बालबालिकामाथि हुने यौनजन्य दुर्व्यवहारका घटना न्यूनीकरणका लागि प्रहरीले काभ्रेपलाञ्चोकका हरेक विद्यालयमा शब्दचित्रसहितको पोस्टर राख्ने अभियान थालेको छ। दुर्व्यवहारबारे बालबालिकालाई सहज र प्रभावकारी रूपमा सचेत गराउन यस्तो अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
स्थानीय तहसँगको सहकार्यमा प्रहरीले नयाँ शैलीको सचेतना कार्यक्रम थालेको हो। हालसम्म चारवटा स्थानीय तहका प्रमुखलाई पोस्टरको नमुना दिएर प्रहरीले सचेतना अभियान अघि बढाएको छ।
काभ्रेपलाञ्चोककी प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले मंगलबार बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यलाई यससम्बन्धी पोस्टर हस्तान्तरण गरेकी छिन्। यसअघि नमोबुद्ध नगरपालिका तथा रोशी र तेमाल गाउँपालिकालाई हस्तान्तरण भइसकेको र जिल्लाका बाँकी नौ स्थानीय तहमा माघभित्रै हस्तान्तरण गरिने प्रहरीले जनाएको छ।
‘बालबालिकामाथि हुने यौनजन्य हिंसा बढेका छन्,’ एसपी खड्का भन्छिन्, ‘विगतमा विद्यालयमा पुगेर हामीले अनुशिक्षण पनि दिएका थियौँ, तर त्यो त्यति प्रभावकारी भएन कि भनेर काटुर्नसहित बालबालिकाले सहज रूपमा बुझ्ने गरी पोस्टर बनाएर राख्न थालेका हौँ।’ प्रहरीले स्थानीय तहलाई नमुना उपलब्ध गराउने र स्थानीय तहले छापेर आफ्नो पालिकामा सबै विद्यालयमा राख्ने गरी सहकार्य हुन थालेको हो।
पोस्टरमा बालबालिकामाथि हुने ‘गुड टच’ र ‘ब्याड टच’लाई उनीहरूले सहजै बुझ्ने गरी कार्टुनमार्फत जानकारी दिइएको छ। कसैले दुर्व्यवहार गरेमा प्रतिकार गर्ने, भाग्ने तथा कराउन बालबालिकालाई सिकाइएको छ। साथै, प्रहरीको समेत नम्बर उल्लेख गरी घटना भएमा तत्काल खबर गर्नसमेत प्रेरित गरिएको एसपी खड्काले बताइन्।
यसबाट बालबालिका मात्र नभई अभिभावक, शिक्षक तथा अन्य व्यक्ति पनि सचेत हुने उनी बताउँछन्। ‘कतिपय अवस्थामा विद्यालयकै शिक्षक तथा चिनजानकै व्यक्तिबाट दुर्व्यवहार भएका घटना छन्,’ उनले भनिन्, ‘यस्ता पोस्टरबाट उनीहरू पनि सचेत हुने हाम्रो विश्वास छ।’ शब्दचित्रमा इच्छाविपरीत काखमा राख्नु, छातीमा जबर्जस्ती छुनु, मोबाइलमा अश्लील चित्र देखाउनु तथा अनावश्यक रूपमा अँगालो गर्नु ‘ब्याड टच’ हुने भन्दै शब्दचित्रमार्फत बुझाइएको छ। पोस्टरका शब्दचित्र बनेपाकी सब्जी श्रेष्ठले बनाएकी हुन्।
यो अभियानले एकातर्फ दुर्व्यवहारका घटना न्यूनीकरण हुनुका साथै प्रहरीमा उजुरी गर्ने प्रवृत्ति बढ्ने विश्वास प्रहरीले लिएका छन्।