मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ माघ १२ शनिबार
  • Wednesday, 13 August, 2025
रञ्जन भण्डारी महाेत्तरी
मोहन विष्ट कञ्चनपुर
२o८१ माघ १२ शनिबार o९:५२:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

उखु : पैसाको बोट

एकै सिजनमा करोडसम्म आम्दानी

Read Time : > 3 मिनेट
रञ्जन भण्डारी, महाेत्तरी
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ माघ १२ शनिबार o९:५२:oo

किसानले उत्पादन गर्ने अधिकांश उपजमध्ये धेरै आफैँले उपभोग गर्छन् । वर्षभरलाई खान पुग्नेभन्दा बढी फलेको परिमाण भने बिक्री गरेर घरखर्च जुटाउने गर्छन् । तर, प्रमुख नगदेबालीमा सूचीकृत उखु भने शतप्रतिशत बिक्री गरेर दरिलो आम्दानी गर्दै आएका छन् । 

सरकारले पनि उखु किसानलाई संरक्षण गर्न बर्सेनि न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ । सरकारले तोकिदिएको मूल्यमा चिनी उद्योगीले पनि उखु खरिद गर्दै आएका छन् । विगतमा भुक्तानी सन्तुलन बिग्रेर धेरै किसान उखुखेतीबाट पलायन भए पनि पछिल्ला वर्षमा चिनी उद्योगीले नियमित पैसा दिन थालेपछि किसान उत्साहित हुन थालेका छन् । केही उद्योगले हप्तैपिच्छे र केहीले १५ दिनको कार्यतालिका बनाएर उखु किसानको भुक्तानी दिइरहेको राष्ट्रिय उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

गत वर्षदेखि उखु किसानको उधारो नरहेको उनले बताए । ‘गत वर्षदेखि कुनै पनि उद्योगीले चिनीको पैसा रोकेर राखेका छैनन्,’ उनले भने, ‘यो पनि नियमित दिइरहेका छन् ।’

कृषि मन्त्रालयका अनुसार मोरङदेखि कञ्चनपुरसम्मका किसानले उखुखेती लगाउने गरेका छन् । सबैभन्दा बढी सर्लाही र कञ्चनपुरमा उखुखेती हुने गरेको मन्त्रालयको तथ्यांक छ । 

कञ्चनपुरका झन्डै १० हजार किसान उखुखेती गर्दै आएका छन् । दुई ठुला उद्योगसहित गुर उद्योगमा किसानले उखु बेच्दै आएका हुन् । जिल्लामा १५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखुखेती हुने गरेको छ ।

लालझाडी गाउँपालिका– ३, नन्दगाउँका उखु किसान बहाली रानाले जिल्लाका दुई चिनी उद्योग स्थापना भएसँगै ढुक्कले उखुखेती गर्न पाएको बताए । ‘मैले ०६२ सालदेखि नियमित उखुखेती गर्दै आएको छु, उतिवेला चिनी उद्योग थिएनन्,’ उनले भने, ‘अहिले चिनी उद्योग सञ्चालनमा आएपछि उखुखेती विस्तार गरेको छु ।’ विगतमा १० कट्ठामा उखुखेती गर्दै आएका रानाले अहिले तीन बिघा खेती विस्तार गरेका छन् । उनले उखुबाट वार्षिक आठदेखि १२ लाखसम्म आम्दानी गर्दै आएको बताए । पुनर्वास नगरपालिका– ९ का निवर्तमान वडाध्यक्षसमेत रहेका नारायणप्रसाद जैसीले किसानको आर्थिक समृद्धिको आधार उखु भएको बताए । उनले अढाई दशकदेखि उखुखेती गर्दै आएको जानकारी दिए । उनले अन्य किसानको जमिन भाडामा लिएरसमेत उखु लगाउँदै आएको बताए ।

