संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृंखलबद्ध रूपमा आफूविरुद्ध कुप्रचार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन्।
अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृंखलाबद्ध रूपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरूमा कुप्रचार गर्दै आएको पाण्डेले उजुरीमा उल्लेख गरेका छन्।
उजुरीमा भएिको छ, ‘नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यसखाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ।’
बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। सोलगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाईंले पाण्डेविरुद्धका सबै पोस्टहरू केही घण्टापछि नै सामाजिक सञ्जालबाट हटाएका थिए।
लिखित उजुरीमा भनिएको छ, ‘मन्त्रीको शपथग्रहण भएको मितिदेखि शृंखलाबद्ध रूपमा मन्त्रालयको कामकारबाही र मेरो व्यक्तिगत चरित्र र मानमर्यादामा आँच पुग्ने गरी कुत्सित मनसायका साथ घुस/रिसवतजस्तो गम्भीर आरोप लगाई, कुप्रचार–प्रसार गर्दै मेरो व्यक्तिगत नैतिक आचरण र ख्यातिमा दोष लगाउने जस्ता कलुषित, अमर्यादित र गैरकानुनी कार्य गरी आउनुभएको छ। यस कार्यले नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगीकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पुर्याएको छ।’