राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बातरबिच भेटवार्ता भएको छ। चीनको औपचारिक भ्रमणमा रहेकी उपाध्यक्ष घिमिरे र बातरबिच मंगलबार बेइजिङमा भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताउँदै नेपालको भूमिमा चीनको हितबिरुद्ध कुनै गतिबिधी हुन नदिने बताइन्।
उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने बताइन्। कृषि, जलविद्युत र पूर्वाधार विकास, रेल तथा सडक सञ्जाल, निर्यात प्रवर्द्धन, औद्योगिक उत्पादन, विदेशी लगानी र पर्यटनका क्षेत्रहरू नेपालको प्रमुख विकास प्राथमिकता रहेको बताउँदै उनले चीनियाँ लगानीकर्ताहरुलाई नेपालको यी क्षेत्रमा लगानीका लागि आग्रह गरिन्।
उनले चीनको सहयोगमा बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थल तथा लुम्बिनीमा बनेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा चीनका विभिन्न शहरबाट सोझो हवाई उडान सञ्चालन गर्न सके त्यसले नेपालको पर्यटन र आर्थिक विकासमा ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गरिन्। आगामी दिनमा संसदीय प्रतिनिधीमण्डलका द्विपक्षीय भ्रमण बढाउने, नेपालका संघीय संसदमा कार्यरत कर्मचारीको क्षमता अभिबृद्धि र भौतिक स्रोतसाधनले सुबिधा सम्पन्न बनाउन पनि चीनको सहयोगको अपेक्षा गरेको उनको भनाइ थियो।
भेटका क्रममा बातरले चीनले नेपालमा राजनीतिक स्थिरताको पक्षमा रहेको बताउँदै नेपालमा दैवीप्रकोपमा भैरहेको सहयोग, पूर्वाधार निर्माण र पर्यटन तथा कृषि क्षेत्रको आधुनिकीकरणमा सघाउन कुनै कन्जुस्याइँ नहुने प्रतिबद्धता जनाए। उनले नेपालको संघीय संसद र चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनका बिचमा संसदीय अनुभव आदनप्रदानलाई निरन्तरता दिने र छिट्टै नेपालको संसदीय प्रतिनिधीमण्डललाई आमन्त्रण गर्ने जानकारी पनि गराए।
उपाध्यक्ष बातरले गत जुन दोस्रो साता नेपाल भ्रमण गरेका थिए। उनले चीनियाँ पर्यटक नेपाल जान चाहने उल्लेख गर्दै पोखरा र भैरहवा विमानस्जथलमा सिधा उडानका लागि परामर्श भैरहेको अवगत गराए। केरुङ–काठमाडौं रेलमार्गको डिपीआर भैसकेकाले निर्माणका लागि नेपाल सरकारले नै वातावरण बनाउन आवश्यक रहेको उनले बताए।