नेपाल सरकारले ‘गाजामा बन्धकहरूको रिहाइ र युद्धविरामका लागि सम्झौता’को स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा स्वागत गर्दै यसले दिगो शान्ति र स्थायित्वको बाटोमा डोहोर्याउने उल्लेख छ। युद्धविराम सम्झाैताको घोषणा बुधबार राति भएको थियो ।
‘अक्टोबर ७, २०२३ देखि मध्यपूर्वमा भइरहेका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छाैँ। हामी ‘गाजामा बन्धकहरूको रिहाइ र युद्धविरामका लागि सम्झौता’को हालैको घोषणाको स्वागत गर्दछौँ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘हामी आशा गर्छौँ कि यसले गाजाका जनतालाई मानवीय सहायताको निर्बाध आपूर्ति सुनिश्चित गर्दै सम्बन्धित पक्षहरूलाई दिगो शान्ति र स्थायित्वको बाटोमा डोहोर्याउनेछ। नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीसहित सबै बन्धकहरूको रिहाइको लागि निरन्तर आग्रह गर्दै आएको छ। हामी सम्झौतामा ल्याउन मध्यस्थतामा संलग्न सबै पक्षहरूको प्रयासप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।’