सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा बर्खायाममा हुने डुवानको समस्या समाधान गर्न ६ लेन सडक छेउमा नाला निर्माण गरिने भएको छ । धनगढी चौराहा देखि भन्साररोडस्थित मोहना नदीसम्म ६ लेन सडकको दुवैतर्फ दुई मिटर चौडा र दुई मिटर गहिरो नाला निर्माण गर्न लागिएको हो ।
साढे १३ करोड रुपैयाँको लागतमा दुवैतर्फ गरी करिब तीन किलोमिटर लामो आरसिसी नाला निर्माण गरिने संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले जनाएको छ । यो खण्डमा ६ लेन सडकको पूर्वतिर ६ करोड पाँच लाख रुपैयाँको लागतमा एक हजार ३५५ मिटर नाला निर्माण गर्न ठेक्का सम्झौता भइसकेको छ ।
पश्चिम खण्डमा एक हजार ४५० मिटर लामो नाला निर्माण गरिने छ, जसको लागत सात करोड ४४ लाख रुपैयाँ छ । ६ लेन सडकको सर्भिस लेनमा नाला निर्माण गर्न लागिएको हो । नालामाथि सर्भिस लेन पिचसमेत गर्न सकिने आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।
दुवै खण्डमा नाला निर्माणका लागि गत २० असारमा सम्झौता भएको थियो । तर निर्माण कम्पनीले सम्झौता भएको करिब सात महिनापछि अहिले काम सुरु गर्ने तयारी गरेका छन् । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर देउवाले बुधबार नालाको शिलान्यास गरे ।
६ लेन सडकमा पानी निकासको व्यवस्था नहुँदा धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ र ३ का धेरैजसो बस्ती बर्खायाममा डुवानमा पर्ने गरेका छन् । ‘डुवानको समस्या समाधान गर्न नाला निर्माण गर्न लागिएको हो,’ संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीका प्रमुख शिखर लामा तामाङले भने, ‘बर्खामा निकास हुन नसक्ने पानीलाई नालामार्फत् मोहना नदीमा खसाल्ने योजना छ ।’
६ लेन सडक र सडकको पानी खसाल्न बनाइएको नाला जमिनको सतहभन्दा उचाइमा रहेकाले आसपासको पानी नालामा बग्न सक्दैन । अहिले जमिनको सतहकै उचाइमा बनाउन लागिएको नालामा कल्भर्ट भएका ठाउँमा पानी खसाल्ने च्याम्बर राखिने आयोजना प्रमुख तामाङले बताए । ‘सर्भिस लेनमा आरसिसी नाला बनाउन लागेका हौँ, नालामाथि सडक कालोपत्रे गर्न मिल्छ,’ उनले भने ।
धनगढी उपमहानगर प्रमुख गोपाल हमालले पानी निकासको व्यवस्था नहुँदा बर्खामा स्थानीयले सास्ती खेप्नु परिरहेको बताए । उनले नाला निर्माण भएपछि डुवानको समस्या समाधान हुने भएकाले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । त्यसका लागि आवश्यक सहजीकरण गर्न उपमहानगर तयार रहेको उनले बताए ।
पूर्वमन्त्री देउवाले ६ लेनको डुवान हुने अन्य ठाउँमा पनि नाला निर्माणका लागि संघीय सरकारसँग पहल भइरहेको बताए । ६ लेनअन्तर्गत धनगढी चौराहादेखि राजपुरसम्म पानी निकासको व्यवस्था नहुँदा धेरैजसो बस्ती बर्खामा डुवान हुने गरेकाले त्यो क्षेत्रमा नाला निर्माणका लागि पहल भइरहेको उनले बताए । ६ लेनको पूर्वपट्टिको नाला निर्माणको ठेक्का सनराइज चन्द्र विकास मस्ता जेभी र पश्चिमतिरको ठेक्का एमबी शुभलक्ष्मी आदर्श जेभीले पाएका छन् ।