मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Saturday, 28 December, 2024
२o८१ पौष १२ शुक्रबार १४:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादनमा लाग्नुपर्छ : मुख्यमन्त्री लामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार १४:४६:oo

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बजारको मागअनुसारको व्यावसायिक तथा दक्ष जनशक्ति उत्पादनमा शिक्षालाई जोड्न आवश्यक रहेको बताएका छन् । शुक्रबार मकवानपुर बहुमुखी क्याम्पसको व्यवसाय इन्क्युबेसन सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले व्यावसायिक र व्यावहारिक शिक्षासहित बजारको मागअनुसारको जनशक्ति उत्पादनमा अग्रसर हुन आवश्यक रहेको बताएका हुन् ।

त्यसका लागि हाल प्रयोगमा रहेका शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए । हाल कायम रहेको पाठ्यक्रमले प्रभावकारी रूपमा व्यावसायिक जनशक्ति उत्पादन गर्न नसकेको उनको भनाइ छ । ‘रोजगारीमूलक संघ–संस्थाहरूसँगको समन्वय र सहकार्यमा शैक्षिक संस्थाहरूमा अध्ययन–अध्यापनको मोडेल निर्माण गर्नुपर्छ । यसका लागि प्रदेश सरकार नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार छ,’ उनले भने ।

कार्यक्रममा प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विद्यार्थी पलायन हालकै गतिमा हुने हो भने निकट भविष्यमा नेपाल वृद्धाश्रमको देश बन्ने बताए । उनले विद्यार्थी पलायनलाई रोक्न व्यवसाय इन्क्युबेसन केन्द्रले सहयोग गर्ने विश्वास व्यक्त गरे । नेपालमा केही हुन्न भन्ने भाष्यलाई चिर्न सरकारले शिक्षालाई व्यावहारिक बनाउन जरुरी रहेको उनको भनाइ थियो । 

क्याम्पस प्रमुख यमप्रसाद सिलवालले क्याम्पसले विद्यार्थीको समष्टिगत विकासका लागि व्यवसाय इन्क्युबेसन सेन्टरको स्थापना गरेको जानकारी दिए । विद्यार्थीको ज्ञान, सीप क्षमता र सिकाइलाई व्यावसायिक रूपमा अघि बढाउन सेन्टरले भूमिका खेल्ने उनले दाबी गरे । 

विद्यार्थीमा नवप्रवर्तनप्रतिको लगाव बढाउने, व्यावसायिक सोच तथा मनस्थितिको विकास गर्न प्रेरित गर्ने, पेसा र व्यावसायिक अभिरुच अभिवृद्धि गरेर उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु सेन्टरको प्रमुख उद्देश्य रहेको उनले बताए ।