मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Tuesday, 07 January, 2025
प्रकाशकुमार श्रेष्ठ
२o८१ पौष २१ आइतबार १७:o६:oo
Read Time : > 4 मिनेट
नयाँ यात्रा २०२५ प्रिन्ट संस्करण

किन बिदेसिन्छन् युवा ?

Read Time : > 4 मिनेट
प्रकाशकुमार श्रेष्ठ
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार १७:o६:oo

विश्वव्यापीकरणको तीव्रताका कारण अहिले सिंगो विश्व नै एउटा भूगोलका रूपमा एकीकृत हुन पुगेको छ । खासगरी सूचना प्रविधिको विकासले पनि विश्वलाई एकीकृत गर्न धेरै मद्दत पुगेको छ । सुरुका दिनहरूमा एक देशबाट अर्कोमा जान धेरै हिसाबले कठिनाइ थियो, तर बिस्तारै सीमा र सर्तहरू खुला हुँदै अहिले धेरै सजिलो भएको छ । विगतमा एउटा देशको भाषा अर्कोले नबुझ्ने हुँदा किन र कसरी जाने भन्ने हुन्थ्यो । अहिले त भाषा सिक्ने वा साझा भाषामा दख्खल बढाउने लहर नै चलेको छ । यस्ता अवरोधहरूमा सुधार भएकाले एउटा देशबाट अर्कोमा जाने प्रवृत्ति बढ्न पुगेको छ । मूलतः ‘पुल फ्याक्टर’ र ‘पुस फ्याक्टर’ले मानिसको गतिशीलतामा प्रभाव परेको देखिन्छ ।

विकसित देशहरूमा विकासका असीमित कामहरू सुरु हुँदा त्यसका लागि जनशक्ति कम भयो र श्रमिकलगायत जनशक्ति आपूर्ति गर्न सम्बन्धित देशले सीमासम्बन्धी प्रावधानहरू लचिलो बनाई आप्रवासीको संख्या बढाउने नीति लागू गरेका छन् । यो पुल फ्याक्टर हो । यो नीतिको फाइदा उठाउँदै एउटा देशबाट अर्कोमा जाने प्रणाली विकास भएको हो । त्यस्तै, ‘पुस फ्याक्टर’ भन्नाले अवसरको खोजीमा बिदेसिने प्रवृत्ति हो । नेपालले २०५० को दशकको सुरुआतसँगै आर्थिक उदारीकरणको नीति लिएर आर्थिक गतिविधिलाई चलायन बनाउन थाल्यो । राहदानीमा पनि सहजता ल्याइयो । तर, मुलुक आन्तरिक द्वन्द्वमा फसेका कारण गाउँबाट सहरतिर बाध्यात्मक बसाइँसराइले प्राथमिकता पायो । सहर आइसकेपछि जीविकोपार्जनका विकल्प खोज्ने क्रम सुरु भएको देखिन्छ । खोजेका वेला रोजगारी पाउन सक्ने अवस्था त्यसबखत थिएन, अहिले पनि छैन ।

यही समय विदेशीले श्रम गर्ने मानिस खोजिरहेको र नेपालको युवा जनशक्ति पनि अवसर खोजिरहेको थियो । माग र आपूर्तिको तालमेल मिल्न थालेपछि नेपाली युवा बिस्तारै बाहिर जान थालेका हुन् । सुरुका दिनमा विदेश जाँदा कस्तो देश हो, भाषा के हो, कमाइ कति हुने हो, बाँच्न सकिने हो कि होइन जस्ता कुराको डर थियो । तर, बिदेसिएका युुवाहरू राम्ररी स्थापित हुन थालेपछि भने सुरुका दिनमा बाध्यताले बिदेसिने गरेको प्रवृत्ति बिस्तारै संस्कृतिमा रूपान्तरण भएको देखिन्छ । पछिल्लो पिँढीका धेरै युवामा बिदेसिनुपर्ने बाध्यता त देखिँदैन, तर रहरका कारण पनि बाहिर गइरहेको अवस्था छ । हिजोको जस्तो घर छाडेर भाग्नुपर्ने वा बेरोजगारी नै भएर बस्नुपर्ने बाध्यात्मक परिस्थिति पनि छैन । तैपनि खोजेजस्तो सुविधायुक्त रोजगारी नभएकाले युवाहरू श्रमका लागि बाहिर जाने क्रममा भने सुधार हुन सकेको छैन ।

