बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक कारुणिक दृश्य देखियो । जुन दृश्य मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका– ४ माझचौर भन्ने स्थानकाे थियो । एउटा स्ट्रेचरमा चार–पाँचजना अधबैँसे महिलाले बिरामी बोकेर माझचौरस्थित एक निजी औषधि पसलतर्फ लग्दै थिए । उनीहरू गाउँपालिकाकै वडा नम्बर ३ माथिखर्क गाउँका स्थानीय महिला थिए ।
खत्याड गाउँपालिका– ३ माथिखर्क गाउँकी ७० वर्षकी पन्चा टमटा दमले थला परेर गाउँमा उपचार सम्भव नभएपछि उनलाई गाउँकै चार–पाँचजना महिला मिलेर उपचारको लागि बोकेर औषधि पसल लगेर उपचार गराएका थिए । खत्याड– ४ माझचौरमा देखिएको यो दृश्य बिरामी बोकेकी नजिकैको खर्कगाउँकी महिलाको हो ।
करिब डेढ घण्टाको पैदल दूरीमा रहेको याे गाउँदेखि चार–पाँचजना महिलाले स्ट्रेचरमा बिरामी बोकी उपचार गराउन मेडिकल पुग्नु सम्भवतः जिल्लाका लागि पहिलो घटना हो । उक्त दृश्य माझचौरमै स्टेसनरी पसल गर्दैआएका खत्याड– ११ रातापानीका कमल कार्कीको आँखामा ठोक्कियो र उनले तस्बिर खिचे अनि फेस्बुकमा पोस्ट गर्दै यस्तो लेख्छन्– देशको अवस्था यतिसम्म भइसकेछ । जब कि गाउँमा कोही बुढापाका बिरामी हुँदा पनि बोकेर स्वास्थ्यचौकीसम्म लान युवाहरू छैनन् । हुन त कसरी गाउँमा युवहरू बसून् रोजगारी छैन, श्रम गरेर खान पुग्दैन । काम गरे पनि एक–दुई वर्षसम्म ज्याला मिल्दैन, अनि कसरी गाउँमा बस्ने कसरी परिवार पाल्ने ?
देशका ७५३ स्थानीय तहका वडादेखि केन्द्रसम्म भ्रष्टाचारी नेतालाई पालनपोषण गर्न सबै पार्टी लागिपर्ने, अनि कसरी देश अगाडि बढ्ला, अबको एक वर्षपछि गाउँमा युवा देखियो भने कि त्यो नेताको गुलाम होस् कि त अशक्त छ भनेर बुझ्दा हुन्छ । अनि बुढापाका घरभित्रै मरेर कुहिने अवस्था हुन्छ ।
खत्याड गाउँपालिका माथिखर्क गाउँकी ७० वर्षकी पन्चा टमटा दमले थला परेर गाउँमा उपचार नभएपछि उनलाई गाउँकै पाँचजना महिलाले बोकेर औषधि पसल पुर्याएर उपचार गराएका छन् । यस विषयमा उनका छोरा चन्द्रबहादुर विकलाई फोन गरी बुझ्दा उनी भन्छन्– म माझचौरमा पसल गरेर बस्छु, घरमा आमा दमले थला परेको थाहा पाएपछि आमाको उपचारका लागि घर गएँ । गाउँमा युवाहरू कोही छैनन्, सबै रोजगारीका लागि भारततिर गएका छन्– उनले दुःखेसो सुनाए । बिरामी आमालाई एक्लै बोक्न सम्भव नभएपछि गाउँकै महिला दिदीबहिनीहरूले बोकेर मेडिकल पुर्याए ।
यति मात्रै होइन, आमाको उपचारपछि पुनः डेढ घण्टा महिलाहरूले नै बोकेर घरमै पुर्याएको छोरा चन्द्रबहादुरले बताए । यो कुनै रहर नभएर बाध्यता हो– उनले थपे । ६० घरधुरी रहेको माथिखर्क गाउँमा दलित बस्ती यतिवेला युवाविहीन छ ।
खर्कगाउँमा मात्रै होइन, दसैँ, तिहार र कात्तिकको काम सकेर युवाहरू मजदुरीका लागि भारततिर पसे । मुगुका दर्जनौँ गाउँ युवाविहीनजस्तै बनेका छन् । आज गाउँमा यस्तै दर्दनाक अवस्था छ, राज्य कानमा तेल हालेर बसेको जस्तै महसुस स्थानीयले गरेका छन् ।