उखु उत्पादन हकहित किसान समितिका कोषाध्यक्ष चेतनकुमार राईले जिल्लामा दुईवटा उद्योग स्थापना भएपछि उखु किसानको संख्या वृद्धि भएको बताए । ‘किसानहरू पहिला गाउँकै कोलु उद्योग र भारतमा उखु बेच्दै आएका थिए, उतिवेला निकै समस्यामा परे पनि अहिले गाउँकै ठुला चिनी उद्योग सञ्चालनमा आएसँगै किसानलाई सहज भएको छ,’ उनले भने ।

सबैभन्दा धेरै उखु उत्पादन हुने सर्लाही जिल्लाका किसान भने विगतको जस्तो बक्यौता समस्या बल्झने हो कि भन्ने चिन्तामा छन् । सर्लाहीमा इन्दुशंकर, महालक्ष्मी र अन्नपूर्ण तीन ठुला चिनी मिल सञ्चालनमा छन् । यसमध्ये इन्दुशंकरमा सबैभन्दा धेरै उखु बिक्री भइरहेको छ । विगतमा भुक्तानीका लागि पाएको दुःख अहिलेसम्म पनि भुल्न नसकेको रामनगर गाउँपालिका– ४ का अजयकुमार पाण्डेले गुनासो गरे । ‘आफूले दुःखले उत्पादन गरेको फसलको पैसा उद्योगले समयमै दिनुको सट्टा दुःख दिएको थियो । त्यतिखेर पैसा नपाउँदा वर्षभरि परिवार पाल्ने मेसोसमेत बिग्रियो,’ उनले भने, ‘यो वर्ष चाहिँ भुक्तानी दिइरहेको छ । तर, पनि किसान ढुक्क हुन सकिरहेको अवस्था छैन ।’

सिराहाका उखु किसानले यो वर्ष चिनी मिलबाट साताभित्रै भुक्तानी पाइरहे पनि खेती गर्न मल, बिउ नपाएको गुनासो गरेका छन् । 

गोलबजार नगरपालिका– १०, डन्डा गाउँका ३५ वर्षीय सुरेशकुमार सिंहले १२ कट्ठा खेतमा उखु रोप्न सरकारी अनुदानमा दुई हजार तीन सय रुपैयाँमा पाइने ५० किलो डिएपी दोब्बर मूल्यमा किन्न बाध्य हुनुपर्‍यो । ‘कात्तिकको दोस्रो हप्ता रोप्ने वेलामै पाँच किलो कट्ठाका दरले डिएपी चाहियो,’ उनले भने, ‘स्थानीय कृषि सहकारीले सरकारी अनुदानको मल छैन भनेपछि बाध्य भएर चार हजार रुपैयाँ तिरेर ल्याएँ ।’ 

नियमित भुक्तानी दिँदै चिनी उद्योग
सर्लाहीमा रहेका तीनवटै चिनी मिल यतिवेला व्यस्त छन् । किसानलाई समयमै भुक्तानी नदिएका कारण करिब तीन वर्ष बन्द रहेको धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी मिलले नयाँ व्यवस्थापन ल्याएर ६ मंसिरदेखि उखु क्रसिङ थालेको छ । हरिवनस्थित इन्दुशंकरले २६ मंसिर र बगदहमा रहेको महालक्ष्मी सुगर मिलले १२ मंसिरबाट धमाधम उखु क्रसिङ गरिरहेका छन् ।

अन्नपूर्ण चिनी मिलले कार्यतालिका नै बनाएर १० देखि १५ दिनभित्र उखुको भुक्तानी गरिरहेको सञ्चालक शैलेन्द्र गुप्ताले जानकारी दिए । ‘मंसिर मसान्तसम्म उखु खरिद गरेबापत १५ करोड रुपैयाँ किसानको खातामा पठाएका छौँ,’ गुप्ताले भने । 

देशकै सबैभन्दा ठुलो चिनी मिलमध्येको इन्दुशंकर चिनी उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको महाप्रबन्धक योगनारायण रजकले जानकारी दिए । ‘हामीले किसानको भुक्तानी नियमित गरिरहेका छौँ,’ उनले भने । विगतमा भुक्तानी समस्या बर्सेनि दोहोरिँदा किसान अन्य खेतीमा लागेकाले अहिले उखु उत्पादन घटेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

