यहाँको तुलसीपुर उपमहानगरपालिका– १२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेँडा फलेका छन्। प्याजका बेर्ना उम्रिँदै छन्।
उनी सो वडाका वडाध्यक्ष पनि हुन्। वर्षौँदेखि तरकारी खेती गर्दै आएकाले हुन सक्छ कचिलानिवासी चौधरीले जनप्रतिनिधि निर्वाचित भएपछि पनि तरकारी खेतीलाई निरन्तरता दिइरहेका छन्।
‘तरकारी खेती हाम्रो पुरानो पेसा हो,’ उनले भने, ‘म जनप्रतिनिधि भए पनि यो पेसा छोड्न सक्दिनँ।’ करिब तीन कट्ठा जमिनमा उनले गोलभेंँडा खेती गरेका छन्। अन्यमा केराउ, प्याज, लसुनखेती गरेका छन्। चौधरीले जम्मा २२ कट्ठा जग्गामा बर्सेनि तीन बाली खेती लगाउँछन्। कचिलामा बेमौसमी तरकारी बढी उत्पादन हुन्छ।
वडाध्यक्ष चौधरी माघको अन्तिमतिर सिमी, करेला, बोडी, भेडे खुर्सानी रोप्ने तयारीमा छन्। साउनमा काँक्रा, सिमी र बोडी रोप्छन्। असोजमा गोलभेँडा, केराउ रोप्ने गरेको उनी बताउँछन्।
‘जनप्रतिनिधि होस् या अरू कुनै पेसा–व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन,’ वडाध्यक्ष चौधरीले भने, ‘तर, म उत्पादनमा जोडिनुपर्छ, ताकि यो कुराले अरूलाई प्रेरणा होस्।’
उनले उत्पादन गरेको तरकारीले उचित बजार भने पाउन सकेको छैन। भारतबाट आयातित तरकारीका कारण यहाँ उत्पादित तरकारीले बजार नपाउने गरेको उनको गुनासो छ। चिस्यान केन्द्र नहुँदा यस्तो समस्या हुने गरेको उनले बताए।
हाल कचिलासहित आसपासका वडामा उत्पादित तरकारीलाई बजारीकरण गर्न शीतलपुरमा हाटबजार लगाउने तयारी गरिएको छ।
गोलभेँडा, प्याज, लसुन, खुर्सानीलगायत बिक्री गरेर उनले वार्षिक चार लाखसम्म आम्दानी गर्दै आएका छन्। उनले राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने मान्यता अन्त्य हुनुपर्ने बताए।