अधिकांश शिक्षित युवा मानसिक श्रममा आधारित ‘ह्वाइट कलर’ रोजगारी खोजिरहेका छन् । यस्तो रोजगारी नेपालमा पर्याप्त मात्रामा छैन । पढाइ सकेपछि खेती गर्न गाउँतिर जाने प्रवृत्ति पनि छैन । पढेको मान्छे गैरकृषि क्षेत्रको सजिलो रोजगारी चाहन्छ । हामीकहाँ औद्योगीकीकरण हुन सकेको छैन । आफूले चाहेजस्तो रोजगारी मुलुकमै नपाएपछि बिदेसिने क्रमले निरन्तरता पाएको अवस्था छ ।

कमाउँदै पढ्ने अवसरको खोजी
विगतमा विदेशी कलेजमा भर्ना पाउनै मुस्किल हुन्थ्यो । अहिले अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायतलगायत देशका कलेजमा आन्तरिक विद्यार्थीको कमी भएपछि विदेशी विद्यार्थी भिœयाउन केही खुकुलो प्रावधान राखिएको छ, जसकारण नेपाली विद्यार्थी विदेशी कलेज पढ्न जाने क्रम बढिरहेको हो । गुणस्तरको दृष्टिले विदेशी कलेजमा तुलनात्मक रूपमा राम्रो शिक्षा पाइन्छ भन्ने विश्वास पनि छ र छ पनि । अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका केही विश्वविद्यालयको शिक्षाको गुणस्तर राम्रो हुन्छ भन्ने कुरा यथार्थ पनि हो । यसैगरी, पढाइ र काम सँगसँगै अगाडि बढाउन पाउने अवसरका कारण पनि बिदेसिन चाहनेको संख्या बढी छ । नेपालमा पढ्दै, कमाउँदै गर्ने अवधारणा छैन । पढाइ सकिएपछि पनि शिक्षाको स्तरअनुसारको काम पाउने ग्यारेन्टी छैन । अस्ट्रेलिया, बेलायतजस्ता देशमा विदेशी विद्यार्थीलाई पार्टटाइम काम गर्न दिने नीति नै छ ।

सुरुका दिनमा बाध्यताले बिदेसिने गरेको प्रवृत्ति बिस्तारै संस्कृतिमा रूपान्तरण भएको देखिन्छ। पछिल्लो पिँढीका धेरै युवामा बिदेसिनुपर्ने बाध्यता त देखिँदैन, तर रहरका कारण पनि बाहिर गइरहेको अवस्था छ।

विदेशमा ‘पार्टटाइम जब’को संस्कृति छ । नेपाली विद्यार्थी यही प्रावधानबाट लोभिएका छन् । अहिलेको युवा आफैँ कमाउँदै, पढ्दै गर्न रुचाइरहेका छन् । अभिभावक पनि काम र पढाइ सँगसँगै गरेर व्यावहारिक बन्छन् र आयआर्जन पनि बढाउँछन् भन्ने आसमा छोराछोरीलाई बाहिर पढाउन उत्साहित भइरहेका छन् । अस्ट्रेलिया, बेलायतजस्ता देशमा विदेशी विद्यार्थीलाई पार्टटाइम काम गर्न दिने नीति नै छ । पढाइपछि उपलब्ध समयका आधारमा ‘कति घण्टा’ काम गर्ने भन्ने सुविधा पनि छ । प्रतिघण्टाका दरले तलब, सुविधा पनि पाइन्छ । केही देशमा सार्वजनिक बिदाको दिन वा रातिको समयमा काम गरे दोब्बरसम्म ज्याला पाउने प्रावधान पनि छ ।

