मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १३ शनिबार
  • Saturday, 28 December, 2024
टेकराज थामी काठमाडाैं
२o८१ पौष १३ शनिबार o६:१२:oo
Read Time : > 2 मिनेट
Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष १३ शनिबार o६:१२:oo

तनाव, असमझदारी, अशिक्षा, आर्थिक समस्या र पारिवारिक संरचनाको विघटन आफन्तजनभित्र अपराधको कारण । खुला र सम्मानजनक संवाद, आर्थिक र भावनात्मक सहयोगमार्फत परिवारभित्र अपराध घटाउन सकिने समाजशास्त्रीको भनाइ ।

१. छोराले लिए बाबुको ज्यान : जिल्ला हुलाक कार्यालय खोटाङका प्रमुख कुलप्रसाद आचार्य आफ्नै छोराबाट मारिए । ६ पुसमा जेठा छोरा २६ वर्षीय मिलन आचार्यले ‘डमबेल’ले प्रहार गरी कुलप्रसादको हत्या गरेका थिए । ६ पटक नायब सुब्बा र एकपटक अधिकृत परीक्षामा असफल भएका मिलन तनावमा थिए । कुलप्रसाद आफ्ना दुवै छोरा सरकारी सेवामा अधिकृत भएको हेर्न चाहन्थे । उनले मिलनलाई जागिर खान दबाब दिँदै आएका थिए । दबाब झेल्न नसकेका उनले अन्ततः बुवा मात्र होइन, भाइ २२ वर्षीय प्रवीणको पनि हत्या गरे । गत ८ पुसमा उनीहरूको मृत शरीर भक्तपुरको सूर्यविनायकस्थित डेरा गरेको घरमा फेला परेको थियो ।

२. नातिले लिए हजुरआमाको ज्यान : ओखलढुंगा खिजिदेम्बा– ६ की ८२ वर्षीया ठगमाया सुनुवार ७ मंसिरको साँझ १३ वर्षीय नातिसँगै थिइन् । अँगेनामा आगो ताप्दै बसेकी सुनुवारले नातिलाई गाली गर्न थालिन् । झोक्किएका नातिले आगो फुक्ने ढुङ्ग्रोले हजुरआमाको टाउकोमा प्रहार गरे । सोही चोटका कारण उनको ज्यान गयो । हत्यामा संलग्न नाति अहिले बाल सुधारगृहमा छन् । 

३. कान्छा छोराले लिए आमाको ज्यान : काभ्रे रोशी– ३ भञ्ज्याङ गाउँकी साहिँलाकाजी भनिने पाल्छङ लामाकी श्रीमती ६९ वर्षीया माइली लामाको मृत शरीर घरको भान्साकोठामा भेटियो । गत १६ कात्तिकमा मृत अवस्थामा भेटिएकी माइलीको टाउकोमा गम्भीर चोट थियो । उनको कानमा रहेको सुनको गहना गायब थियो । अनुसन्धानका क्रममा खुल्यो– उनको हत्यामा आफ्नै कान्छा छोरा २८ वर्षीय फुर्साङ लामा संलग्न रहेछन् । कानमा लगाएको सुनको रिङ र नगद लुट्न उनले आमालाई सिलौटोको लोहोरो प्रहार गरी हत्या गरेका थिए ।

४. ३० वर्षीय छोराले लिए बाबुको ज्यान : ताप्लेजुङ मेरिङदेनका ५६ वर्षीय श्याबहादुर लिम्बूलाई आफ्नै छोरा ३० वर्षीय सुमन लिम्बूले गत १७ असोजमा बाम्फोक प्रहार गरे । गहिरो चोटका कारण उनी घटनास्थलमा नै ढले । उनको मृत्यु भयो । प्रहरीका अनुसार घरायसी विवाद बढ्दै जाँदा सुमन उत्तेजित भएका थिए । रिस थाम्न नसकेपछि उनले दाउरा काट्ने बाम्फोक हातमा लिएर बुबालाई प्रहार गरेका थिए ।

५. आमाले लिइन् २३ महिनाकी छोरीको ज्यान : ललितपुर कोन्ज्योमसोम– ३ दलचोककी २१ वर्षीया प्रमिला भण्डारीले काखमा रहेकी २३ महिनाकी छोरी प्रिन्सिकालाई मरणासन्न हुने गरी पिटिन् । उत्तेजित बनेकी उनको रिस अझै थामिएन । बेहोस छोरीलाई लिएर उनी दलचोकस्थित सिलिङेबेँसी आपबोट हुँदै बग्ने ठोस्ने खोला पुगिन् । र, छोरीलाई सोही खोला फ्याँकिन् । प्रिन्सिकाको मृत्यु भयो । प्रमिला पक्राउ परिन् ।

     ...                                                 ...

हत्यासँग सम्बन्धित माथिका पाँच घटना फरक ठाउँका हुन् । घटना भएको मिति, समय र मृतक पनि फरक–फरक हुन् । तर, समान पक्ष के छ भने मृतक र हत्यामा संलग्न अभियुक्त परिवारभित्रकै हुन् । पछिल्लो आठ वर्ष चार महिनाको तथ्यांकअनुसार मुलुकभर चार हजार ८६२ को हत्या भएको छ । जसमा मारिने अधिकांश चिनजान र सगोलभित्रकै सदस्य छन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विश्व अधिकारीले पछिल्ला वर्ष हत्याका अधिकांश घटना आफन्तबाटै धेरै हुने गरेको र जसमा पीडित हुने पनि सगोलोभित्रकै संख्या धेरै रहेको बताए । ‘हत्याका घटना बढेका छन् । हामीले विभिन्न कोणबाट घटना विश्लेषण गरेका छौँ । अधिकांश हत्या चिनजानभित्रकै मान्छेबाट भएको देखिन्छ,’ उनले भने, ‘यसका पछि अनेक कारण छन् । तर, तनावको समयमा नै पहिचान र व्यवस्थापन हुन नसक्दा यस्ता घटना धेरै भएको देखिएका छन् ।’ 

त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउने अधिकांश हत्या चिनजानभित्रकै सदस्यबाट हुनमा तात्कालिक र राज्य संयन्त्र नियन्त्रित संरचनागत कारण रहेको बताउँछन् । ‘पछिल्ला दिन हत्याका घटनामा मार्ने र मारिने सगोलभित्रकै सदस्य देखिएका छन् । यसमा दुईवटा कारण छन्, एउटा तात्कालिक र अर्काे संरचनागत । संरचनागत कारण हेर्दा राज्यमा अराजकता मौलाएको छ । मूल्य, मान्यता र कानुनको धज्जी उडाइएका छन्, जुन परिवारभित्र प्रकट हुन पुगेका छन्,’ उनी भन्छन्, ‘तात्कालीन कारणमा चाहिँ मुलुकको अर्थतन्त्र डामाडोल छ । बेरोजगारीले चुली नाघेको छ । चौतर्फी असफलताबाहेक केही छैन । जसले मानिसमा निराशा पैदा गरिदिएको छ ।’