नेपाल सरकारका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले मुलुकमा आथिक संकुचनका कारण सरकारले सोचेअनुसार काम गर्न नसकेको बताएका छन् । उनले हरेक क्षेत्रमा आर्थिक संकट छाएको हुँदा जनताले चाहेअनुसारको विकास निर्माण गर्न नसकिएको बताए ।
बागलुङ नगरपालिका कार्यालय बागलुङले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले अनुत्पादक रूपमा रहेका क्षेत्रहरूलाई स्थानीय सरकारले सदुपयोग गरी उत्पादनमुखी कार्यमा लगाउन आग्रहसमेत गरे ।
बागलुङ नगरपालिकाले पेस गरेको तीनबुँदे मागपत्रमाथि सम्बोधन गर्दै मन्त्री अधिकारीले हाल नगरपालिका रहेको तीन रोपनी जग्गालाई नगरपालिकाकै स्वामित्वमा ल्याउनका कृषि मन्त्रालयले गत भदौमा निर्णय गरेको बताए । उक्त फाइल मन्त्रिपरिषदमा पठाउनेसमेत जानकारी दिए । उनले अलपत्र बागलुङ नगरपालिका– ३ मा रहेको गोदामघरलाई उत्पादनमुखी काममा लगाउने प्रस्तावसमेत आग्रह गरे ।
मन्त्री अधिकारीले मध्यपहाडी क्षेत्र कृषि उत्पादनको महत्त्वपूर्ण क्षेत्र भएको पकेट, जोन क्षेत्र बनाउनका लागि आगामी नीति तथा कार्यक्रम ल्याउने जनाउँदै सम्भावित क्षेत्रको पहिचान गरी मन्त्रालयमा पठाउन आग्रह गरे ।
उनले तीन तहकै सरकारले समन्वय र सहकार्य गरेर देशलाई नै कृषिमा आत्मनिर्भर बनाउनुपर्ने धारणा राखे । मन्त्री अधिकारी बागलुङको जैमिनीमा आयोजित माघेसंक्रान्ति मेलामा सहभागी हुन आएका हुन् ।