निर्माण सम्पन्न भएको दुई वर्षसम्म सञ्चालनमै आउन सकेन, २२ महिनामा ६ अन्तर्राष्ट्रिय उडान मात्रै
त्रिभुवन विमानस्थल स्तरोन्नति गर्न भन्दै अहिले दैनिक १० घण्टा विमानस्थल बन्द गरिएको छ । त्यसको विकल्पमा पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न सरकारले वायुसेवा कम्पनीहरूलाई अनुरोधसमेत गरेको थियो । सरकारले दुई विमानस्थलबाट उडान गर्ने कम्पनीहरूलाई विभिन्न सहुलियतसमेत घोषणा गरेको थियो । सोहीअनुसार विदेशी वायुसेवा कम्पनीहरूले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु गरिसकेका छन् भने पोखरा सुनसान देखिएको छ । समान सहुलियत दिँदा भैरहवा जान इच्छुक कम्पनीहरू पर्यटनको राजधानी सहर पोखरामा नआएकोमा पोखरेलीहरू दुखित छन् ।
२४ कात्तिकमा पोखरामा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले विभिन्न सहुलियत दिँदा पनि पोखरामा अन्तर्राष्ट्रिय उडान नहुनुमा प्राविधिक वा अन्य कारण हो बुझ्ने बताएका थिए । मन्त्री पाण्डेले भनेजस्तै पोखरामा कम्पनीहरू उडानका लागि इच्छुक नहुनुमा प्राविधिक कारण नै रहेको पर्यटन बोर्डका पूर्वसदस्य, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, विमानस्थलसम्बन्धी प्राविधिक ज्ञानसमेत रहेका व्यवसायी विश्वशंकर पालिखेले बताए । विमानस्थल निर्माणका क्रममा रन–वेको उचाइ ६ देखि सात मिटर घटाइएका कारण विमान अवतरण गर्दा विमानलाई २० प्रतिशत लोड बढी पर्छ । २० प्रतिशतसम्म लोड भार हुँदा दुई सयसिटे जहाजमा ४० जना यात्रु घटाउनुपर्ने बाध्यता हुन्छ । जसले गर्दा विमानको खर्च नउठ्ने र भाडा बढी लिनुपर्दा यात्रु कम पाउने जोखिमले विदेशी कम्पनीहरू इच्छुक नदेखिएको उनले बताए । योसँगै विमानको लोडको ग्यारेन्टी नगरिदिएका कारण पनि विदेशी कम्पनीले उडान नभरेको उनको भनाइ छ ।
त्यस्तै, भैरहवामा उडानका लागि क्यानले कम्पनीहरूलाई दिएको दबाबजस्तै पोखरा प्राथमिकतामा नपरेका कारण पनि पोखरामा उडान हुन नसकेको उनको भनाइ छ । ठुला विमानलाई टर्निङ लिन आठ किलोमिटरको दूरी चाहिनेमा रन–वे को उचाइ घटाएका कारण ७.४९ किलोमिटर पश्चिममा रहेको पुम्दीको डाँडाले समस्या पारेकोसमेत उनले बताए । विमानस्थल निर्माणका क्रममा माटोमा अनियमितता भएकाले यसका लागि छानबिन आवश्यक रहेको उनले बताए । विमानस्थल निर्माणका लागि जस्तै अब सञ्चालनका लागि पनि लामो संघर्ष गर्नुपर्ने अवस्था आएको उनले बताए ।
१७ पुस ०७९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थलमा ११ फागुन ०८० मा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय र रात्रिकालीन उडानका लागि तयार भएको थियो । १८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको विमानस्थलमा हालसम्म पाँचपटक गरी ६ चार्टर र एक व्यावसायिक उडान मात्रै भएको छ । ६ असार ०८० मा चीनको सिचुवानले पोखरामा चार्टरमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो । तर, नियमित अन्तर्राष्ट्रिय उडान कहिलेबाट हुन्छ भन्नेमा हालसम्म कुनै अत्तोपत्तो छैन । विमानस्थल सञ्चालन भएमा पर्यटक आगमन अझ बढ्ने र आर्थिक क्षेत्र चलायमान हुने आशामा स्थानीय व्यवसायी थिए । तर, सञ्चालनमा आएको दुई वर्ष हुन लाग्दासमेत व्यावसायिक अन्तर्राष्ट्रिय उडान नहुँदा सबैमा निराशा छाएको छ । विमानस्थल सञ्चालनमा आएसँगै निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट वनारस र देहरादुन उडानका लागि अनुमति मागे पनि स्वीकृति पाएको छैन । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले क्यान बनारस र देहरादुन उडानका लागि अनुमति मागेकोमा हालसम्म नपाएको बताए । सुरुमा दुई सहरमा उडान गरेर बिस्तारै भारतका अन्य सहरमा समेत सेवा दिने कम्पनीको योजना भए पनि अनुमति नपाएको उनले गुनासो गरे । कम्पनीले अनुमति पाएलगत्तै उडान सुरु गर्ने गरी आफूहरू तयारी अवस्थामा रहेको उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले विमानस्थलको डिजाइनदेखि नै शंका मान्नुपर्ने बताए । ‘सुरुमा रन–वे तीन मिटर पुर्नुपर्ने भनिएकोमा पछि माटो झिकेर बेच्ने काम भयो, त्यो कसको मिलेमतोमा भयो ?’ उनले प्रश्न गरे, ‘पक्कै पनि त्यो क्यानको मिलेमतोमा भएको हुन सक्छ ।’ उचाइ उठाउनुपर्ने रन–वेको उचाइ घटाइएका कारण ठुला जहाज अवतरणमा समस्या रहेको उनले बताए ।
होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सरकारले कूटनीतिक रूपमा चीन र भारतसँग आवश्यक छलफल नगर्दा अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए । दुई देशलाई उडानका लागि नेपालले जसरी दबाब दिनुपथ्र्याे, सरकारले दिन नसकेको उनको भनाइ छ । विमानस्थल सञ्चालनपछि विदेशी पर्यटकको आगमन बढ्ने आसमा व्यवसायीहरूले करिब डेढ अर्ब लगानी पर्यटन क्षेत्रमा थपेको, तर अहिले निराश बनेको बताए । चीनको एक्जिम बैंकको २१ करोड ७० लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब २२ अर्ब ऋण सहयोगमा विमानस्थल निर्माण गरिएको हो ।