
Read Time : < 1 मिनेट
समाचार

संखुवासभाको भोटखोलाबाट सुत्केरी व्यथा लागेकी महिलाको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १७:४५:oo

सखुवासभाको दुर्गम तथा विकट क्षेत्र भनेर चिनिने भोटखोलाबाट सुत्केरी व्यथा लागेको एक महिलाको बिहीबार उद्धार गरिएको छ।

भोटखोला गाउँपालिका–४, नामासेका ३६ वर्षीया याङजम भोटेलाई सुत्केरी व्यथा लागेको करिब १८ घण्टापछि हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको भोटखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले बताए। उनका अनुसार याङजमलाई व्यथा लागेपछि बुधबार स्थानीय नामासे सामुदायिक स्वास्थ्य इकाइमा भर्ना गरिएको थियो। लामो समयसम्म व्यथा लागेपछि अवस्था जटिल बन्दै गएकाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंस्थित थापाथली प्रसूति गृहमा पठाएको प्रमुख प्रशासकीय अधिकृत भोटेको भनाइ छ।

याङजम पहिलोपटक आमा बन्न लागेकी थिइन्। उनलाई बिहीबार दिउँसो करिब १ बजे हेलिकोप्टरबाट काठमाडौं पठाएको भोटेले बताए। 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो स्थान अझै यातायातको सहज पहुँच पुगेको छैन। सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ।