राष्ट्र बैंकको कडा नियमन र सुपरिवेक्षणमा रहँदारहँदै पनि बैंक कसरी समस्याग्रस्त भए ?
हाम्रा बैंकहरूमा सुशासनको समस्या छ । राष्ट्र बैंकले सुशासनका लागि राम्रै प्रयास गरे पनि त्यो सफल भएको छैन । अन्तर्राष्ट्रिय असल अभ्यासको अनुसरण भएको छैन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले गरेअनुसार कर्जाको वर्गीकरणमा असल अभ्यास हुन सकेको छैन । आइएमएफले अन्तर्राष्ट्रिय असल अभ्यास भित्र्याउन बारम्बार सचेत गराइरहेको छ । तर, हामीले त्यसलाई लागू गर्न सकिरहेका छैनौँ । मुख्य समस्या सूक्ष्म निगरानीको कर्जामा रहेको छ । खराब कर्जामा वर्गीकृत ऋणीले केही समयका लागि किस्ता तिर्न थाल्यो भने त्यसलाई सूक्ष्म निगरानीको कर्जा मान्ने जुन प्रावधान छ, त्यो नै गलत छ । यसले बैंक तथा वित्तीय संस्थाहरूमा नक्कली सुधार देखायो, वास्तविक सुधार हुन सकेन ।
बैंकिङ क्षेत्रमा यस्तो समस्या आउनुमा राष्ट्र बैंक कहाँ चुक्यो ?
सूक्ष्म निगरानीको कर्जाको प्रावधानले चलखेल गर्ने ठाउँ दिएको छ, छलकपटको छिद्र छाडिदिएको छ । त्यसैले, राष्ट्र बैंकले यस प्रावधानलाई खारेज नै गर्नुपर्छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा निरीक्षण तथा सुपरीवेक्षण गर्छ । तर, त्यस्तो निरीक्षण बैंक तथा वित्तीय संस्थामा होइन, ती संस्थाबाट ऋण लिने ऋणीको गर्नुपर्छ । उसले लिएको ऋणको सदुपयोग गरेको छ कि छैन, त्यो हेर्नुपर्छ । उसको ऋण तिर्ने क्षमता छ कि छैन, त्यसको निरीक्षण गर्नुपर्छ । यसमा पनि राष्ट्र बैंक चुकिरहेको छ ।
भविष्यमा थप बैंकलाई समस्याग्रस्त हुन नदिन के गर्नुपर्ला ?
अन्तर्राष्ट्रिय असल अभ्यासको अनुसरण गर्नुपर्छ । कर्जा वर्गीकरणबाट सूक्ष्म निरीक्षण कर्जाको प्रावधानलाई हटाउनुपर्छ । बैंकको होइन, ऋणीको अवस्था र क्षमताबारे स्थलगत निरीक्षण तथा सुपरिवेक्षण गर्नुपर्छ । वित्तीय सुशासन लागू गर्नुपर्छ ।