एकातर्फ कमाइ र पढाइ सँगै हुने भएकाले नेपाली युवा विदेशमा आकर्षित भएका छन् भने अर्कातर्फ विदेशका विश्वविद्यालयलाई विद्यार्थीको अभाव छ । त्यहाँ पढाइ बाध्यात्मक नभएकाले उनीहरूसँग आन्तरिक विद्यार्थी नै कम हुन्छन् । निश्चित तहसम्म पढेर सीप सिकेका आधारमा आवश्यक रोजगारी गर्न पाउने प्रावधान छ । त्यसैले, विकसित देशका विश्वविद्यालयमा आन्तरिक विद्यार्थी पाउनै मुस्किल पर्छ, जसकारण उनीहरू अन्य देशबाट विद्यार्थी भिœयाउने गर्छन् । यसरी ल्याउँदा विश्वविद्यालय पनि चल्ने र श्रमबजारलाई जनशक्ति पनि पूर्ति हुने देखेर छात्रवृत्तिसमेत दिएर अस्ट्रेलिया, अमेरिकाका कलेजहरूले विद्यार्थी आकर्षित गरिरहेका छन् । विदेशी कलेजले विद्यार्थी पाउने र नेपाली युवाले कमाइ र पढाइ सँगै हुने स्वार्थ मिलेकाले पढ्न विदेश जाने नेपालीको संख्या बढ्दै गएको हो । मध्यपूर्वी एसियामा भने युवाहरू विशुद्ध रोजगारीकै खोजीमा पुगेका छन् । कुनै वेला मध्यपूर्वी एसियाली राष्ट्रहरूले अन्य देशका नागरिकलाई प्रवेश नै दिँदैनथे । तर, अहिले त्यहाँका नागरिकभन्दा विदेशी बढी छन् । 

सकारात्मक–नकारात्मक प्रभाव
नेपाली समाजको बनोट परम्परागत संस्कृतिमा आधारित थियो । तर, अहिले त्यो भत्किएको स्थिति छ । मानिसहरू गाउँबाट सहर आएका छन्, पहाडबाट तराई झरेका छन् । यतिले नपुगेर विदेश गएका छन् । यस्तो प्रवृत्तिले सामाजिक प्रणालीमा ठुलो परिवर्तन आएको छ । सामाजिक अपनत्व टुक्रिँदै गएको छ । आपसी विश्वासमा कमी आउन थालेको छ । पहिले बाबु–बाजेदेखिका पुस्ताहरूबारे थाहा हुन्थ्यो । बाजे पुस्ताका आधारमा नातिलाई समेत विश्वास गरिन्थ्यो । तर, अहिले आमने–सामने भेटिएका मान्छेहरू नै एकले अर्कोलाई विश्वास गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् ।

यद्यपि, बिदेसिने प्रवृत्तिले आर्थिक सम्पन्नता वृद्धिमा भने सघाउ पुगेको छ । विप्रेषण आयात बढेको छ । गुणस्तरीय शिक्षा प्राप्तिले जीवनस्तर सुधारमा सहयोग गरेको छ । एक दशक लामो द्वन्द्व र त्यसपछिको थप एक दशकको ऊर्जा संकट, राजनीतिक स्थायित्वको कमीका बाबजुद हाम्रो गरिबीको दर घटिरहेको छ । सामाजिक विकासमा सुधार भइरहेको छ । औसत आयु पनि बढिरहेको छ । यी तथ्यांकमा सुधार देखिनुको प्रमुख कारण बिदेसिएका नेपालीले गरेको योगदान नै हो ।

खुलापनले धनी देशबाट गरिब देशमा पुँजी प्रवाह हुन्छ र सबैतिर आर्थिक रूपमा समानता कायम हुन्छ भन्ने विश्वव्यापीकरण र उदारवादी सिद्धान्तको मान्यता छ । तर, अहिले पुँजीको आगमनभन्दा पनि श्रमको बहिर्गमन बढी भइरहेको छ । उदाहरणमा नेपालकै नाम लिन सकिन्छ । हामीले सीमाहरू खुला गरेपछि आयात–निर्यात र आवात–जावत नियमित भएको छ । तर, हामीकहाँ सोचेअनुसार पुँजी आएको छैन भने श्रमिकहरू धेरै ठुलो संख्यामा बाहिर गइरहेका छन् ।

