हमासका लडाकु समूहले युद्धग्रस्त गाजापट्टीमा करिब १६ महिना बन्धक बनाएका इजरायली बन्धक यार्डेन बिबास, ओफर काल्डेरोन र किथ सिगेललाई शनिबार रिहा गरेको छ। युद्धविराम सम्झौताअनुसार इजरायलले बन्धक रिहाइको बदलामा १८० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीहरूलाई पनि छोडेको छ।
इजरायलले शनिबार छाड्नेमा एक सयभन्दा बढी प्यालेस्टिनी बन्दीहरू गाजाका छन् र ७० जनाभन्दा बढी लामो अवधिको सजाय वा आजीवन कारावास सजाय तोकिएका व्यक्ति हुन्।
इजरायल र प्यालेस्टिनी इस्लामिक समूह हमासबिच १९ जनवरीदेखि लागू भएको युद्धविराम र बन्धक-बन्दी आदानप्रदान सम्झौताअन्तर्गत मुक्त हुने बन्धकहरूको यो चौथो समूह हो।
प्यालेस्टिनी समूह हमासले दक्षिणी गाजाको खान युनिसबाट रेडक्रसलाई बुझाइएका ३४ वर्षीय यार्देन बिबास र फ्रान्सको समेत नागरिकता भएका ५३ वर्षीय ओफर काल्दरोन इजरायल आइपुगेको इजरायली सुरक्षा बल (आइडिएफ)ले जनाएको छ।
अर्का बन्धक ६५ वर्षीय किथ सिगललाई भने शनिबार नै गाजासिटीबाट मुक्त गरिएको थियो । उनको इजरायल र अमेरिकाको दोहोरो नागरिकता रहेको छ। उनीहरू १९ जनवरीमा इजरायल र हमासबिच युद्धविराम सम्झौता भएयता चौथो चरणमा छाडिने बन्धक हुन्।
यसैबिच, बिबासकी श्रीमती र दुई छोराहरूको बन्धक अवस्थामै गाजामा मृत्यु भएको भनिएको घटनाबारे इजरायलले मध्यस्थकर्ताबाट स्पष्ट जानकारी मागेको छ । बन्धक बनाइँदा बिबासका एक छोरा चार वर्षका र अर्का १० महिनाका थिए।
हमासले इजरायली हवाइ हमलामा परेर सन् २०२३ नोभेम्बरमा उनीहरूको मृत्यु भएको दाबी गरे पनि इजरायलले त्यसको अझै पुष्टि गरेको छैन।