अनलाइनमार्फत हुने विभिन्न क्रियाकलापबाट किशोरकिशोरी र युवामा हिंसाको जोखिम बढ्दै गएको पाइएको छ । अनलाइनमा बालबालिका र युवाको सुरक्षामा कार्यरत चाइल्डसेफनेटले गरेको ‘रोमान्सदेखि जोखिमसम्म : किशोरकिशोरी र युवा व्यक्तिमाथि अनलाइन अन्तरंग सम्बन्ध हिंसा’ नामक अध्ययन प्रतिवेदनले हिंसाको जोखिम बढिरहेको देखाएको हो ।
‘सेक्सुअल भाइलेन्स रिसर्च एन्सिएटिभ’सँगको सहकार्यमा गरिएको अध्ययनले नेपालमा बढ्दो अनलाइन अन्तरंग सम्बन्धले हिंसा बढाइरहेको देखाएको हो । हिंसाको प्रवृत्ति, स्वरूप र प्रविधिको दुरुपयोगबारे पनि अध्ययन भएको थियो । अध्ययनले अनलाइनमार्फत नियन्त्रण गर्ने उद्देश्यले गरिने व्यवहार, हानि पुर्याउने उद्देश्यले अनलाइनमा पछ्याउने, दबाब दिने, भावनात्मक दुव्र्यवहार गरिने र हिंसात्मक गतिविधिमा संलग्न हुनेको संख्यासमेत अत्यधिक भइरहेको देखाएको हो ।
अध्ययनमा नेपालका सातै प्रदेशका १० जिल्लाबाट १६ देखि २४ वर्षका चार हजार ५०१ किशोरकिशोरी र युवाबाट जानकारी संकलन गरिएको थियो । अध्ययनमा संलग्नमध्ये ४०.५ प्रतिशत सहभागीले हाल वा विगतमा अनलाइनको माध्यमबाट अन्तरंग सम्बन्ध बनाएको बताएका थिए । अन्तरंग सम्बन्धमा रहेका चारमध्ये एक व्यक्तिले आफूमाथि अनलाइनबाट विभिन्न खालको हिंसा भएको बताएका थिए ।
यसबाहेक अनलाइनमार्फत भएको चिनजानमा ११ प्रतिशत सहभागीले वयस्क र नाबालिगबिचको सम्बन्ध रहेको जनाएका थिए । जसमध्ये सुनसरी जिल्लामा उच्चतम अनलाइन हिंसा भएको अध्ययनले देखाएको हो । अध्ययनमा सहभागीमध्ये सुनसरी जिल्लाका ३८ प्रतिशतले आफूमाथि अनलाइन हिंसा भएको जानकारी गराएका थिए ।
किशोरकिशोरीहरू बढी जोखिममा रहेको र विशेषगरी लामो सम्बन्धको तुलनामा ६ महिनाभन्दा कम समय सम्बन्धमा रहेकाहरूमा पार्टनरबाटै हिंसाको उच्च जोखिममा रहेको अध्ययनले देखाएको हो ।
अनलाइनबाट सम्बन्ध स्थापित भएका किशोरकिशोरीमा हिंसाको निरन्तरता देखिएकोसमेत बताएका थिए । अध्ययनमा ४६ प्रतिशत सहभागीले अनलाइन र अफलाइन दुवै प्रकारका हिंसाको सामना गरेका बताएका हुन् । यौनिक अल्पसंख्यक समुदायका युवाहरूले विशेष रूपमा अनलाइन डेटिङ एपहरू चलाउने गरेको कारण जोखिममा पर्ने गरेकोसमेत अध्ययनले देखाएको छ ।
चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशीले सरकारले अविवाहितमा हुने अनलाइन अन्तरंग साझेदार हिंसालाई सम्बोधन गर्न आवश्यक नीति र कानुन बनाउनुपर्ने बताए ।