मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Thursday, 26 December, 2024
२o८१ मङ्सिर २३ आइतबार o७:५७:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आत्मविश्वास गुमाएका फ्रेन्च स्ट्राइकर एम्बाप्पे

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार o७:५७:oo

स्पेनिस क्लब रियल म्याड्रिडमा सोचेजस्तो वातावरण पाउन नसक्दा फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेको लगातार दुई खेलमा पेनाल्टी मिस

पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेले दुईवटा सपना देखेका थिए । विश्वकै महँगो क्लबसँग नाता जोड्ने उनको पहिलो सपना थियो, जुन उनको यो सपना पूरा भइसकेको छ । युरोपियन च्याम्पियन्स लिग जित्ने उनको अर्को सपना हो । च्याम्पियन्स लिगमा रियल अहिलेसम्मकै सर्वाधिक सफल क्लब हो । यो एक दशकको तथ्यांक हेर्दा रियलले च्याम्पियन्स लिगमा दबदबा राखेको छ । यस्तो सफल क्लबमा आबद्ध हुँदै करिअरमा एकपटक च्याम्पियन्स लिग विजेता खेलाडी बन्ने धोको उनले राखेका हुन् । 

यद्यपि, पिएसजी पनि च्याम्पियन्स लिगको उपाधिनजिक नपुगेको होइन । चार वर्षअघि पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पराजित हुँदा एम्बाप्पे निकै निराश बनेका थिए । विश्वस्तरीय स्ट्राइकरहरू छाड्दै जाँदा रियलले त्यही लेभलको खेलाडी खोजी गरेको थियो । रियलले पिएसजीबाट एम्बाप्पेलाई भित्र्याउने कोसिस गर्‍यो । रियल र एम्बाप्पे दुवैले भनेको जस्तो नतिजा दिन सकेका छैनन् । स्पेनिस ला लिगा र च्याम्पियन्स लिगमा रियलको प्रदर्शन सन्तोषजनक छैन । 

अहिले च्याम्पियन्स लिगमा साबिक विजेता रियल पुछारमा छ । यस्तो अवस्थामा रियल नकआउट चरणमा पुग्ने सम्भावना कमै छ । यसै कारण एम्बाप्पेको सपना च्याम्पियन्स लिग जित्ने योजना डगमगाउँदै गएको पनि छ । स्पेनिस मिडियाहरूले एम्बाप्पेले आत्मविश्वास गुमाएको दाबी गरेका छन् । उनले लगातार दुई महत्वपूर्ण खेलमा पेनाल्टी मिस गरेका छन् । बुधबार एथलेटिको विलवाओसँग २–१ ले रियल पराजित हुँदा एम्बाप्पेले पेनाल्टी चुकाएका थिए । फेरि रियलले चर्को मूल्य तिरेका एम्बाप्पेलाई भित्र्याउनु फिनिसिङ लाइन बलियो बनाउनु हो । 

रियलबाट २० खेलमा ६ गोल
फ्रेन्च खेलाडी भने पिएसजीकै नम्बर एक फिनिसर थिए । तर, रियलमा उनको जादुमयी खेल प्रस्तुत हुन सकेको छैन । यसै कारणले होला, ड्रेसिङ रुममा फ्रेन्च खेलाडी अक्सर खेलपछि निराश हुने गरेका छन् । सबै खाले प्रतियोगितामा उनले २० खेलमा ६ गोल मात्र गरेका छन् । च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध २–० ले रियल पराजित हुँदा उनले पेनाल्टी मिस गरेका थिए । ‘हाम्रा स्टार खेलाडीको मनोबल गुमेको जस्तो छ,’ एल मार्काले लेखेको छ, ‘लगातार खेलमा उनको प्रदर्शन माथिल्लो स्तरमा पाउन सकिएन ।’

फुटबल पण्डितहरूले सान्टिएगो बर्नावउमा एम्बाप्पेले वातावरण मिलाउन नसकेको दाबी गरेका छन् । पिएसजी र रियलका खेल शैली फरक छन् । लामो समय फ्रेन्च लिग शैली अपनाएका एम्बाप्पेले स्पेनिस शैलीमा आफूलाई परिणत गर्न समय लाग्ने एल मार्काले जनाएको छ । ‘रियलमा आउँदा सबैले फ्रेन्च खेलाडीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा राखेका थिए, तर उनले सबैको विश्वासअनुसार खेल्न सकेनन्,’ फुटबल पण्डितहरूले भनेका छन्, ‘अर्को सिजनमा हामीले केही आशा गर्न सक्छौँ ।’ 

समर्थकको आलोचना
रियलका समर्थकहरूले पनि एम्बाप्पेको प्रदर्शनमाथि टिप्पणी गरेका छन् । उनीहरूले दुई पेनाल्टीमाथि बहस गरिरहेका छन् । ‘विश्व च्याम्पियन खेलाडीले सहज पेनाल्टी मिस गरे,’ समर्थकहरूले एल मार्कालाई बताए, ‘लगानीअनुसार त्यसको प्रतिफल खेलाडीले दिएनन् ।’ स्पेनिस ला लिगाको शीर्ष स्थानमा बार्सिलोनाभन्दा रियल चार अंकले पछाडि छ । सोयल मिडियामा समेत एम्बाप्पेको विरोध भइरहेको छ । उनको सोसल मिडियामा १२२ मिलियन फलोअर्स छन् । 

‘खराब रिजल्ट आइरहेको छ । खेलमा एकपछि अर्को ठुलो गल्ती भइरहेका छन्, ती दुई पेनाल्टी गोल हुँदा रियल खेलमा फर्कन सक्थ्यो,’ सोसल मिडियामा एम्बाप्पेलाई लेखेका कमेन्ट्स हुन् । उनले खराब प्रदर्शनको जिम्मेवारी आफू स्वयं भएको बताएका छन् । ‘मसँग क्षमता छ, तर अहिले सोचेजस्तो भइरहेको छैन,’ उनले भने, ‘पक्कै समर्थक र म्यानेजमेन्ट दुःखी छन् ।’ रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले एम्बाप्पेको प्रदर्शनप्रति धैर्य गर्नुपर्ने बताए । ‘उनी अहिले कठिन समयबाट गुज्रिरहेका छन् । एम्बाप्पे असाधारण खेलाडी हुन्,’ एन्सेलोटीले भने, ‘यो अवस्थाबाट चाँडै पुनरागमन गर्नेछन् ।’