बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काडठमाडौं जोड्ने छोटो मार्गमध्येका थानकोट–चित्लाङ र महालक्ष्मी–मातातिर्थ सडक सञ्चालनमा आएका छन् ।
मर्मत र स्तारोन्नतिका लागि भन्दै झण्डै एक महिनादेखि बन्द दुबै सडक मंगलबारदेखि पुनः सञ्चालनमा आएका हुन् । स्तारोन्नतिका लागि भन्दै थानकोट–चन्द्रागिरि–चित्लाङ सडक गत ७ पुसदेखि बन्द गरिएको थियो । यस्तै, महालक्ष्मी–मातातिर्थ सडक भने २२ पुसदेखि बन्द गरिएको थियो ।
थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्डअन्तर्गत पानीघाटदेखी चन्द्रगिरि भञ्ज्याङसम्मको खण्ड स्तारोन्नति गरिएको हो । सडक स्तरोन्नतिका क्रममा उक्त सडकखण्ड विहान ८ बजेदेखि साँझ ४ बजेसम्म पूर्णरुपमा बन्द गरिएको थियो भने साँझ र बिहानको समयमा स्थानीय स्तरमा चल्ने सवारी साधनलाई आवतजावत गर्न दिइएको थियो।
यसैगरी, महालक्ष्मी–मातातिर्थ सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि उक्त सडकखण्ड बन्द गरिएको थियो । भिर काट्ने काट्ने काम सकिएपछि उक्त सडकखण्डपनि सञ्चालनमा आएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर प्रहरीका अनुसार हेटौँडा काठमाडौं जोड्ने कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड भने अझै केहि दिन एकतर्फी मात्रै सञ्चालनमा रहने छ । उक्त दुबै सडकखण्डमा स्तारोन्नतीको कार्य चलिरहेकोले एकतर्फी सवारी सञ्चालन भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।