आकर्षक ब्याजको आशामा ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारीमा बचत गरेका ६ सय बचतकर्ताको झन्डै २७ करोड रुपैयाँ जोखिममा परेको छ । सहकारीविरुद्ध अहिले प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान गरिरहेको छ ।
सहकारीको २२औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीको आव ०७८/७९ को वित्तीय कारोबार २६ करोड ८२ लाख २४ हजार ६७७ रुपैयाँ रहेको देखिन्छ । पीडितका अनुसार सहकारीमा ६०० आसपास बचतकर्ता छन् । ठमेलमा रहेको सहकारीको कार्यालय गत चैतदेखि बन्द रहेको छ ।
प्रहरीका अनुसार रकम हिनामिनामा चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनसमेत संलग्न रहेका छन् । उनी सहकारीका कोषाध्यक्ष हुन् । त्यस्तै, रकम हिनामिनामा सुरेश श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, दीपेश सिल्पकार, सरोज तुलाधर, दिलबहादुर श्रेष्ठलगायत रहेका छन् ।
सुरेश सहकारीका अध्यक्ष हुन् भने कृष्णबहादुर उपाध्यक्ष, दीपेश सचिव हुन । सरोज र दिलबहादुर भने कार्यसमिति सदस्य हुन् । कृष्णबहादुर पक्राउ परेका छन् । प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सत्यनारायण थापाले हरियाली सहकारी ठगीको सम्बन्धमा जाहेरी परेपछि अनुसन्धान भइरहेको बताए । ‘हरियाली बचत तथा ऋण सहकारीले ठगी गरेको भन्दै जाहेरी परेको छ । त्यसमाथि अनुसन्धान भइरहेको छ । सहकारीका उपाध्यक्ष कृष्णबहादुर श्रेष्ठ पक्राउ परेका छन्, केही फरार छन्, खोजी जारी छ,’ उनले भने ।
पटक–पटकको आग्रहपछि पनि बचत रकम फिर्ता नभएपछि पीडित उजुरी लिएर बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पुगेका थिए । सहकारीमा कैफियत देखिएपछि कार्यालयले घटनाको अनुसन्धान गर्न प्रहरीलाई सिफारिस गरेको थियो । सोही सिफारिसपछि प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान थालेको हो ।
सहकारीमा दैनिक गुजाराका लागि ज्याला मजदुरी गर्नेदेखि वैदेशिक रोजगारीमा श्रीमान् गुमाएपछि प्राप्त बिमाबापतको रकमसम्म राखिएको थियो । तर, सहकारीमा राखेको सबै रकम जोखिममा परेपछि बचतकर्ता तनावमा छन् ।
काठमाडौं बस्ने पाल्पा रैनादेवी ४९ वर्षीय इन्दिरा रायमाझीले सहकारीले बचत रकम डुबाउँदा घर न घाटको भएको बताइन् । ‘दैनिक गुजाराका लागि म सानो टेलर चलाउने गर्छु । त्यहीँबाट आर्जन गरेको रकम सहकारीमा राखेकी थिएँ । तर, पटक–पटक फिर्ता माग्दा पनि पाउन सकिएन । मेरो सहकारीमा पाँच लाख २८ हजार ६ सय ७५ रुपैयाँ बचत छ । अहिलेसम्म एक रुपैयाँ पनि फिर्ता पाएको छैन,’ उनले भनिन् ।
धनकुटा पाख्रिबासकी ३९ वर्षीय रविना शर्मा(नाम परिवर्तन) वैदेशिक रोजगारीमा मृत्यु भएका श्रीमान्को बिमाबापत प्राप्त सबै रकम सहकारीमा राखिन् । सुरुको केही वर्ष त राम्रो ब्याज प्राप्त भयो । तर, पछि सहकारीले सबै रकम डुबाइदियो । रकम डुबेको खबर उनले घरका सासु÷ससुरा र छोरीलाई समेत भन्न सकेकी छैनन् ।
उनले आफ्नो पीडासमेत सार्वजनिक गर्न सकेकी छैनन् । उनका अनुसार सहकारीमा ३० लाख ९८ हजार आठ सय १४ रुपैयाँ बचत थियो । ‘श्रीमान् वैदेशिक रोजगारीका क्रममा कतारमा थिए । उनको त्यहीँ मृत्यु भयो । बिमाबापत रकम प्राप्त भएको थियो । सबै लगेर सहकारीमा राखेँ । तर, सहकारीले सबै रकम डुबाइदियो,’ उनले भनिन्, ‘रकम डुबेपछि सबै योजना चौपट भएका छन् । दैनिक गुजाराका लागि गार्मेन्टमा काम गर्दै आएकी छु । सासु÷ससुराले थाहा पाए मलाई घरबाट निकाल्छन् ।’
सहकारीले नैकापकी आकांक्षा पोखरेलको पनि १३ लाख ६५ हजार ३०० रुपैयाँ डुबाइदिएको छ । पटक–पटकको प्रयासपछि पनि उनले रकम फिर्ता लिन सकेकी छैनन् । चन्द्रागिरि नपा–११ का वासुदेव श्रेष्ठले सबै गरी सहकारीले ६ सयभन्दा धेरै बचतकर्ताको झन्डै २६ करोड डुबाएको बताए । ‘पीडितमध्ये मेरा आफन्त पनि छन्,’ उनले भने ।
पीडितका अनुसार सहकारीका पदाधिकारीले बचतकर्ताको रकमबाट विभिन्न ठाउँमा जग्गा खरिद गरेको बताउँछन् । ‘चितवनमा मात्रै न्हुच्छेबहादुरको नाममा चार बिघा जमिन छ भन्ने आएको छ । अन्य ठाउँमा पनि यिनीहरूले निजी प्रयोजनमा सम्पत्ति जोडेको देखिन्छ,’ वासुदेवले भने ।