धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ७.३३ अंकले घटेर दुई हजार पाँच सय ८८.६२ बिन्दुमा कायम भएको छ।
२९६ कम्पनीका एक करोड १७ लाख ४९ हजार सात सय एक कित्ता सेयर ७० हजार ६३४ पटक खरिद-बिक्री हुँदा रु. पाँच अर्ब ९३ करोड ३७ लाख ११ हजारबराबरको कारोबार भएको छ।
आज कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, व्यापार र अन्यको सूचक बढेका छन् भने बाँकी उपसमूहको सूचक घटेका छन्।
बोटलर्स नेपाल लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य नौ दशमलव ९९ प्रतिशत र पिपुल्स पावर लिमिटेड ६ दशमलव ६५ प्रतिशतले बढेको छ।
त्यसैगरी पोखरा फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्दा जानकी फाइनान्स नौ दशमलव ३९, खानीखोला हाइड्रोपावर नौ दशमवल १५ र रिलायन्स फाइनान्सको सेयर मूल्य सात दशमवल ५७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको रु. २८ करोड ५७ लाखबराबरको कारोबार भएको छ।