घरेलु तथा वैदेशिक चुनौती सामना गर्नुपरेपछि इरानले अमेरिका र इजरायलप्रति कठोर भाषा त्यागेर नरम नीति अपनाउने संकेत गरेको छ
मध्य नोभेम्बरमा इरानले हेजबुल्लाहलाई इजरायलसँगको युद्धविराम स्विकार्न मनाउने जिम्मेवारी दिएर एक शीर्ष अधिकारी लेबनान पठायो । सोही समय संयुक्त राष्ट्र संघका लागि इरानका राजदूतले इलोन मस्कसँग भेट गरे । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट मानिने अर्बपति मस्कसँगको भेटवार्ता आगामी अमेरिकी सरकारसँग सम्बन्ध सहजीकरण गर्ने प्रयासको हिस्सा थियो । त्यसपछि इरानले आणविक कार्यक्रमलगायत धेरै विषयमा युरोपेली देशका प्रतिनिधिहरूसँग जेनेभामा छलफल गर्यो ।
यी पछिल्ला कूटनीतिक शृंखलाले डेढ महिनाअघि अर्थात् अक्टोबरको उसको कठोर नीतिमा १८० डिग्रीको परिवर्तनको संकेत गर्छ । त्यति वेला इरान उसको भूमिमा भएको इजरायली आक्रमणको ठुलो जवाफ दिने तयारी गरिरहेको थियो । इरानको एलिट सैन्य दस्ता ‘इस्लामिक रिभोलुस्नरी गार्ड कोर्प’का एक डेपुटी कमान्डरले त आक्रमण कुनै हालतमा नरोकिने दाबी गर्दै थिए । ‘विगत ४० वर्षमा कहिल्यै पनि प्रत्याक्रमण नगरिएको उदाहरण छैन,’ ती डेपुटी कमान्डरले भनेका थिए । केही साताभित्रै इरानको बोली नरम बन्नुपछाडि देशभित्र र बाहिरको आएको परिवर्तनको भूमिका छ ।
एकजना रिभोलुस्नरी गार्डका सदस्यसहित पाँच इरानी अधिकारी तथा दुई पूर्वअधिकारीका अनुसार इरानको नरमतामा नोभेम्बर ५ को ट्रम्पको जितको सबैभन्दा ठुलो प्रभाव छ । इरानका लागि ट्रम्प एक अस्थिर नेता हुन्, जसले आफ्नो पहिलो कार्याकालमा इरानमाथि ‘अधिकतम दबाब’को नीति अंगीकार गरे । त्यसबाहेक इरानको भाषाशैलीमा आएको परिवर्तनलाई इजरायलले लेबनानमा हेजबुल्लाह समूहमाथि पुर्याएको क्षतिले पनि प्रभावित बनाएको छ । मध्यपूर्वमा सक्रिय विभिन्न इरान समर्थित सशस्त्र समूहमध्ये हिजबुल्लाह उसका लागि सबैभन्दा नजिकको र महत्वपूर्ण समूह हो । पछिल्लो एक वर्षको अवधिमा समुहमाथि इजरायलले ठुलो क्षति पुर्यायो । त्यसबाहेक इरान आफैँ आर्थिक संकटले थलिएको छ । डलरको तुलनामा इरानी मुद्रा निरन्तर खस्किरहेको छ । र, जाडो नजिकिँदै गर्दा ऊर्जाअभाव चर्को बन्दै गएको छ ।
यी सबै चुनौतीले इरानलाई उसको शैली बदल्न बाध्य बनाएको वर्तमान इरानी सत्तासँग नजिक अधिकारी बताउँछन् । उनका अनुसार इरानले इजरायलमाथिको जवाफी आक्रमण ट्रम्पको जितपछि खारेज गरेको थियो । आगामी अमेरिकी प्रशासनसँग तनाव नबढोस् भनेर इजरायलमाथिको आक्रमण योजना परित्याग गरिएको उनले बताए । हुन पनि ट्रम्पको आगामी प्रशासनमा एकपछि अर्को इरान आलोचक र इजरायलका कठोर समर्थक चुनिएका छन् । तथापि मध्यपूर्व तथा युक्रेनमा युद्ध अन्त्य गर्ने ट्रम्पको चुनावी वाचाले इरानलाई आकर्षित गरेको अधिकारीहरू बताउँछन् । अमेरिकी निर्वाचनअघि इरानले केही अमेरिकी गुप्तचर अधिकारीले दाबी गरेविपरीत उनीहरूले ट्रम्पको हत्या योजना नबनाएको बाइडेन प्रशासनलाई सन्देश पठाएर थिए । त्यस्तै इरानले औपचारिक रूपमा हिजबुल्लाह र इजरायलबिचको युद्धविरामको पनि स्वागत गरेको छ ।
