बहुमत सेयर निजी क्षेत्रलाई बेच्ने गरी सरकारी स्वामित्वका दुई ठुला जलविद्युत् परियोजनामा सेयर लगानी आह्वान गरिएको छ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आइतबार एक सूचना जारी गर्दै १,९०२ मेगावाटको मुगु कर्णाली जलाशययुक्त र ४५४ मेगावाटको किमाथांका अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा न्यूनतम ५१ प्रतिशत स्वपुँजी लगानी गर्न प्रस्ताव आह्वान गरेको हो ।
सरकारी स्वामित्वमै रहेका दुई परियोजनाको लागत अनुमान पाँच खर्ब ५३ अर्ब ८० करोड गरिएको छ । किमाथांका अरुण ९३ अर्ब ८० करोड रुपैयाँ र मुगु कर्णालीको चार खर्ब ६० अर्ब लागत अनुमान गरिएको छ । कम्पनीले सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेलमा यी दुई परियोजनामा स्वदेशी लगानी प्रस्ताव आह्वान गरेको हो । कम्पनीका अनुसार ८ पुसको दिउँसो १२ बजेसम्म इच्छुक लगानीकर्ताले प्रस्ताव पेस गरिसक्नुपर्नेछ । सोही दिन दिउँसो दुई बजे प्रस्ताव खोलिने कम्पनीले जनाएको छ । यसमा इच्छुक कम्पनीले न्यूनतम ५१ प्रतिशत सेयर किन्ने प्रस्ताव पेस गर्नुपर्नेछ ।
सरकारले लामो समयदेखि परियोजना अलपत्र पारेको अवस्थामा निजी क्षेत्रमा आउँदा सकारात्मक हुने पूर्वसचिव सुशीलचन्द्र तिवारीले बताए । हालसम्म सरकारको स्वामित्वमा रहेका यी दुई परियोजनाको बहुमत सेयर निजी क्षेत्रमा जाने देखिएको छ । यद्यपि, सरकारी संस्थानहरूले पनि प्रस्ताव पेस गर्न भने सक्नेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाहीले स्वदेशी लगानी प्रोत्साहन गर्ने उद्देश्यसहित स्वदेशी लगानीकै लागि प्रस्ताव आह्वान गरिएको बताए । यो मोडेलमा परियोजना बन्ने भएमा पहिला छनोट हुने कम्पनी र विद्युत् उत्पादन कम्पनीको संयुक्त कम्पनी स्थापना गरिनेछ । जोइन्ट भेन्चर कम्पनीमा छनोट हुने कम्पनीको न्यूनतम ५१ प्रतिशत र बाँकी विद्युत् उत्पादन कम्पनीको सेयर लगानी हुनेछ । स्थानीय र सर्वसाधारणलाई पनि उचित हिस्सामा सेयर दिन सकिने कम्पनीको भनाइ छ । स्थानीय र सर्वसाधारणलाई दिइने सेयर जलविद्युत् उत्पादन कम्पनीको भागबाट दिइनेछ । परियोजनालाई चाहिने ऋण पनि जोइन्ट भेन्चर कम्पनीले नै खोज्नुपर्नेछ ।
यद्यपि, प्रस्ताव पेस गर्न १५ दिन मात्रै समय दिइएको छ । कुनै परियोजनामा लगानी प्रस्ताव पेस गर्न १५ दिन समय पर्याप्त मानिँदैन । तोकिएको मापदण्ड पूरा गर्न र आवश्यक कागजपत्र तयार गर्नसमेत समय लाग्छ । त्यसमाथि कतिपय लगानीकर्ताले परियोजनाको स्थगलगत अनुगमन पनि गर्न चाहन्छन् । यी सबै कार्य गर्न १५ दिनको मात्रै समय दिएर प्रस्ताव आह्वान गर्नु शंकास्पद देखिएको एक लगानीकर्ताले बताए । नजिकका कुनै कम्पनी तथा व्यक्तिलाई परियोजना सुम्पिने योजनासहित यो प्रस्ताव आह्वान गरिएको हुन सक्ने उनको भनाइ छ । ‘यसअघि नै कुनै कम्पनीलाई तयारी अवस्थामा राखिएको हुन सक्छ । उसलाई नै मिल्ने गरी मापदण्ड तोकिएको हुन सक्छ । प्रस्ताव आह्वान गर्दा अन्य कम्पनीलाई तोकिएको मापदण्ड तथा कागजपत्र पूरा गर्न समय लाग्न सक्छ । त्यो अवस्थामा नजिकको कम्पनीको मात्रै प्रस्ताव आउने सम्भावना धेरै भयो । अन्य कम्पनीबाट प्रस्ताव आउने सम्भावना न्यून हुन्छ,’ उक्त व्यवसायीले भने, ‘यसो हुँदा यी परियोजना पनि नियोजित रूपमा सरकार निटकका कम्पनीले पाउने सम्भावना जोखिम छ ।’
त्यसमाथि परियोजना निर्माणको पूर्वतयारीका काम पनि बाँकी छन् । दुवै परियोजनाका वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सरकारबाट स्वीकृत हुन बाँकी छ । विस्तृत परियोजना प्रवितेदनले पनि अन्तिम रूप पाइसकेको छैन ।
कम्पनीका सिइओ शाहीले परियोजनालाई निर्माणमा लैजाने उद्देश्यसहित प्रस्ताव आह्वान गरेको बताए । ‘निर्माण पूर्वतयारीको काम बाँकी नै छ । तर, अधिकांश काम अन्तिम चरणमा पुगिसकेका छन् । यो वेलामा लगानी जुटाउँदा राम्रै हुन्छ । लगानी जुटाउने र पूर्वतयारीको काम सँगसँगै गर्दा छिट्टै निर्माणमा प्रवेश गर्न सकिन्छ,’ उनले भने, ‘समग्रमा परियोजनालाई छिटोभन्दा छिटो अघि बढाउने उद्देश्यसहित प्रस्ताव आह्वान गरेको हो । लगानी खोज्ने र पूर्वतयारीको काम सँगसँगै अघि बढ्छ ।’
विद्युत् उत्पादन कम्पनीले सन् २०१८ मा १,९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति पाएको थियो । गत वैशाख ०७९ मा मात्रै यस आयोजनाको पूर्वसम्भाव्यता सम्पन्न भएको थियो । कम्पनीले आयोजनाको निर्माण अनुमति माग्दै असार ०८० मा विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागबाट परियोजना निर्माणको अनुमति आउन बाँकी नै छ । यो परियोजनो हुम्ला बाजुरा र मुगु जिल्लामा पर्नेछ ।
कम्पनीले संखुवासभामा बन्ने किमाथांका अरुण जलविद्युत् परियोजनाको निर्माणका लागि असार ०७९ मा विभागमा आवेदन दिएको छ । तर, त्यसको निर्माण अनुमतिपत्र अझै आइपुगेको छैन ।