महालक्ष्मी चिनी उद्योगले पुस अन्तिम सातासम्म पाँच लाख दुई हजार क्विन्टल उखु क्रसिङ गरिसकेको प्रशासकीय अधिकृत शिवशंकर महतोले जानकारी दिए । यो वर्ष २० लाख क्विन्टल उखु क्रसिङको लक्ष्य लिएको उनले बताए । 

महोत्तरीको रामनगरमा रहेको देशकै सबैभन्दा ठुलो एभरेस्ट चिनी मिलले यो वर्ष ३५ लाख टन उखु क्रसिङको लक्ष्य राखेको प्रशासन शाखा प्रबन्धक सुरेन्द्रप्रसाद शुक्लाले जानकारी दिए । ‘दैनिक ४० हजार क्विन्टल उखु पेल्ने क्षमता छ । तर, पर्याप्त उखुको अभावमा सिजनभर ३५ लाख क्विन्टल मात्र क्रसिङको लक्ष्य छ,’ उनले भने । महोत्तरीका मात्र करिब १४ हजार उखु कृषक यो उद्योगसँग आश्रित छन् ।

सिराहाको हिमालय सुगर मध्य पुससम्म १४ लाख ७५ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको र सरकारले तोकेको दरमा किसानको भुक्तानी नियमित गरिरहेका महाप्रबन्धक अवधकिशोर यादवले जानकारी दिए ।

१७ मंसिरदेखि सञ्चालनमा आएको कञ्चनपुरको महाकाली सुगर मिलले दैनिक २५ हजार क्विन्टलसम्म उखु क्रसिङ गरिरहेको प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले बताए । किसानको पैसा नियमित दिइरहेको उनले जानकारी दिए । कञ्चनपुरमै रहेको भागेश्वर सुगरमिल एन्ड केमिकल्प इन्डस्ट्रिज पनि २० मंसिरदेखि सञ्चालनमा आएर नियमित उखु क्रसिङ गरिरहेको प्रशासन प्रमुख डम्बर खड्काले जानकारी दिए । ‘दैनिक २५ हजार क्विन्टलका दरले क्रसिङ गरिरहेका छौँ । यो सिजन २५ लाख उखु क्रसिङ गर्ने लक्ष्य छ,’ उनले भने, ‘उखु किसानलाई नियमित भुक्तानी दिइरहेकाले कैलालीका किसानसमेत उखु बेच्न आइरहेका छन् ।’

एकै सिजनमा करोडसम्म आम्दानी
कञ्चनपुरको बेलडाँडी– ४, वैवाहका दिलप्रसाद शर्माले उखुखेतीलाई स्वरोजागरकै रूपमा अगाडि बढाएका छन् । कञ्चनपुर र बर्दियामा उखु लगाएकाले उनले एकै सिजनमा एक करोड रुपैयाँसम्मको उखु बिक्री गर्ने गरेको बताए । ‘मेरो परिवारले २० वर्षदेखि उखुखेती गर्दै आएको थियो, उतिवेला गाउँमा गुर उत्पादन गर्ने कोलु मात्रै थिए, अहिले जिल्लामा दुई ठुला चिनी उद्योग सञ्चालनमा आएका छन्,’ उनले भने, ‘विदेश जानुभन्दा अरूको जमिन पनि भाडामा लिएर उखुखेती गर्छु, अन्य किसानको उखु पनि मिलसम्मै ओसार्ने काम गर्छु । एक सिजनमा करिब एक करोडको कारोबार गर्ने गरेको छु ।’ बेलौरी नगरपालिका– १०, सडकघाटका उखु किसान चक्रबहादुर कडायतले ३२ बिघामा उखु लगाएका छन् । ‘२२ वर्षदेखि उखुखेती गर्दै आएको छु, ‘उनले भने, ‘पहिले भारत लगेर बेच्नुपर्ने बाध्यता थियो, अहिले जिल्लामै दुईवटा चिनी उद्योग सञ्चालन भएपछि सहज भएको छ ।’ कठायतले वार्षिक ५० देखि ६० लाखको उखु बेच्दै आएको बताए ।