ब्रिटिस नीतिगत अनुसन्धान समूह चथम हाउसका लागि मध्यपूर्व निर्देशक सनम वकिलको विचारमा इरान वासिंटनमा आएको परिवर्तनमा अनुकूलन गर्ने तयारी गरिरहेको छ । साथै ऊ बदलिँदो घरेलु तथा क्षेत्रीय भूराजनीतिक परिदृश्यलाई नजिकबाट ख्याल गरिरहेको छ । ‘सबै कुरा एकैपटक घट्दा इरानको बोलीमा परिवर्तन आएको छ । यी परिवर्तन इरानले आफ्नो स्वार्थ संरक्षण गर्न चालेको रणनीति हो,’ वकिलले भने ।
इरानको प्रशासन गुटगत प्रतिद्वन्द्विताले भरिएकाले यसले कहिलेकाहीँ बाह्य जगतलाई मिश्रित सन्देश प्रभावित गर्छ । तथापि, गुटगत बेमेलका बाबजुद सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीको निर्णय अन्तिम बन्ने गर्छ । कट्टरपन्थी राष्ट्रपति इब्राहिम रैसीको निधनपछि गत जुलाईमा सम्पन्न निर्वाचनमा नरमपन्थी मसुद पेजेस्कियन निर्वाचित भए । उनले चुनावको समयमा आर्थिक तथा सामाजिक सुधार गर्ने र पश्चिमी शक्तिसँग संवाद थाल्ने वाचा गरेका थिए । राष्ट्रपतिको रूपमा पेजेस्कियनसँग घरेलु मुद्दामाथि धेरै शक्ति भए पनि बाह्य मामिलामा भने उनको उत्ति प्रभाव लाग्दैन ।
अमेरिकामा निर्वाचन सम्पन्न भएको केही दिनपछि नै संयुक्त राष्ट्र संघका लागि इरानी राजदूत आमिर सइद इराभानीले ट्रम्पनिकट उद्यमी इलोन मस्कसँग भेटघाट गरे । न्युयोर्कस्थित राजदूतको आवासमा भएको भेटघाटमा आगामी अमेरिकी सरकार र इरानबिचको तनाव कम गर्ने विषयमा छलफल भएको थियो । भेटघाटबारे जानकार दुई इरानी अधिकारीले छलफल आशाप्रद भएको जानकारी दिए । खबर बाहिरिएपछि इरानमा सुधारवादी तथा मध्यपन्थी खुसी भए । तर, कट्टरपन्थीहरू भने आक्रोशित भए । उनीहरूले राजदूतलाई देशद्रोहीसम्मको आरोप लगाए । यही घटनाले पनि इरानभित्र ट्रम्पको सम्बन्धलाई लिएर परस्परविरोधी धार रहेको प्रष्ट हुन्छ । ट्रम्पले उनको पहिलो शासनकालमा अमेरिकालाई इरानसँगको आणविक सम्झौताबाट बाहिर निकालेको र सन् २०२० मा शीर्ष इरानी जनरल कासिम सुलेमानीको हत्याको निर्देशन दिएकाले कट्टरपन्थी उनलाई मन पराउँदैनन् ।
मस्कसँगको भेटवार्ताको आलोचना बढेपछि इरानका विदेशमन्त्रीले तीन दिनपछि एक विज्ञप्ति जारी गर्दै चर्चामा आएजस्तो कुनै भेटघाट नभएको भनेर खण्डन गरे । कैयाैँ शीर्ष इरानी अधिकारीले सार्वजनिक रूपमा आफूहरू आणविक तथा क्षेत्रीय मुद्दा समाधानका लागि आगामी ट्रम्प प्रशासनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । यो आफैँमा ट्रम्पको पहिलो कार्यकालका वेला इरानको अडानमा आएको परिवर्तन हो । त्यतिखेर इरानले वासिंटनसँग वार्ता नगर्ने र उसको क्षेत्रीय नीति तथा हतियार विकास इरानको आन्तरिक मामिला भएको अड्डी कस्यो ।
