महिलातर्फ साबिक विजेता सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र पुरुषतर्फ नेपाल प्रहरीको नेपाल पुलिस क्लब पोखरामा जारी पाँचौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता ०८१ को फाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार सम्पन्न महिलातर्फको क्वालिफायरमा एपिएफले आयोजक टाइगर ग्रुपलाई ३–१ को सेटमा र पुरुषतर्फको क्वालिफायरमा विभागीय डर्बीमा पुलिसले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गदै अन्तिम दुईमा स्थान सुरक्षित गरेका हुन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना एवं एनसेलको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत उपाधिका लागि अब एपिएफले आयोजक र न्यु डायमन्ड स्पोर्टस् क्लबबिच शुक्रबार हुने खेलको विजेतासँग आइतबार भिड्नेछ भने पुरुषतर्फ पुलिस गण्डकी प्रदेश र आर्मीबिच शनिबार हुने खेलको विजेतासँग आइतबार हुने फाइनलमा उपाधिका लागि भिड्नेछ ।
डिफेन्डिङ च्याम्पियन एपिएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेटमा भने २१–२५ ले पछि परेको थियो । त्यसपछिको तेस्रो सेट २५–१९ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पार्दै एपिएफ उपाधि नजिक पुगेको हो । खेलमा निरुता ठगुन्ना टाइगर अफ द म्याच र सरस्वती चौधरी स्पाइकर अफ दी म्याच घोषित भएकी थिइन् । हारसँगै अब आयोजकले फाइनल प्रवेशका लागि शनिबार न्यु डायमन्ड स्पोर्टस् क्लबसँग भिड्नेछ ।
पुरुषतर्फको खेलमा पुलिसले २५–१४ ले पहिलो सेट आफ्नो पक्षमा पारे पनि दोस्रो सेटमा भने २२–२५ ले पछि परेको थियो । तेस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको पुलिस चौथो सेटमा भने २३–२५ ले आर्मीसँग पराजित भएको थियो । खेलको अन्तिम एवं निर्णायक पाँचौँ सेटमा १५–१२ ले आर्मीलाई पछि पार्दै पुलिसले अन्तिम दुईमा स्थान बनाएको हो । हारसँगै अब फाइनल प्रवेशका लागि आर्मी शनिबार गण्डकी प्रदेश सँग भिड्नेछ ।
प्रतियोगिताअन्तर्गत पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश र पाहुन टोली भारतको सुनिल भलिबल क्लबबिचको एलिमिनेटरमा जित हात पार्दै गण्डकी क्वालिफायरमा प्रवेश गरेको छ । गण्डकी अब फाइनल प्रवेशका लागि शनिबार आर्मीसँग भिड्नेछ । खेलमा पहिलो सेट ३१–३३ ले पछि परेको गण्डकी त्यसपछिको दोस्रो सेट २५–१७, तेस्रो सेट २५–१६ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
यसो भन्छन् प्रशिक्षकहरू :
रमेश केसी, गण्डकी : सुरुको पहिलो सेटमा हामी पछि परेका थियौँ । पहिलो सेटमा हाम्रो कम्बिनेसन केही नमिलेका कारण पछि पर्याैँ । त्यसपछि खेलमा भएको कमी–कमजाेरीहरू सुधार गरी मैदानमा प्रस्तुत भयौँ र जित्यौँ पनि । अब शनिबार अझै मिहिनेत गरी खेल्नेछौँ ।
चन्द्र कुँवर, पुलिस : खेलमा केही तालमेल मिलेन, नयाँ खेलाडीलाई मैदानमा उत्तार्दा केही कठिनाइ भयो, तैपनि उनीहरूले राम्रो खेल प्रदर्शन गरे । चौथो सेटमा जित हात पार्छाैँ भन्ने थियो, तर पाँच सेटमा नै जानुपर्याे । खेल निकै प्रतिस्पर्धात्मक भयो । आर्मीजस्तो बलियो टोलीलाई पराजित गर्न सक्यौ । भएका कमी–कमजाेरीहरूलाई सुधार गर्दै फाइनलमा प्रदर्शन गर्ने गरी तयारी गर्छौँ ।
लेकेश बम, आर्मी : आज खेल राम्राे खेलेको हो । टोलीले जुन लयमा खोल्नुपर्ने थियो सोही लयमा खेलिरहेको छ, लयभन्दा बाहिर गएको छैन । खेलमा हार–जित भइहाल्छ । पाँच सेटमा हार्नु नराम्रो हाेइन । शनिबारको खेलमा मिहिनेत गरी खेल्छौँ । उपाधिका लागि हाम्रो यात्रा अझै बाँकी छ ।
महेश चौधरी, एपिएफ: हामी यस अघि हिजो, अस्ती जुन लयमा थियौ आज सो अनुसार खेल्न सकेनै । विशेष गरि आज हाम्रो रिसिभमा धेरै कम्जोरी देखियो । सगै ब्लक र सर्भिसमा समेत आज धेरै कम्जोरीहरु भए । हिजो अस्तिको जस्तो प्रर्दशन गर्न सकेको भए सोझो सेटमा जित निकल्न सक्ने अवस्था थियो, कम्जोरीका कारण सकेनौ । अव फाईनल खेलमा भएका कमि कम्जोरी सुधार गरि खेल्छौ ।