हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता भएको आगलागी तथा हावाहुरीले दुई दर्जनभन्दा बढी भौतिक संरचनामा क्षति पुयार्एको छ । पछिल्लो २५ दिनमा आगलागीबाट १२ र हावाहुरीले १७ गरी २९ स्थानका भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत २३ पुसदेखि १९ माघसम्म विभिन्न स्थानमा आगलागी तथा हावाहुरीका घटनाहरू भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । हावाहुरीका कारण सातवटा घरको छानो उडाएको छ भने एउटा गुम्बा, तीनवटा गोठ, एउटा सरकारी कार्यालय, चार स्थानको सोलार प्यानल र एउटा विद्यालयको छानो उडाएर क्षति भएको छ ।
त्यसैगरी, आगलागीले चारवटा घर, एउटा गोठ जलेर नष्ट भएका छन् भने चारवटा सामुदायिक वन र तीनवटा निजी वनमा डढेलो फैलिएको छ । प्रहरीको तथ्यांकअनुसार हावाहुरीका घटना खुम्बु पासाङल्हामु गाउँपालिकामा १४ र सोलुदुधकुण्ड नगरपालिकामा तीनवटा भएका छन् । त्यस्तै, आगलागीका घटना सोलुदुधकुण्डमा पाँच, सोताङमा तीनवटा, महाकुलुङमा एउटा, माप्यदुधकोशीमा दुई र नेचासल्यानमा एउटा दर्ता भएका छन्।
सबैभन्दा गम्भीर घटना सोलुदुधकुण्ड नगरपालिका–२, थुम्लिङमा २४ पुस राति भएको थियो। उक्त आगलागीमा परी टाक्सिन्दुनिवासी नवराज खालिङ राईको ज्यान गएको प्रहरीले जनाएको छ। सोलुखुम्बुमा पछिल्लो केही दिनयता हावाहुरीले ठुलो क्षति गराइरहेको छ। माघमा चलेको बेमौसमी हावाहुरीका कारण जिल्लाका विभिन्न ठाउँमा संरचनाहरूमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए।
‘माघ लागेपछि चलेको तीव्र गतिको हावाले जिल्लामा सरकारी संरचनासहित निजी संरचनाहरूमा पनि क्षति पुर्याइरहेको छ । सबैभन्दा बढी क्षति खुम्बुमा गरेको छ, हावाका कारण आगलागी तथा डढेलोको घटनामा पनि त्यतिकै बढेको छ,’ उनले भने ।
हावाहुरीको सबैभन्दा बढी चपेटामा सगरमाथा क्षेत्र परेको छ । जहाँ पछिल्लो पाँच दिनमा १४ वटा संरचनामा क्षति पुर्याएको स्थानीय प्रहरीले जनाएको छ । यसैबिच प्राकृतिक विपदबाट प्रभावित स्थानीयवासीका लागि तत्काल राहत र पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सरोकार भएका निकायहरूले बताएका छन् । रासस