‘इरान ट्रम्पले गाजा युद्धको अन्त्य गर्ने र नेतन्याहुलाई काबुमा राख्ने अवसर दिन चाहन्छ । यदि ट्रम्प आफ्ना चुनावी वाचामा सफल भए भने त्यसले वासिंटन र तेहरानबिच थप बृहत्तर छलफलको बाटो खुलाउनेछ,’ इरानका पूर्वकूटनीतिज्ञ तथा हाल प्रिन्सटन विश्वविद्यालका अनुसन्धानकर्ता सैयद हुसेन मौसाभियनले भने । इजरायलमा अक्टोबर ७, २०२३ मा हमासले आक्रमण गरेपछि सुरु भएको इजरायली सैन्य कारबाहीका १३ महिनामा इरान र लेबनान, सिरिया, यमन तथा इराकमा सक्रिय इरानी सशस्त्र समूहले इजरायलमाथि आक्रमण गरेका छन् । इजरायलले गाजामा आक्रमण गरिरहेसम्म इजरायलमाथिको आक्रमण नरोकिने उनले जोड दिँदै आएका छन् । तर, इजरायलसँगको मुडभेडमा हिजबुल्लाहले भोगेको विनाशकारी क्षतिले इरानलाई चिन्तित बनाएको छ । इरानी मिडियाले इजरायली आक्रमणबाट विस्थापित १० लाखभन्दा बढी सिया लेबनानीमाझ इरानप्रति असन्तुष्टि रहेको रिपोर्ट प्रसारण गरिरहेका छन् ।
एक असामान्य रूपमा कठोर मूल्यांकनमा बाकिर अल–ओलुम विश्वविद्यालयका अनुसन्धान केन्द्रका रुढिवादी निर्देशक मेहदी अफराजले इरानले इजरायलको सैन्य शक्तिलाई कम आँकेको बताउँछन् । उनले इजरायलसँगको युद्ध ‘भिडियो गेम’ नहुनेसम्म चेतावनी दिए । ‘सिरियाका हाम्रा साथीले फोन गरेर त्यहाँ विस्थापित भएका लेबनानी सिया शरणार्थीले इरानप्रति आक्रोश पोखिरहेको जानकारी दिइरहेका छन्,’ विश्वविद्यालयको एक छलफलमा उनले भने, ‘हामीले युद्धलाई हल्का लियौँ ।’
इरानी शासनको अस्तित्व जोखिम पर्दा केही हदसम्म व्यावहारिक नीति अपनाउने गरेका खामेनीले नोभेम्बरको मध्यमा उनका शीर्ष सल्लाहकार अली लारिजानीलाई बेरुत पठाएका थिए । पुराना मध्यपन्थी राजनीतिज्ञ लारिजानीले हिजबुल्लाह नेतालाई आयातोल्लाहबाट सन्देश सुनाएको दुई इरानी अधिकारीले द न्युयोर्क टाइम्सलाई बताए । ती अधिकारीका अनुसार लारिजानीले हिजबुल्लाह नेताहरूलाई अहिले युद्धविराम स्विकारेर युद्ध अन्त्य गर्नु बुद्धिमत्तापूर्ण हुने बताए । उनले इरानले पछि हिजबुल्लाहलाई पुनः गठन तथा र पुनः साधनस्रोत सुसस्जित बनाउन मद्दत गर्ने वाचा पनि गरे ।
लारिजानीको बेरुत भ्रमणको ४८ घण्टाभित्रै इजरायल–हिजबुल्लाहबिच युद्धविराम घोषणा भयो । युद्धविराम सर्तअनुसार हिजबुल्लाहले आफ्नो सेनालाई इजरायली सीमाबाट टाढा राख्न सहमत जनायो । यही सर्तमा पहिले उसले असहमति जनाउँदै आएको थियो । त्यही समयतिर इरानको बढ्दो घरेलु आर्थिक तथा ऊर्जासंकट सतहमा आउन थाल्यो । चरम ऊर्जासंकटबिच सरकारले देशव्यापी रूपमा दैनिक दुई घण्टा लोडसेडिङ घोषणा गर्यो । यस निर्णयले सार्वजनिक आक्रोश तथा औसत इरानीका लागि क्षेत्रीय द्वन्द्व धेरै महँगो परेको आलोचना सिर्जना गर्यो ।
विश्वशक्तिसँग वार्ता सुरु गरेर देशमाथि लागेको प्रतिबन्ध हटाउने र अर्थतन्त्र सुधार्ने चुनावी वाचा गरेका राष्ट्रपति पेजेस्कियनले केही समयअघि ऊर्जा क्षेत्रका अधिकारीसँगको भेटवार्तामा ‘ऊर्जाको बारेमा जनतालाई इमानदारीपूर्वक बताउन आवश्यक भएको’ बताए । इरानको ऊर्जा पूर्वाधार अहिलेको आवश्यकता पूरा गर्न असमर्थ रहेको उनले स्विकारे । ‘इरानका वरिष्ठ अधिकारी र साधारण मानिस दुवैमा पश्चिमसँगको तनाव अन्त्य गर्ने र मिल्ने इच्छा छ,’ इरानी सरकारनिकट विश्लेषक नासेर इमानीले भने, ‘बाहिर चर्चा भएजस्तो पश्चिमसँगको सहयोगलाई हारको रूपमा हेरिएको छैन । यसलाई लेनदेन कूटनीतिको रूपमा हेरिन्छ ।’
(फर्नाज फासिही द टाइम्सका लागि संयुक्त राष्ट्र संघका ब्युरो प्रमुख हुन् ।) – द न्युयोर्क टाइम्सबाट