जय ट्रफी पुरुष एलिट कप २०८१ को उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले उचालेको छ । बिहीबार सकिएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो ।
वीरगन्जको नारायणी क्रिकेट मैदानमा भएको फाइनल खेलमा पुलिस दिएको १०३ रनको लक्ष्य पछ्याउँदै बिहीबार दोस्राे इनिङ्सको ब्याटिङ गरेको आर्मीले २९.२ ओभरमा अलआउट हुँदै ७४ रन मात्र बनाएपछि उपाधि पुलिसको पोल्टामा गएको हो ।
दोस्रो इनिङ्समा आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन जोडे । कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
आर्मीलाई ७४ रनमै अलआउट गर्नमा पुलिसका बलर सागर ढकालको भूमिका महत्त्वपूर्ण रह्याे । ढकाल एक्लैले ६ विकेट लिए । १४.२ ओभर बलिङ गरेका उनले ३५ रन मात्रै खर्चिए । यस्तै, ललित राजवंशीले पनि चार विकेट लिए ।
पुलिसले पहिलो इनिङ्समा १३३ र दोस्रो इनिङ्समा १३९ रन बनाएको थियो । आर्मीले भने आफ्नो पहिलो इनिङ्समा १७० रन बनाएको थियो । प्रतियोगिताको सर्वोत्कृट खेलाडी आर्मीका बलर साहब आलम (३३ विकेट) घोषित भए । यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान मधेश प्रदेशका मयन यादव र उत्कृष्ट बलर आर्मीकै साहब आलम घोषित भए ।