पुँजी र श्रमको समान प्रवाहबाट विश्व अर्थतन्त्रमा समानता कायम हुने सिद्धान्तविपरीत श्रमिकहरू मात्रै बढी निर्यात हुँदा भोलिका दिनमा समस्या आउने देखिन्छ । बढी कमाइ हुने आसमा बिदेसिने क्रम बढ्दै गयो भने हामीकहाँ दक्षदेखि अदक्षसम्मका श्रमशक्तिको अभाव हुन सक्छ । यसले नेपालमा ज्याला बढाउनुपर्ने दबाब पर्नेछ । ज्याला नबढाए डाक्टर, नर्सलगायतको अभाव हुन सक्ने जोखिम हुन्छ । ज्याला बढाउँदा औसत नेपालीको तिर्न सक्ने क्षमता नपुग्न सक्ने जोखिम पनि त्यत्तिकै हुन्छ । त्यसपछि यहाँका महँगा सेवा धान्न झन् धेरै नेपाली राम्रो आम्दानीका लागि बिदेसिने क्रम बढ्न सक्ने जोखिम छ । केही समयपछि यस्तो समस्या विकराल हुने देखिन्छ ।

न्यूनीकरण कसरी गर्ने ?
पछिल्ला जनगणनालाई हेर्ने हो भने मुलुकको जनसंख्या घट्न थालेको छ । सरकारले जनसंख्यासम्बन्धी नीति पुनरावलोकन गर्दै दम्पतीलाई धेरै सन्तान पाउन अभिप्रेरित गर्नुपर्छ । विश्वव्यापी प्रवृत्ति कस्तो छ भने देश जति विकसित भयो, त्यहाँको जनसंख्या झन्–झन् कम हुँदै जाने गरेको छ । यसैले हाम्रा सन्तति यहाँ बस्न सकेनन् भने विकसित देश पुगेर भए पनि ‘सेटल’ हुन सक्ने आधार छन् । जनसंख्या वृद्धिमा सबैले जोड दिनु आवश्यक छ । नेपालीहरू ‘क्वालिटी अफ लाइफ’को खोजीमा बिदेसिने क्रम पनि बढिरहेको छ । यसतर्फ ध्यान दिएर मुलुकभित्रै जीवनयापन सहज र सुखमय बनाउने माध्यमहरू तयार गर्नतर्फ धेरैभन्दा धेरै ध्यान दिनुपर्ने आवश्यकता छ । यसका लागि शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्नुपर्छ । सहरी क्षेत्रमा गुणस्तरीय पूर्वाधार बनाउनुपर्छ ।

एनआरएनहरूलाई फिर्ता ल्याउने वातावरण पनि बनाउनुपर्छ । केही पैसा र सीप कमाएका एनआरएनहरूलाई यहाँको हावापानी, वातावरण स्वच्छ र हराभरा छ भनेर बस्न लालयित गर्नुपर्छ । अहिलेका लागि विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विप्रषेण नै हो, जसकारण बिदेसिने क्रमलाई कम गरिहाल्न पनि सहज छैन । सय वर्षअघि हवाईजहाज, सूचना प्रविधिलगायत कुनै सुविधा नहुँदा पनि एक–अर्को देशमा आउजाउ गर्ने प्रचलन थियो । दोस्रो विश्वयुद्धपछि युरोप छाडेर अन्य देश जाने प्रवृत्ति थियो । यसैले अहिलेको बिदेसिने प्रवृत्तिलाई चिन्ताजनक दृष्टिकोणबाट पनि हेरिरहनुपर्दैन ।

(श्रेष्ठ राष्ट्रिय योजना आयोगका सदस्य हुन्)