संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुल प्रतिस्पर्धी नेकपा एमालेसङ्गको गठबन्धन अवसर र चुनौती दुवै रहेको बताएका छन् ।
शनिबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ धादिङको दोश्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले एमालेसङ्ग सहकार्य र प्रतिस्पर्धा दुबै रहेको बताएका हुन् । `एमालेसङ्ग सहकार्य र प्रतिस्पर्धा दुबै हुन्छ । २०८४ सम्म यहि गठबन्धन गरेर लैजान सहकार्य हुन्छ । सुशासन, भ्रष्टचार न्युनिकरण र सरकारलाई स्थायित्व दिन गठबन्धन आवश्यक छ´ उनले भने- `२०८४ को निर्वाचनमा प्रतिस्पर्धा अवश्यभावी छ । वडादेखि प्रधानमन्त्रीसम्म कसले राम्रो काम गर्यो भनेर प्रतिस्पर्धा हुन्छ । अनि चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । त्यसैले, पार्टीलाई सुदृढीकरण, बलियो र मज्बुद बनाएर लैजानु पर्छ । यसमा सबै लागौं ।´
त्यस्तै, संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको उनले बताए । `नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश भएकाले नेपालको पर्यटनको प्रचारप्रसारलाई तीव्र बनाउनुपर्छ । नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउने अवसर रहेको छ´ उनले भने–‘नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउनुपर्ने छ । हामीसँग जोडिएका संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छौं । प्रधानमन्त्री, अर्थमन्त्री, कानूनमन्त्रीसहित पर्यटनसँग जोडिएका मन्त्रालयहरुसँग समन्वय गरेर १० वर्षे कार्ययोजना तयार गरेर नेपालको पर्यटन क्षेत्रमार्फत नेपालको अर्थतन्त्रमा योगदान हुनेगरी मन्त्रालयले काम गरिरहेको छ । ’
निष्ठा र इमानको राजनीतिलाई कुनैपनि किसिमको कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवामा आफु लागिरहेको उनले बताए ।