
भारत सरकारले आसामकी साहित्यकार गीता उपाध्याय र सिक्किमका लोक कलाकार तथा सांस्कृतिक प्रतिभा नरेन गुरुङलाई पद्मश्री पुरस्कार दिने निर्णय गरेको छ । उनीहरूलाई केही दिनपछि भारतका राष्ट्रपति द्रौपदी मुर्मूले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा पुरस्कार दिने कार्यक्रम छ ।
हरेक वर्ष गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतले विभिन्न विधामा योगदान पुर्याएका व्यक्तित्वलाई पद्मश्री पुरस्कार घोषणा गर्छ । भारतको गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिसमक्ष पद्मश्री पुरस्कारका लागि सिफारिस गरेको हो । सिक्किमेली नेपाली लोकसंगीत र नृत्य परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याएकोमा गुरुङलाई कला (गायन–लोक नेपाली) क्षेत्रमा योगदानको कदरस्वरूप सम्मान गरेको हो ।
आसामकी वरिष्ठ नेपाली साहित्यकार एवं प्रोफेसर गीता उपाध्यायले पनि पद्मश्री सम्मान पाउने भएकी छिन् । साहित्य र शिक्षाको क्षेत्रमा उनको योगदानका लागि उनलाई यो सम्मानले सम्मानित गरिएको हो ।
यसअघि सन् २०२० मा सोही सम्मानले आसामका वरिष्ठ आख्यानकार लीलबहार क्षेत्री सम्मानित भएका थिए । ‘उत्तर–पूर्वाञ्चलबाट पद्मश्रीजस्तो सर्वोच्च सम्मानले सम्मानित हुने पहिलो गोर्खा सन्तान लीलबहादुर क्षेत्री हुन् भने गीता उपाध्याय भारतभरिकै पहिलो गोर्खा नारी हुन्’ सिक्किममा कार्यरत पत्रकार प्रकाश अधिकारीले भने ।